म्याद थपेको थप्यै, काम सुस्त- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्याद थपेको थप्यै, काम सुस्त

सप्तरीका १४ वटा यो जनामा पटक–पटक म्याद थप भए पनि काम नसकिएपछि निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
अवधेशकुमार झा

राजविराज — सप्तरीको राजविराजस्थित मुख्य सडक हो, सिरहा रोड । नेताचोकदेखि पश्चिमतर्फको उक्त सडकलाई राममन्दिरसम्म पक्की बनाउन काम थालेको तीन वर्ष पुग्यो । सुरुवातको सम्झौताअनुसार २०७७ पुसमै सडक बनिसक्नुपर्ने हो । तर, तोकिएको समय ग्रुजेर तीन पटक म्याद थप्दा पनि निर्माण सकिएको छैन । 

सप्तरीमा निर्माणाधीन आयोजनाको अवस्था बुझाउने एउटा उदाहरण हो, यो । यो सडकको कामको जिम्मा निर्माण कम्पनी कान्छाराम/डाँफे जेभीले लिएको छ । उक्त सडक मात्र नभई यिनै निर्माण कम्पनीले जिम्मा लिएका सप्तरीका अन्य १४ वटा योजनामध्ये एकाधबाहेक सबैको अवस्था उस्तै छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय राजविराजसँग दुईवटा प्याकेजमा सम्झौता गरी जिम्मा लिएका ती आयोजना तोकिएको मितिमा नसकिएपछि पटकपटक म्याद थप भएको छ । तर, म्याद थप गर्दा पनि निर्माण कम्पनीले काम नसकेपछि भने कार्यालयले कालोसूचीमा राख्ने तयारी गरेको छ ।

कान्छाराम–डाँफे जेभीले ९ वटा र डाँफे–कान्छाराम–देव एन्ड सायर जेभीले ५ वटा आयोजनाका लागि ठेक्का पाएका हुन् । ती आयोजनाको कुल लागत ७४ करोड ४८ लाख रुपैयाँ छ । मुख्य सहरी पूर्वाधार योजनाअन्तर्गत राजविराजको साबिक वडा नम्बर ९ बसपार्क र वडा नम्बर ५ प्रवेश मार्ग, पडरिया उत्तर जाने सडक र नाला, साविक वडा नम्बर २ लोरिक चोकदेखि उतर कञ्चनपुर सडकसम्म र पूर्व डुमरी शिवथानसम्मको सडक र नाता, नेताचोकदेखि पूर्व साइकृष्ण अस्पताल हुँदै रामदेव यादवको घरसम्म र राजदेवी मन्दिरको उत्तरतर्फ पूर्व जाने बाटोमा अहमद टोल हुँदै पम्प कनाल नहरसम्म सडक र नाला निर्माण गरी ५ वटा योजनाको सम्झौता २०७४ पुस १६ मा भएको थियो ।

डाँफे–कान्छाराम–देब एन्ड सायर जेभीले २९ करोड रुपैयाँमा ठेक्का पाएका थिए । २०७७ साउन २० मा काम सक्ने सम्झौता भएको थियो । उक्त अवधिमा काम नसकिएपछि तेस्रो पटकसम्म म्याद थप भएको छ । पछिल्लो म्याद यही चैत ३० सम्म छ, तर काम सकिने छाँटकाँट छैन ।

यस्तै, राजविराजकै गीता पम्पदेखि अध्यारी पम्पसम्म, उपयोगी पुस्तक पसलदेखि राजदेबी मन्दिरसम्म, मलेठ नहरदेखि पम्प हाउस हुँदै झल्ही नहरसम्म, डा. मुरली सिंहको घर नजिकको सडक, बोरियादेखि खर्साल टोलसम्म, खर्साल टोल राजबाबुको घर हुँदै कर्ल्भट सडक, एनटीसी १ सडक, एनटीसी २ सडक, मदननगरभन्दा उतर र झल्ही टोलको सडक गरी ९ वटा योजना निर्माणको जिम्मा कान्छाराम/डाँफे जेभीले पाएका थिए ।

२०७४ पुस २८ मा ३५ करोड ४८ लाख रुपैयाँमा सम्झौता भएको थियो । २०७७ पुस २७ सम्म काम सक्ने म्याद तोकिएको थियो । तर, तेस्रो पटक म्याद थप्दा पनि ती योजना पूरा भएका छैनन् । पछिल्लो म्याद यही चैत ३० मा सकिँदै छ ।

निर्माण कम्पनीलाई काम छिटो सक्न ताकेता गर्दै पटकपटक पत्राचार गरे पनि अटेर गरेको सघन सहरी तथा भवन निर्माण आयोजनाले जनाएको छ । गत फागुन २९ मा निर्माण कम्पनीलाई पत्राचार गरी कालोसूचीमा राखी कारबाही अघि बढाउने चेतावनी दिएको आयोजना प्रमुख सचिन्द्रकुमार देवले जानकारी दिए । उनका अनुसार ७ दिनभित्र कामलाई तीव्रता दिन म्याद दिइएको छ । त्यसो नभएमा आयोजनाको नाममा जारी गरेको कार्य सम्पादन तथा अग्रिम जमानत झिकाउने पत्रमा उल्लेख छ ।

