३० हजार मेट्रिक टन युरिया भित्रिँदै- मधेस - कान्तिपुर समाचार

३० हजार मेट्रिक टन युरिया भित्रिँदै

शंकर आचार्य

पर्सा — कृषि सामग्री कम्पनीले ग्लोबल टेन्डरबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया मल मंगलबार भारतको कोलकाता बन्दरगाह आइपुगेको छ । कम्पनीको मधेस प्रादेशिक कार्यालय वीरगन्जका सूचना अधिकृत आलोक कुमारका अनुसार आपूर्तिको ठेक्का पाएको स्विस सिंगापुर कम्पनीले मलेसियाबाट मल ल्याएको हो ।

कोलकातामा बोरामा प्याकिङ गरेर उक्त मल नेपाल ल्याउन डेढदेखि दुई साता लाग्ने उनले बताए । उनका अनुसार यो मल चैते धान बालीका लागि उपयोगी हुनेछ । वीरगन्ज प्रादेशिक कार्यालयले ११ हजार ५ सय, भैरहवा प्रादेशिक कार्यालयले १० हजार र विराटनगर प्रादेशिक कार्यालयले ८ हजार ५ सय मेट्रिकटन मल पाउने जनाएको छ ।

यसअघि नेपाल सरकारले भारत सरकारसँग जीटूजी प्रक्रियाबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया मल भित्रिइसकेको छ । त्यसमध्ये वीरगन्ज प्रादेशिक कार्यालयले ११ हजार ६२ मेट्रिक टन युरिया मल आफ्नो गोदाममा भित्र्याइसकेको कुमारले बताए । त्यसबाहेक रक्सौल रेलवे स्टेसनमा रहेको ५ सय ५० मेट्रिक टन युरिया मल वीरगन्ज आउने क्रममा छ । भैरहवा र विराटनगर प्रादेशिक कार्यालयले पनि जीटूजीको मल पाइसकेका छन् । जीटूजीको मल यही गहुँबाली सिजनमै खपत हुनेछ ।

कुमारले कम्पनीको जनकपुर कार्यालयमा सोमबार एकै दिन ३ सय २४ मेट्रिक टन मल परिचालन भएको बताए । ढुवानीको ठेक्का अवधि सकिए पनि त्यहाँ मल पुग्न सकेको थिएन । ‘नवलपुर कार्यालयमा पुरानो र नयाँ गरी ५ सय ३३ मे.टन मल परिचालन भइसक्यो, कलैया कार्यालयमा पनि परिचालन हुने क्रममा छ,’ उनले भने ।

अशोक विनायक रोडवेजले प्रदेश २, ३ र ४ मा ढुवानीको ठेक्का पाएको छ । वीरगन्ज प्रादेशिक कार्यालयको गोदाममा भित्रिएको जीटूजी को ११ हजार ६२ मेट्रिक टन युरिया मलमध्ये सोमबारसम्म ५ हजार ५ सय ४ दशमलव ५ मेट्रिक टन विभिन्न जिल्लामा पठाइएको कार्यालयले जनाएको छ ।

प्रकाशित : माघ २६, २०७९ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्

पप्पुको बैंक ग्यारेन्टी जफत

शिव पुरी

रौतहट — ठेक्का रद्द भए पनि गौर नगरपालिका–४ स्थित टिकुलिया नदीमा पुल बलजफ्ती निर्माण थालेको पप्पु कन्स्ट्रक्सनले कामदार फिर्ता लगेको छ । कामदार फर्किएपछि पुलको काम रोकिएको छ । पुल बनाउन पप्पुले उच्च अदालत वीरगन्जमा मागेको अन्तरिम आदेश खारेज भएपछि सडक कार्यालयले पप्पुको बैंक ग्यारेन्टी जफत गरेको छ ।

टिकुलिया घाटमा पुल निर्माणको ठेक्का लिएको पप्पु कन्स्ट्रक्सनले ३ वर्षभित्र निर्माण काम पूरा गर्ने ०७१ असार २९ मा सम्झौता गरेको थियो । निर्माणको काम बीचैमा छाडेर पप्पु सम्पर्कविहीन भए । काम अलपत्र परेपछि सडक डिभिजन कार्यालय रौतहटले पटक–पटक पत्र पठाएर काम थाल्न अनुरोध गरे पनि कुनै सुनवाई नगरेपछि सडक कार्यालयले ठेक्काको म्याद थप गरेन् ।

ठेकेदारले सम्झौताअनुसार काम नगरेको, लिखित, मौखिक ताकेता गर्दा बेवास्ता गरेकाले सम्झौताको सर्त विपरित गएको भन्दै जेठ १० गते ठेक्का रद्द गर्‍यो । त्यसपछि ठेक्का रद्दका लागि अन्तरिम आदेश जारी गराउन पप्पुले उच्च अदालत वीरगन्जमा मुद्दा दायर गर्‍यो । अदालतले ठेक्का रद्दको प्रक्रिया यथावत राख्न भन्दै अन्तरिम आदेश दियो । त्यही आदेश टेकेर पप्पु फेरि पुलको निर्माण थाल्यो ।

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगाप्रसाद साहले अदालतले ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनले दिएको मुद्दाको अन्तरिम आदेश खारेज गरेकाले अब नयाँ ठेक्काको लागि बाटो खुलेको बताए । ‘ठेकेदारले ठेक्का सकार गर्नेबेला राखेको बैंक ग्यारेन्टीसमेत जफत गरिसकेका छौं,’ साहले भने ।

अदालतमा मुद्दा चल्दै गर्दा सडक कार्यालयलाई खबरै नगरी एकलौटीढंगले पप्पुले साइडमा काम गर्दै आएको थियो । अहिले उसले काम बन्द गरेको छ । साइडमा पप्पुले राखेको डन्डी र मेसिन त्यतिकै अलपत्र छ । साइड सुनसान छ । तत्कालिन सडक डिभिजन कार्यालय हेटौंडाबाट २० करोड ७२ लाखको लागतमा लालबकैया नदीमा २२५ मिटर लम्बाइ र ७.२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आव्हान गरेको थियो । पप्पुले उसैबेला १४ करोड ९३ लाखमा टेन्डर सकार गरेको थियो ।

ठेकेदारले बिनाकारण बीचमै काम छाडेर गएपछि पुल अलपत्र छ । ठेक्काको सम्झौता ०७४ असार २५ मा सकिएको थियो । ठेकेदार कम्पनीका प्राविधिक जमुना यादवले अदालतको आदेशकै भरमा काम गरेको बताउँदै आएका थिए ।

प्रकाशित : माघ २६, २०७९ ११:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×