कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

वन्यजन्तु शिकार मुद्दामा दुई प्रदेश सांसद र पूर्वगाउँपालिका अध्यक्षलाई उन्मुक्ति

भूषण यादव

वीरगन्ज — अवैध रुपमा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र प्रवेश गरी वन्यजन्तुको शिकार गरेको मुद्दामा दुई जना प्रदेश सांसद र एक पूर्व गाउँपालिका अध्यक्षले सफाई पाएका छन् । शिकारमा प्रयोग भएको सवारी साधन र हातहतियार समेत जफत नगरी फिर्ता गर्ने फैसला भएको छ ।

वन्यजन्तु शिकार मुद्दामा दुई प्रदेश सांसद र पूर्वगाउँपालिका अध्यक्षलाई उन्मुक्ति

पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले वन्युजन्तुको अवैध चोरी सिकारीको घटनामा संलग्न रहेको आरोपमा दुई प्रदेश सांसद र एक पूर्वगाउँपालिका अध्यक्षसहित ४७ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

२०८० पुस १७ मा निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले घटनास्थलमा रंगेहात पक्राउ परेका ५ सहित ११ जनालाई बिना इजाजत निकुञ्ज क्षेत्रमा निलगाई तथा चित्तलको सिकार गरेको पुष्टि भएकाले दोषी ठहर गरेका छन् भने दुई सांसद र पूर्वगाउँपालिका अध्यक्षले भने सफाई दिएका छन् ।

पर्सा ३ (१) का सांसद प्रमोदकुमार जयसवाल, काठमाडौं ५ (२) का सांसद श्याम खड्का र सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवालविरुद्ध अवैध चोरीसिकारमा मतियारको रुपमा काम गरेको भन्दै मुद्दा दर्ता भएको थियो । स्वतन्त्रबाट निर्वाचित भएका जयसवाल चैत दोस्रो साता एमाले प्रवेश गरेर मधेश सरकारको शिक्षा तथा संस्कृति मन्त्री नियुक्त भएका छन् । खड्का कांग्रेसबाट निर्वाचित सांसद हुन् ।

पक्राउ परेका प्रतिवादीहरु झापसदास थारु, नवराज बस्नेत, विशाल सहनी, दामोदार अधिकारी, म्लाङडोङ तामाङ, प्रकाश केसी, सुलम मियाँ अन्सारी, भोलाबहादुर थापा पुन मगरलाई ऐनको दफा २६(३) बमोजिम सजायको माग दाबी गरिएको थियो ।

सांसदद्वय र पूर्वगाउँपालिका अध्यक्ष ले मतियारको रुपमा काम गरेको ठहर गर्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २७ बमोजिम सजायको माग दाबी गरिएको थियो । उनीहरुलाई कसुरदारलाई लाग्ने सजायको सजायको आधा हुने गरी ५० हजार जरिवाना र एक वर्षसम्मको जरिवाना माग गरिएको थियो ।

घटना के थियो ?

२०७९ पुस ४ गते राति निकुञ्जको नियमित गस्ती गर्ने क्रममा सखुवाप्रसौनी–१ स्थित एउटा फार्महाउसबाट मृत जरायोको सिङसहितको टाउको र हतियारसहित ५ जनालाई निकुञ्ज र सेनाको टोलीले नियन्त्रणमा लिएको थियो । उक्त फार्महाउस प्रदेश सांसद प्रमोदकुमारको रहेको स्थानीयले बताएका थिए । उनका भाई पूर्वगाउँपालिका अध्यक्ष प्रदीपको नाममा रहेको प्रदेश २–०३००१–च ३०९७ नम्बरको सेतो बोलेरो गाडी वन्यजन्तु चोरी तस्करीमा प्रयोग भएको थियो ।

निकुञ्ज अर्न्तगतको चौरभेया रेन्जपोस्ट र नेपाली आर्मीको संयुक्त गस्ती टोलीले कोर क्षेत्रमा पर्ने जमुनिया खोलामा गोली चलेको आवाज सुनेपछि गस्ती टोली गोली चलेको तर्फ हिँडेरै गएको थियो । त्यहीक्रममा कुदिरहेको बोलेरो गाडीबाट गस्ती टोलीमाथि गोली प्रहार भएको निकुञ्जका पूर्व वार्डेन अशोक रामले बताएका थिए ।

