१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

वृद्धाको हत्या आरोपमा युवक पक्राउ

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको वाग्मती नगरपालिका ४ जिरायतमा वृद्धाको हत्या अभियोगमा पक्राउ परेका एक युवकलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । वाग्मती ४ जिरायतका ७० वर्षीया पार्वती महतोको मंगलबार साँझ आफ्नै घरमा हत्या भएको थियो । 

वृद्धाको हत्या आरोपमा युवक पक्राउ

जिल्ला प्रहरी कार्यालयले पार्वतीको हत्यामा रौतहटको बृन्दावन नगरपालिका ५ का प्रमोद चौधरीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ परेका चौधरी महतोको घरमा धानको बोरा चोरी गर्न गएको बेला वृद्धाले प्रतिकार गर्न खोज्दा चौधरीले मुंग्रो प्रहार गरी हत्या गरेको प्रहरीसमक्ष बयान दिएको प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए । प्रहरीकाअनुसार मृतक महतोको घरमा ७ वटा धानको बोरा राखिएकोमा ६ वटा मात्र फेला परेको छ ।

प्रहरीले हत्या भएको वृद्धाको घर नजिकको सीसीटीभी फुटेजको आधारमा धानको बोरा बोकेर गएको दृश्य फेला पारेको छ । अभियुक्त चौधरीले धानको बोरा नजिकको चोकमा रहेको किराना पसलमा बेच्न खोजेको दृश्य पनि प्रहरीले फेला पारेको छ । प्रहरी नियन्त्रणमा रहेका चौधरी लागू औषधको सेवनकर्ता रहेको पनि प्रहरीले खुलाएको छ ।

प्रहरी उपरीक्षक ज्ञवालीले अपराधको प्रकृति हेर्दा लागूऔषध सेवनका लागि धानको बोरा चोरी गर्ने बेलामा वृद्धाले प्रतिकार गर्न खोज्दा हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए । ‘अभियुक्त लागूऔषध सेवनकर्ता हुन्, उनले लागू औषधकै प्रयोगका लागि धानको बोरा चोरी गर्न गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने, ‘घटनाको प्रकृति र अभियुक्तको हर्कतले पनि लागू औषधकै लागि चोरी गर्न गएको देखिन्छ, तथापी थप अनुसन्धान भने भइरहेको छ ।’


प्रकाशित : चैत्र २२, २०८० १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?