कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

मनसुन गयो‚ यसपटक भरिएन कुलेखानी जलाशय 

प्रताप विष्ट

हेटौंडा — विद्युत् प्राधिकरणको ‘ब्याकअप’का रुपमा रहेको कुलेखानी जलाशय यो वर्ष नभरिने अवस्थामा पुगेको छ । मनसुनको समय पार भइसकेकाले अब जलाशय भरिने सम्भावना न्यून छ । जलाशय भरिन अझै साढे सात मिटर बाँकी छ ।

मनसुन गयो‚ यसपटक भरिएन कुलेखानी जलाशय 

जेठदेखि असोजको पहिलो सातासम्म कुलेखानी जलविद्युत् आयोजनाका तीनवटै युनिट दैनिक १५ घन्टादेखि २० घन्टासम्म सञ्चालन गरिएको थियो । ‘निरन्तर रुपमा आयोजनाबाट विद्युत् उत्पादन नगरेको भए यतिबेला कुलेखानीको जलाशय भरिने अवस्थामा पुगिसक्थ्यो,’ कुलेखानी-१ आयोजनाका प्रमुख धीरेन्द्र चौधरीले भने,‘जलाशय भरिएर पानी फाल्नु पर्ला भन्ने डरले पनि जेठदेखि नै कुलेखानीको तीनवटै युनिट सञ्चालनमा ल्याइएको थियो ।’

कुलेखानी जलाशयको जलस्तर गत असार ३१ गते १४९५.४ सेन्टिमिटरमा झरेको थियो । त्यसपछि जलाधार क्षेत्रमा वर्षा सुरु भएपछि पानीको सतह बढ्दै आएको आयोजनाले जनाएको छ । साउन १ देखि हालसम्म जलाशयमा २७ मिटर भन्दा बढी पानी संकलन भइसकेको छ ।

जलाशयमा सोमबार दिउँसो ३ बजेसम्म पानीको सतह १५२२.४७ सेन्टिमिटर छ । गत वर्ष यही समयमा जलस्तर १५२५.५ सेन्टिमिटर थियो । कुलेखानी जलाशयमा अहिले दैनिक ६ सेन्टिमिटरमात्र पानी थपिने गरेको छ । खपत पनि दैनिक ५ सेन्टिमिटरसम्म हुने गरेको छ । जलाशयमा आइतबार ३ बजे १५२२.४१ सेन्टिमिटर थियो । ‘जलाधार क्षेत्रमा अब भारी वर्षा भएन भने जलाशय भरिने सम्भावना कमै छ, जलाधार क्षेत्रमा वर्षा हुन छाडिसकेको छ,’ कुलेखानी–१ का एक वरिष्ठ प्राविधिकले भने,‘अब कुलेखानी जलाशय नभरिए पनि सुक्खायामका विद्युत्को समस्या हुँदैन ।’

मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाको दामन, पालुङ, वज्रवाराही, चित्लाङ एवं इन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाशयको जलाधार क्षेत्र हुन् । २०५० सालमा एकै रात ६ मिटर पानीको सतह बढेको थियो । जलाशय भरिएर पानी बाहिर फाल्न एक्कासि ड्याम खोल्ने काम गरिएको थियो । जसले गर्दा सर्लाहीको वाग्मती सिँचाई आयोजनाको निर्माणमा खटिएका तीन जना चिनियाँ कामदारको बाढीले बगाएर मुत्यु भएको थियो । कुलेखानी जलाशयमा १५३० मिटरसम्म पानी संकलन गर्न सकिन्छ ।

२०७२ सालको भूकम्पले जलाशयको बाँधका केही भाग चर्केकाले सकेसम्म पानीको सतह १५२७ मिटरभन्दा बढ्न नदिनु हितकर रहेको प्राविधिकहरुले बताएका छन् । कुलेखानी जलाशयको पानी १४८४ मिटरसम्म तल झर्दा प्रयोग गर्न सकिन्छ । जलाशयमा संकलन गरिएको पानीमध्ये ४६ मिटरमात्र विद्युत् उत्पादनमा प्रयोग गर्न सकिन्छ ।

कुलेखानी–१ बाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १ सय ६ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । कुलेखानी जलाशयमा संकलन गरेको पानीबाट तीनवटै आयोजनाले विद्युत् उत्पादन गर्छन् । ३ सय मिटर चौडाइ र सात किलोमिटर लम्बाइ रहेको कुलेखानीको जलाशयको मार्खु क्षेत्रको तल्लो भाग पानीले ढाकिसकेको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयको पिंधको सतह बढ्दा पानी संकलनको क्षमतामा असर परेको प्राविधिकले बताएका छन् । यसले ६ करोड ३३ लाख युनिट विद्युत् उत्पादनमा कमी आएको छ ।

सुरुमा जलाशयमा संकलन गरिएको पानीवाट २१ करोड ११ लाख युनिट विद्युत् उत्पादन हुने गरेको थियो । तर, अहिले क्षमता घटेर १४ करोड ४७ लाख युनिटमात्र विद्युत् उत्पादन गर्नसक्ने भएको छ । जलाशयको पानी संकलनको क्षमतामा नै ह्रास आएकाले विद्युत् उत्पादनमा कमी आएको हो । पानी संकलन क्षमता घटेसँगै ऊर्जा उत्पादन स्वतः प्रभावित हुन्छ ।

बर्सेनि जलाधार क्षेत्रबाट खोलाले बगाएर ल्याउने ढुंगा, माटो, बालुवा र पातपतिंगर जलाशयमा थुप्रिँदा सरोवरको पानी अट्ने क्षमता साँघुरिदै गएको हो । सुरुवातमा कुलेखानी जलाशयमा ८५.३ मिलियन क्युसेक पानी भन्डारन क्षमता थियो । अहिले क्षमता ५९.९९ मिलियन क्युसेकमा साँघुरिएको छ । कुलेखानी सञ्चालनमा आएको ४१ वर्षमा जलाशयको पिँधको सतह १३ मिटरभन्दा बढी वृद्धि भएको छ ।

जलाशयको पानी भन्डारन क्षमतामा ह्रास आएपछि सुरुको अवस्थाको तुलनामा विद्युत् प्राधिकरणले वार्षिक करिब ३५ करोड रुपैयाँ बराबरको नोक्सानी व्यहोर्दै आएको छ ।

प्रकाशित : कार्तिक १३, २०८० १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?