२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

सिर्सिया सुक्खा बन्दरगाहमा कन्टेनरबाट बरामद वस्तु अलपत्र

शंकर आचार्य

पर्सा — सिर्सिया सुक्खा बन्दरगाह परिसरमा करिब ५ वर्ष देखि थन्किएका कन्टेनरहरुबाट बरामद सुपारी, पोस्तादाना लगायतका वस्तु अलपत्र परेका छन् । लिलामीका लागि खुला गर्दा समेत लिलामी नभएपछि बरामद गरिएका सामान नष्ट हुने अवस्था बनेको छ । बन्दरगाह भन्सार कार्यालयले ती वस्तु लिलामीका लागि माघ २९ र फागुन १३ मा गरी २ वटा छुट्टाछुट्टै १५ दिने सूचना प्रकाशित गरेकोमा अधिकांश वस्तु लिलामी सकारमा कसैले रुचि देखाएनन् । 

सिर्सिया सुक्खा बन्दरगाहमा कन्टेनरबाट बरामद वस्तु अलपत्र

बन्दरगाह भन्सार कार्यालय प्रमुख डा. रामप्रसाद मैनालीका अनुसार कार्यालयबाट कूल ३ वटा लिलामी फारम लगिएकोमा एउटा फारमबाट अफसेट मेशिनको लिलामी सकारको मात्र निवेदन परेको छ । २ वटा सूचनामध्ये पहिलो सूचनाको अवधि समाप्त भएकाले थप ७ दिनको सूचना प्रकाशित गर्ने गृहकार्य भईरहेको छ ।

आयातकर्ताहरुले नलगेर बन्दरगाहमा करिब ५ वर्ष अघि देखि थन्किएका ती कन्टेनरबाट सुपारी, पोस्तादाना, फिड सप्लिमेन्ट, सिलाई मेशिन, अफसेट मेशिन, इण्डष्ट्रियल साल्ट, अटोपार्ट्स लगायतका वस्तुहरु बरामद भएका थिए । कन्टेनरबाट बरामद भएकामध्ये खान लायक तथा प्रयोग गर्न लायक वस्तुहरु लिलामको प्रयास भन्सार कार्यालयले गरेको हो ।

बन्दरगाह परिसरमा थन्किएका ३ सय ९१ वटा मालबाहक कन्टेनरबाट ती वस्तु बरामद भएका हुन् । भन्सार कार्यालयले त्यस अघि सूचना प्रकाशित गरी आयातकर्ताहरुलाई सम्पर्कमा आउन आह्वान समेत गरेको थियो । तर अधिकांश आयातकर्ता सम्पर्कमा आएनन् । त्यसपछि भन्सार कार्यालयले नियमपूर्वक कन्टेनरको शिल तोडेर तिनमा रहेका मालवस्तुको अवस्था यकिन गरेको थियो ।

आयातकर्ताले जाँचपास प्रक्रियाका लागि घोषणा नगरी बन्दरगाह परिसरको दक्षिण पूर्वी कुना तथा मध्य भागमा राखेका कन्टेनरहरु थोत्रो हुँदै गएका थिए । केही कन्टेनरमा खिया लागेर कन्टेनरमा रहेको केराउ लगायतका मालवस्तु कन्टेनर बाहिरै पोखिएको थियो । कन्टेनर विधिपूर्वक खोल्दा कतिपय कन्टेनरमा रहेका मालवस्तु कुहिएर नष्ट भइसकेका थिए । प्रायः केराउ, छोहडा आदि खाद्यान्न वस्तु कुहिएर प्रयोग गर्न नसकिने अवस्थामा थिए ।

बरामद भएका कन्टेनरहरुबाट लिलाम योग्य ३ लाख ४८ हजार किलो सुपारी, १ लाख ६७ हजार ६ सय किलो पोस्ता दाना बरामद भएको छ । सुपारीको मूल्य करिब १४ करोड र पोस्ता दानाको मूल्य करिब २४ करोड १९ लाख रुपैया रहेको अनुमान गरिएको छ ।

सामान्यता भन्सार परिसरमा मालवस्तु भित्रिएको ६० दिन भित्र पनि आयातकर्ताले आफ्नो मालवस्तु जाँचपास गरी नलगे त्यस्ता वस्तु लिलाम प्रकृयामा लग्न सकिने प्रावधान भन्सार ऐन २०६४ मा रहेको छ ।

प्रकाशित : फाल्गुन २१, २०८० १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?