उनका अनुसार सेनाको टोलीले जवाफी फायर गर्दा उक्त गाडीको टायरमा गोली लागेको थियो । गाडीलाई पिछा गनेक्रममा गस्ती टोलीले उक्त गाडी अकुनिया गाउँमा पङ्चर भएको अवस्थामा मृत जरायोसहित फेला पारेको थियो । गस्तीका क्रममा तस्करहरु निकुञ्जको आडैमा रहेको उक्त घरबाट पक्राउ परेका थिए । उक्त घरलाई सेल्टर बनाएर संगठित रुपमा चोरीशिकारी गर्ने किसिमले बन्दोबस्तीका सामान र हतियारसहित तस्करहरु घरमा बसेको पाइएको थियो ।

उक्त फार्म हाउसबाट जरायोको सिंहसहितको टाउको र हातहतियार फेला परेको थियो । निकुञ्जको सुरक्षा टोलीले सखुवाप्रसौनी–१ का ३७ वर्षीय झापस दास थारु, ४४ वर्षीय नवराज बस्नेत, ४६ वर्षीय विशाल सहनी, काभ्रे साँगा ६ का ५० वर्षीय दामोदार अधिकारी, धादिङ गंगाजमुना गाउँपालिका–२ का ५२ वर्षीय म्लाङ डोङ तामाङलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका लक्ष्मण सहनी भनिने विशाल सहनीले यसअघि गाँजा तस्करीमा कारवाही भोगेका थिए भने अधिकारी नेपाली सेनाका पूर्वसिपाही हुन् । पक्राउ परेकाहरुको बयानका आधारमा निकुञ्जले सांसदद्वय जयसवाल र खड्का तथा पूर्वगाउँपालिका अध्यक्ष जयसवाललाई पत्र काटेर बयान लिएको थियो ।

घटनास्थलबाट पक्राउ परेका झापस थारु, नवराज बस्नेत, लक्ष्मण भनिने विशाल सहनी, दामोदर अधिकारी र म्लाङ डोङ तामाङलाई वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाको इजलासले ६ महिना कैद र ३० हजार देखि ६० हजारसम्म जरिवानाको फैसला गरेको हो । प्रतिवादीहरुले विभिन्न वन्यजन्तुको शिकारपछि मासु, छाला काटेको, ड्रममा सेकुवा बनाई खाएको बयान दिएका थिए । बिना इजाजत निकुञ्ज क्षेत्रमा निलगाई तथा चित्तलको शिकार गरेको पुष्टि भएको फैसलामा उल्लेख छ ।

म्लोङ डोङ तामाङको मोबाइलमा जनावारको सिङ तथा आखेटोपहार काटेको, टुक्रा पारेको खुलेपछि उनलाई ३० हजार जरिवाना र ६ महिना कैद सजाय हुने ठहर गरेको छ । साथै घटनाको समयमा बरामद भएको एक लाख ४४ हजार रुपैयाँ पनि तामाङकै भएको खुले पनि कसुरसँग सम्बन्धित रहेको पुष्टि हुने आधार नदेखिएकाले जफत नहुने फैसला भएको छ ।

सांसद जयसवालले इन्कारी बयान दिएको, वारदातको समयमा घटनास्थलमा नरहेको देखिएको, उक्त फार्महाउसको जग्गाधनी उनी नभएको र मिसिलमा संलग्न प्रमाणबाट उक्त कसूर घटाउनमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता पुष्टि हुने प्रमाण नपुगेकाले आरोपबाट सफाई पाएको फैसालमा उल्लेख छ । उक्त फार्महाउसको धनी जयसवाल नभएको फैसलामा भनिएको छ । तर, उक्त फार्महाउसको धनी को हुन् भन्ने विषयमा फैसला मौन छ ।

पूर्वगाउँपालिका अध्यक्ष जयसवाल सञ्चालक रहेको जयसवाल इन्टरप्राइजेजको नाममा रहेको प्र–२–०३–००१ च ३०९७ नम्बरको बोलेरो गाडी घटनामा प्रयोग भए पनि सुलन मियाले सम्झौता गरेर प्रयोग गर्न लिएका कारणले जयसवाल मतियार रहेको पुष्टि हुन नआएको फैसलामा उल्लेख छ । ‘सवारीधनीको संलग्नतामा सवारी साधनको प्रयोग भएको भन्ने प्रमाण नपुग्ने देखिएकोले सवारीधनी प्रतिवादी प्रदीप जयसवालले सफाई पाउने ठहरिएकोले बोलेरो गाडी सवारी साधन जफत नहुने ठहर गरेको छ,’ फैसलामा भनिएको छ ।

