कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

अदालतले म्याद थपेकै दिन नेशनल मेडिकल कलेजका एमडी हाजरी जमानीमा रिहा

भूषण यादव

वीरगन्ज — नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक (एमडी) र प्रयोगशाला प्रमुखलाई जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार राति हाजिरी जमानीमा रिहा गरेको छ ।

अदालतले म्याद थपेकै दिन नेशनल मेडिकल कलेजका एमडी हाजरी जमानीमा रिहा

कलेजका एमडी साहनवाज अन्सारी र ल्याब प्रमुख सन्जय साहलाई प्रहरीले गत सोमबार पक्राउ गरी कालोबजारी तथा केही अन्य सामाजिक अपराधविरुद्ध मुद्दा दायर गरेर अनुसन्धान अगाडि बढाएको थियो ।

दुई दिनको म्याद सकिएपछि बुधबार प्रहरीले अदालतबाट अनुसन्धानका लागि थप ५ दिनको म्याद अनुमति लिएको थियो । अदालतले ५ दिनको म्याद थपेकै दिन प्रहरीले दुवैलाई हाजिरी जमानीमा छाडेको हो ।

पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाका अनुसार नेशनल मेडिकल कलेजका एमडी र ल्याब प्रमुखलाई बुधबार राति हाजिरी जमानीमा रिहा गरेको बताए । दुवै जना अस्पताल भर्ना भएकाले स्वास्थ्यका कारण हाजिरी जमानीमा आफन्तको जिम्मा लगाएको प्रहरी नायब उपरीक्षक थापाले जनाए । ‘अनुसन्धानको क्रममा प्रहरीले बोलाएको समयमा दुवैजना आउनुहुन्छ,’ उनले भने, ‘स्वास्थ्यका कारण हाजिरी जमानीमा छाडिएको हो ।’

वीरगन्ज महानगरपालिका– १५ स्थित शिक्षण अस्पतालमा विशेष सूचनाको आधारमा औषधि विभाग, महानगरपालिकाको अनुगमन समिति र प्रहरीको टोलीले गत सोमबार अपराह्न छापा मारेको थियो । छापामारीको क्रममा ल्याबबाट म्याद गुज्रिएको केमिकल बरामद भएपछि मेडिकल कलेजका प्रबन्ध निर्देशक र ल्याब प्रमुख सन्जय साहलाई प्रहरीले पक्राउ गरेको थियो । दुवैको रिहाइको माग गर्दै गत मंगलबार शिक्षण अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका थिए । नेपाल चिकित्सक संघले विज्ञप्ति मार्फत कलेजका एमडी र ल्याब प्रमुखलाई रिहा नगरिए आन्दोलनको चेतावनी दिएको थियो ।

प्रकाशित : चैत्र २९, २०८० १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?