लोकतान्त्रिक मधेशी मोर्चा गठन

कान्तिपुर संवाददाता

जनकपुर — तराई–मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी, सद्भावना पार्टीबीच सहकार्यका लागि लोकतान्त्रिक मधेशी मोर्चा गठन गर्ने निर्णय भएको छ । सोमबार पत्रकार सम्मेलन आयोजना गरी मोर्चाको अवधारणापत्र सर्वजनिक गरिएको छ ।

अवधारणापत्र सार्वजनिक गर्दै तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले मधेशीको आन्दोलन मधेश र मधेसीका लागिमात्र नभई सिंगै नेपालीलाई अधिकार सम्पन्न बनाउन गरिएको बताए । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा मधेश आन्दोलनका मुद्दाहरूमाथि केन्द्रित रही समसामयिक विषयमा मधेशको सही प्रतिनिधित्व गर्ने उनको कथन थियो ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले मधेशको मुद्दामा विश्वास गर्ने सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुनु आवश्यक रहेको बताए । ऐतिहासिक जनता पार्टीका अध्यक्ष बद्रीनारायण ठाकुरले समावेशितामाथि जोड दिएका थिए ।

कार्यक्रममा संविधानसभा सदस्य तथा तराई–मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता डा. विजयकुमार सिंह तथा पूर्वशिक्षा राज्यमन्त्री गोविन्द चौधरी थारूको समेत उपस्थिति थियो ।

अवधारणापत्रमा संघीय गणतान्त्रिक संसदीय लोकतन्त्रप्रति प्रतिबद्धता व्यक्त गर्दै लोकतन्त्रमाथि भइरहेको प्रहारविरुद्ध केन्द्रित रही लोकतान्त्रिक मधेशी मोर्चाले लोकतान्त्रिक शक्तिहरूबीच एकजुटताको निमित्त पहल गर्ने भनिएको छ ।

यसैगरी संघीय संसद्को दुवै सदनबाट दुई–दुई पटक पारित भई राष्ट्रपतिसमक्ष प्रमाणीकरणको निमित्त पठाइएको नेपाल नागरिकता ऐन, २०६३ राष्ट्रपतिबाट संवैधानिक व्यवस्थाको प्रतिकूल प्रमाणीकरणको कार्य पूरा नगरिएपछि संविधानको मर्मअनुसार उक्त विधेयक स्वतः प्रमाणीकरण भएको जिकिर पनि गरिएको छ– ‘नागरिकता विधेयक स्वतः प्रमाणित भइसकेको हाम्रो दाबी छ । विधेयकलाई कानुन बनेको घोषणा गर्न माग गर्दछौं,’ तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष बृषेशचन्द्र लालले भने ।

प्रकाशित : चैत्र १४, २०७९ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्

पहिलोको तुलनामा बुस्टर खोप आधा मात्रै

कान्तिपुर संवाददाता

बागलुङ — कोरोनाविरुद्धको पहिलो र दोस्रो खोपको तुलनामा बुस्टर डोज लगाउनेको संख्या आधा घटेको छ । पहिलो पटकको खोप अभियानमा बागलुङमा ८८ प्रतिशतले लगाएका थिए । दोश्रो डोज ८३ प्रतिशत र बुस्टर लगाउने ४८ प्रतिशत मात्रै भएका हुन् ।

स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु थापाका अनुसार पहिलो डोज २ लाख १६ हजार र दोस्रो डोज २ लाख १२ हजारले लगाएकोमा बुस्टर लगाउने बेलामा १ लाख ५ हजारले मात्रै लगाएका हुन् ।

१५ वर्षमाथिका नागरिकको तुलनामा विद्यार्थीले बढी खोप लगाएका हुन् । ५ देखि १२ वर्षभित्रकाले ९४ प्रतिशत खोप लगाए पनि बुस्टर लगाउन पाएका छैनन् । ताराखोलामा पहिलो र दोस्रो डोज खोप शतप्रतिशतले लगाएका छन् भने काठेखोलामा ६४ प्रतिशतले मात्रै लगाएका छन् । काठेखोलामा बुस्टर समेत ४३ प्रतिशतले लगाएका छन । पालिका तहका स्वास्थ्य शाखाले माग नगरेकोले केन्द्रबाट थप खोप मगाउन नसकिएको थापाको टिप्पणी छ । ‘खोपकै कारण जनजीवनमा सहजीकरण भएको छ, त्यसैले सबैले लगाउनुपर्छ,’ जिल्ला खोप समन्वय समितिकी संयोजक रोशनीकुमारी श्रेष्ठले भनिन्, ‘खोपप्रति भ्रम सिर्जना हुनबाट रोक्नुपर्छ ।’

प्रकाशित : चैत्र १४, २०७९ ०९:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×