कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मधेश प्रदेशसभाका सभामुख मण्डललाई महामूर्खको सम्मान

सन्तोष सिंह

धनुषा — जनकपुरधाममा मिथिला नाटयकला परिषद् (मिनाप)ले यस वर्ष महामूर्खको उपाधि मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डललाई प्रदान गरेको छ ।

मधेश प्रदेशसभाका सभामुख मण्डललाई महामूर्खको सम्मान

होलीको अवसरमा जनकपुरधाम आइतबार आयोजित महामूर्ख सम्मेलन-२०८० मा सभामुख मण्डललाई महामूर्खको सम्मान प्रदान गरिएको हो । आकर्षण व्यंग्यात्मक माला, टोपी, होरीमा बजाइने डम्फा, सम्मानपत्र र मायाको चिनोसहित सभामुख मण्डललाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

शिक्षण पेसा परित्याग गरी राजनीति गरेका सभामुख मण्डलले मैथिली भाषा र साहित्य उत्थानमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको भन्दै महामूर्खको सम्मान प्रदान गरिएको मिनापले जनाएको छ । मण्डल माओवादी 'जनयुद्व' लड्दै शान्तिपूर्णपछि एमाले प्रवेश गरेका नेता हुन् ।

सम्मेलनमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएबापत प्रदान गरिने अन्य १३ मान पदवीमा यस वर्ष पटमूर्खको उपाधि मधेश सरकार अर्थ मन्त्रालयका सचिव शुभाषचन्द्र शिवाकोटी र मुर्ख महामण्डलेश्वरको उपाधि कथाकार प्रेम विदेह ललनलाई प्रदान गरिएको छ ।


सदावहार मूर्खको उपाधि शिक्षक महाविर दास, वैशाखानन्दनको उपाधि अभियानी दिनेश पुर्वे, साहित्यकार नित्यानन्द मण्डललाई खेसारीलाल, दाता परिवार शुभाषचन्द्र साहलाई स्थायी मूर्ख, ग्रामिन परवाहास्थित युवा नाट्य परिषद्‌लाई निर्विकल्प मूर्ख र महोत्तरी पिपरा नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेलाई दिलतोरियाको उपाधि प्रदान गरिएको छ ।

हरिप्रियाको उपाधि मिथिला चित्रकार सुधिरा कर्ण, लोहाशंकरको उपाधि क्रिकेटर हरिशंकर साह, बुरिराजको उपाधि योगगुरु विमल पण्डित, बज्रकिटको उपाधि योगेन्द्र पण्डित र सोटाचन्दको उपाधि अनिकेत अग्रवाललाई प्रदान गरिएको छ । मैथिली भाषा, साहित्य, कला, गीत/संगीत र नाट्य क्षेत्रमा काम गर्दै आएको मिनापले २८ वर्षदेखि होरी महोत्सव र महामूर्ख सम्मेलन जनकपुरमा आयोजना गर्दै आएको छ ।

प्रकाशित : चैत्र १२, २०८० २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?