२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८१

कोशी-कमला डाइभर्सन छिटो सञ्चालन होस् : राष्ट्रपति

अवधेशकुमार झा

राजविराज — राष्ट्रपति रामचन्द्र पौडेलले कोशी-कमला डाइभर्सन छिटो भन्दा छिटो सञ्चालन गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरमा मंगलबार पूजा पश्चात् आयोजित अभिनन्दन कार्यक्रममा राष्ट्रपति पौडेलले कृषि क्रान्ति गर्न सक्ने सप्तरीलगायतका जिल्लाहरू सुख्खा र खडेरीको समस्याबाट गुज्रिरहेको अवस्थामा कोशी-कमला डाइभर्सन सञ्चालन भए सुख्खाको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

कोशी-कमला डाइभर्सन छिटो सञ्चालन होस् : राष्ट्रपति

सप्तरी पुरानो र इतिहास बोकेको जिल्ला भएको बताउँदै राष्ट्रपति पौडेलले १९४७ को भारतीय स्वतन्त्रता आन्दोलनको बेला भारतीय नेताहरू जयप्रकाश नारायण र राम मनोहर लोहियालगायतलाई हनुमाननगर जेल तोडेर मुक्त गराएको इतिहास समेत स्मरण गरे ।

मधेशको पुरानो र ऐतिहासिक सप्तरी जिल्ला पछिल्लो समय पछाडि परेको बताउँदै राष्ट्रपति पौडेलले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालसहित सप्तरीको समग्र विकासका लागि आफू सप्तरीवासीको साथमा रहने र सप्तरी आफ्नो मुटुबाट नहट्ने बताए ।

नेपाल र भारतका लाखौं भक्तजनले श्रद्धासम्मान र सुरक्षाको अनुभूति गर्नेस्थल छिन्नमस्ता भगवती मन्दिर रहेको बताउँदै राष्ट्रपति पौडेलले राष्ट्रपतिको हैसियतमा आफू पहिलो पटक छिन्नमस्ता भगवतीको दर्शन गर्न पाउँदा खुशी भएको बताए ।

सो अवसरमा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी र उपाध्यक्ष राजोदेवी यादवले अभिनन्दन पत्र, दोसल्ला र मिथिलाको पाग लगाएर सम्मान गरेका थिए ।

हेलिकप्टरबाट पत्नीसहित छिन्नमस्ता आएका राष्ट्रपति पौडेललाई प्रतिनिधिसभा सदस्यद्वय दिनेश कुमार यादव र तेजुलाल चौधरी, प्रदेश सभा सदस्य निलम रजक, छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी, प्रमुख जिल्ला अधिकारी किरण थापा सप्तरीका पालिका प्रमुखहरुले स्वागत गरेका थिए ।

राष्ट्रपति पौडेलले छिन्नमस्ता मन्दिरमा विधिपूर्वक पूजा गरेका थिए ।

प्रकाशित : चैत्र २७, २०८० ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?