कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

कतै टिकट काउन्टर त कतै कुखुराका खोरमा प्रहरी कार्यालय 

लक्ष्मी साह

बारा — नेपाल प्रहरी र सशस्त्र प्रहरीका कार्यालयहरू स्थायी संरचनाको अभावमा प्रताडित बनिरहेका छन् । कतै टिकट काउन्टरभित्र अस्थायी टहरा बनाएर बसेका छन् भने कतै कखुरा पालनका लागि निर्माण गरिएका खोरलाई कार्यालयका रुपमा प्रयोग गरेर सीमा सुरक्षा र जनताको शान्ति सुरक्षामा खटिरहेका छन् ।

कतै टिकट काउन्टर त कतै कुखुराका खोरमा प्रहरी कार्यालय 

यहाँको द्वारिका बसपार्कको पाँचकोठे टिकट काउन्टरअघि नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी छ । वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) को कमान्डमा खटिएको ११ जनाको टोली बाँसको बारले घेरिएको यही अस्थायी चौकीमा बस्छ । त्यही बारभित्र प्रहरीको सुरक्षा बन्दोबस्तीका सामानसहित विभिन्न कसुरमा पक्राउ गरिएका २ दर्जनभन्दा बढी मोटरसाइकल छन् । सानो कोठामा सबै प्रहरी आफ्ना सुरक्षाका बन्दोबस्तीका सामान लिएर खाँदिएर बस्छन् । त्यसैमा भान्छा घर बनाएका छन् ।

‘आफैं सुरक्षा जोखिम मोलेर उपमहानगरका १६ वटा वडालाई शान्ति सुरक्षा दिइरहेका छौं,’ फागुन महिनामा उत्कृष्ट प्रहरीका रुपमा पुरस्कृत भएका सई मोहनमणि कटुवालले भने, ‘डेढ दशकदेखि चौकी स्थायी हुन सकेको छैन ।’

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा यस्ता थुप्रै स्थायी र अस्थायी प्रहरी चौकी भाडाका घरमा छन् भने कतिपय जीर्ण अवस्थाको भवनमा रहेका छन् । खास गरी दशगजा छेउछाउका प्रहरी चौकीको अवस्था झन् दर्दनाक छ । कचोर्वा चौकीको आफ्नै जग्गा भए पनि भवन निर्माण हुन नसक्दा भाडाको घरमा छ । सरकार–माओवादी द्वन्द्वताका माओवादीले चौकीमा आगजनी र विस्फोट गराएदेखि डेढ दशकदेखि चौकी भाडाको घरमा सञ्चालित छ ।

जिल्ला प्रहरीको तथ्यांकअनुसार जिल्लाभर जग्गा नभएका प्रहरी चौकी २६, जग्गा भएको तर भवन नभएका प्रहरी चौकीको संख्या २९, भाडामा रहेका ५, आफ्नै भवनको अभावमा अरु सरकारी निकायको कार्यालयमा रहेका १९ र स्थायी चौकी भए पनि जग्गा र भवन नभएकाले दरबन्दीसहितको चौकी स्थापना हुन नसकेकाको संख्या ५ रहेको छ ।

नेपाल प्रहरीजस्तै सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको हालत पनि उस्तै छ । विश्रामपुर गाउँपालिका–४ बलिरामपुरमा स्थानीयले आफ्नो खेतमा कुखुरा पालनका लागि बनाएको फुसको छाप्रोमा बसेर सीमा सुरक्षाको पहरेदारी गरिरहेको छ । दसगजा भन्दा डेढ किमिभित्र रहेको उक्त खोरमा १४ जना सशस्त्र प्रहरीको जनशक्ति रहेको छ । यहाँ पनि पानीदेखि शौचालयसमेतको अभाव छ ।

सीमा आसपासमा सशस्त्रका यस्ता थुप्रै बीओपी (बोर्डर आउट पोस्ट) र एफओबी (फरवार्ड अपरेटिङ बेस) हरूको न आफ्नो जग्गा छ, न त आफ्नो भवन,’ सीमा सुरक्षा बलका सशस्त्र प्रहरी उपरीक्षक सन्तोष सिंहले भने, ‘जेनतेन बसाइँ गरेर सीमामा पहरा दिनु परिहेको छ ।’

प्रकाशित : चैत्र १०, २०८० १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?