घटनास्थलबाट संजिव शाहीको नाममा दर्ता रहेको बा५ख ७८०५ नम्बरको ल्यान्ड क्रुजर गाडी समेत बरामद भएको थियो । उक्त गाडी म्लाङडोङ तामाङलाई सम्झौता अनुसार प्रयोग गर्न दिएको शाहीले बयान दिएका छन् । सवारीधनीको संलग्नतामा गाडी प्रयोग भएको भन्ने प्रमाण नपुगेकाले शाहीले सफाई पाएका छन् भने उनको नाममा रहेको उक्त गाडी समेत जफत नगर्ने फैसला भएको छ ।

प्रकाश केसीलाई वरिष्ठ संरक्षण अधिकृतको इजलासले ४० हजार जरिवाना गरेको छ । घटना घटेको फार्म हाउस केसीको घरसँगै जोडिएको देखिएको र उनले भाडामा लिएको फार्म हाउसमा गाडिएको अवस्थामा चित्तलको सिङसहितको टाउको, आखेटोपहार, हातहतियारलगायतको सामान बरामद भएकाले केसीको संलग्नता पुष्टि भएको हो ।

केसीले फार्म हाउस भाडा लिएको भनिए पनि उक्त फार्महाउसको धनी को हुन् भन्ने फैसलामा खुलाइएको छैन् । घटनाको दिन उक्त फार्म हाउसमा पुगेको र घटनामा संलग्न कुमार लामालगायतलाई सहयोग गरेका सुलन मियाँ अन्सारीलाई ४० हजार जरिवाना भएको छ । यसैगरी नवराज बस्नेत र झापस दास थारुले शिकार भएको चित्तलको मासु दिएका भोलाबहादुर पुन मगरलाई ४० हजार जरिवाना गरिएको छ ।

अर्का सांसद खड्का घटनास्थलमा नभए पनि उनको नाममा दर्ता रहेको १२ बोर हतियार बरामद भएको थियो । २०७९ माघ २९ मा पर्सा अदालतमा हातहतियार खरखजाना मुद्दा दायर भएको थियो । जिल्ला अदालतबाट २०८० असोज १७ मा खड्काले हातहतियार खरखजाना मुद्दामा सफाई पाउने गरी फैसला भएको थियो । खड्काले इन्कारी बयान दिएको, घटनास्थलमा पक्राउ नपरेको र अन्य कुनै प्रमाणबाट निजको संलग्नता पुष्टि हुन नसकेकाले आरोपबाट सफाई पाउने फैसला भएको छ ।

प्रतिवादी विशाल सहनी र दामोदर अधिकारीले पोलेको आधारमा विकासकुमार सहनीलाई ४० हजार, कुमारध्वज लामालाई ५० हजार र उपेन्द्रराय यादवलाई ४० हजार रुपैयाँ जरिवाना गरिएको छ । बरामद भएको ६ थान मोबाइल, बन्चरो आरा, ब्याट्री, लेजर लाइट, मसाज पेन, जिए लाईट, चक्कुलगायत बरामदी मुचुल्कामा उल्लेखित सामानहरु राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २८ बमोजिम जफत हुने ठहर भएको छ ।

फैसलाको तपसिल खण्डमा फैसलामा चित्त नबुझे ३५ दिनभित्र जिल्ला अदालत वीरगन्जमा पुनरावेदन गर्नु भनि पुनरावेदनको म्याद सहित फैसलाको जानकारी जिल्ला सरकारी वकिल कार्यालय पर्सा र प्रतिवादीहरुलाई दिनु भनिएको छ । तर, फैसला भएको ३ महिना पुग्दा समेत त्यसको जानकारी सरकारी वकिल कार्यालयलाई गराइएको छैन् । सरकारी वकिल कार्यालयका प्रमुख सुशील देवकोटाले अवैध रुपमा निकुञ्ज क्षेत्र प्रवेश गरी वन्यजन्तुको शिकार गरेको मुद्दाको फैसला पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयबाट विधिवत रुपमा नआएको बताए ।

प्रकाशित : वैशाख २, २०८१ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?