आयोजना प्रमुख देवले अब पनि निर्माण कम्पनीले अटेर गरे सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम सम्झौता तोडी कालोसूचीमा राख्ने बताए । निर्माण कम्पनीका इन्जिनियर सुभास चौधरीले विविध कारणले निर्माणमा ढिलाइ भएको स्विकार्दै कामलाई तीव्रता दिने दाबी गरे ।

प्रकाशित : चैत्र ४, २०७९ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्

बसाइँ सरी आउनेलाई सम्मान

विप्लव भट्टराई

इलाम — यतिबेला पहाडी क्षेत्रको मुख्य चुनौती भनेको जनसंख्या घट्दै जानु हो । यसो हुनुमा घट्दो जन्मदर र बढ्दो बसाइँ–सराइ यसका मुख्य कारण देखिएका छन् ।

अन्यत्रबाट बसाइँ सरेर इलाम नगरपालिका–४ मा आएपछि सम्मानित हुँदै ।

जनसंख्या दर बढाउन इलाम नगरपालिकाले केही वर्षअघि धेरै सन्तान जन्माउनेलाई प्रोत्साहन गर्नेसम्मका कार्यक्रम ल्यायो । स्थानीय तहको पहिलो चुनाव पछि जनप्रतिनिधिको जनसंख्या बढाउने नीतिको व्यापक विरोधसमेत भएको थियो ।

उपमहानगरपालिका बन्ने लक्ष्य लिएको इलाम नगरपालिकाले जनसंख्या उकास्नका लागि अहिले भने फरक सोच बनाएको छ । उसले नगरमा बसाइँ सरेर आउनेहरूलाई विशेष सम्मान र सुविधा दिने कार्यक्रम सुरु गरेको हो । यसअन्तर्गत नगरपालिकाको वडा ४ ले ११ जनालाई सम्मान गर्दै कार्यक्रमको थालनी गरेको छ । पहाडबाट तराई र सुविधा सम्पन्न ठाउँमा बसोबासका लागि जाने क्रम नरोकिएपछि ल्याइएको यो कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजाने नगरपालिकाको योजना छ ।

एक कार्यक्रमबीच यो आर्थिक वर्षमा बसाइँ सरेर यहाँ आएकालाई फूलमालासहित सम्मान गरियो । वडाले उनीहरूको निःशुल्क स्वास्थ्य बिमा पनि गरिदियो । यो वडा सडक यातायात, स्वास्थ्य, विद्यालयको पहुँच र कृषि उत्पादनका लागि तुलनात्मक रूपमा अब्बल छ । तर पनि बसाइँ सर्ने क्रम यहाँ पनि रोकिएको छैन । ‘कार्यक्रममा मात्र हैन भावनात्मक रूपमा नै बसाइँ सरेर आउनेलाई सहयोग तथा सम्मान गर्नेछौं,’ वडाध्यक्ष नूतनदेव दुलालले भने, ‘उनीहरूका लागि कृषि, स्वास्थ्य, व्यवसायलगायत हरेक क्षेत्रमा सहयोग गरेका छौं ।’

इलामबाट मुख्य गरी झापाका क्षेत्रमा बसाइँ सर्ने पुरानै चलन हो । पछिल्लो समय पहाडी क्षेत्रमा सडकसँगै विभिन्न सुविधा एवं अवसर सिर्जना भइरहे पनि रोजगारी, शिक्षा र स्वास्थ्यको पहुँचका लागि भन्दै पुर्ख्यौली थातथलो छाड्ने क्रम घटेको छैन । ‘झापासँग जोड्ने छोटो दूरीको मार्गसहित शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रको विकास गर्दै बसाइँ–सराइ रोक्ने र अन्यत्रबाट यहाँ आउन आकर्षण गर्नेतर्फ केन्द्रित छौं,’ प्रमुख केदार थापाले भने ।

पछिल्लो संरचनाबमोजिम सदरमुकामसहित इलाम नगर क्षेत्रको आकर्षण घट्दो छ । व्यवसायीहरू पलायन हुने क्रम पनि उत्तिकै देखिएको छ । १२ मध्ये ८ वटा वडा मेची राजमार्गले छोएको यो नगरपालिकाको जनसंख्या पाँच वर्षअघि ४८ हजार ५ सय ३६ थियो । नगरपालिकाको प्रयासले अहिले झन्डै दुई हजार बढेर ५० हजार ४ सय ५५ पुगेको छ ।

प्रकाशित : चैत्र ४, २०७९ ०९:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×