कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

बाटो आडमा विश्राम गर्दै गैंडा

चितवन — गैंडा दुर्लभ वन्यजन्तु हो  । तर सौराहा आसपासको दृश्य अलि फरक हुन्छ । विभिन्न समयमा उद्धार गरेर मान्छेको स्याहार पाएका गैंडाहरू वनमा भन्दा बस्ती आसपासमा बढी भेटिन्छन् । गैंडा, बाघ हेर्न भनेरै देश विदेशबाट चितवन निकुञ्ज आउने पर्यटक निकुञ्जको मुख्य प्रवेशद्वार सौराहामा गैंडा मजैले हिँडेको देख्दा छक्क पर्छन् ।

बाटो आडमा विश्राम गर्दै गैंडा

खेतबारीमा मात्रै नभए सौराहाको सडक र होटल भित्रै यस्ता गैंडा पुगेका हुन्छन् । चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सौराहा क्षेत्रमा यस्ता दुई तीनवटा गैंडा छन् जो वनमा भन्दा प्रायः गाउँ बस्तीतिर धेरै देखिन्छन् ।

उनीहरू मान्छेलाई हानी हाल्ने त गर्दैनन् तर जंगली भएका कारण कुन बेला आक्रमक हुन्छन् भन्न सकिँदैन । त्यसैले बस्तीमा देखिए पनि यस्ता गैंडाको नजिक जानु, छुनु, जिस्कनु जोखिमपूर्ण छ भन्छन् तिवारी । बिहीबार बिहान सौराहाभन्दा अलि पर झण्डै तीन किलोमिटर उत्तरमा व्यस्त बाटो आडमा यस्तै एउटा गैंडा विश्राम गरेको भेटियो ।


रत्ननगर नगरपालिका-४ देबौली हुँदै महेन्द्र राजमार्ग र सौराहा जोड्ने बाटो छ । सोही बाटो आडमा गैंडा देख्दा हेर्नेहरूको भिड लाग्यो ।

बाटो हिँड्दै गरेकाहरू गाडी रोकेरै गैंडा हेर्न गए । विदेशी पनि फोटो खिच्दै थिए । स्कुल जान लागेका विद्यार्थी गैंडालाई छुँदै सेल्फी खिच्दै थिए । केही स्थानीयले गैंडालाई छुन जिस्काउन हुँदैन भन्दै सम्झाउँदै थिए ।

घाम लाग्दै गर्दा गैंडा मस्त भएर पल्टेको थियो । स्थानीयले अगाडि राख्देको हरियो घाँस पनि बिस्तारै चपाउने गर्दथ्यो । नेपालभर ७५२ गैंडा छन् । तीमध्ये चितवन निकुञ्ज र आसपासका जंगलमा ६९४ गैंडा छन् ।

प्रकाशित : पुस ५, २०८० ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?