कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोशीमा कृषि मूल्य सूचना प्रणाली सञ्चालन

विराटनगर — किसानलाई कृषि उपजको मूल्यसम्बन्धी सूचना उपलब्ध गराउने उद्देश्यले कोशी प्रदेश सरकारले कृषि सूचना प्रणाली सञ्चालनमा ल्याएको छ । कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले बुधबार कृषि मूल्य सूचना प्रणाली सार्वजनिक गर्दै त्यसको सुरुवात भएको घोषणा गरे ।

कोशी प्रदेशमा उत्पादन भएका कृषि उपजबारे उत्पादक किसान, व्यवसायी, उपभोक्ताबीचमा सहज सूचना प्रवाह गर्न मूल्य सूचना प्रणाली प्रभावकारी हुने मन्त्रालयको दाबी छ ।

उत्पादित उपजको बजार मूल्यबारे जानकारी नपाउँदा किसानले सस्तोमा वस्तु बिक्री गर्नुपर्ने बाध्यता हटाउन सूचना प्रणालीले सहयोग पुग्न सक्नेछ । फरकफरक बजारमा वस्तुको फरक मूल्य हुने भएकाले किसान र व्यापारीले बजार छनोट गर्न सक्ने अवसर पनि यो प्रणाली उपलब्ध गराउने मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत पशुपति पोखरेलको बुझाइ छ ।

यो प्रणालीमा कोशी प्रदेशका तीन ठूला कृषि बजारहरू बिर्तामोड, धरान र इनरुवाको थोक तथा खुद्रा मूल्य समावेश गरिएका छन् । विराटनगरको कृषि बजार भने मूल्य सूचना प्रणालीमा समावेश भएको छैन । विराटनगर कृषि थोक तथा खुद्रा बजार व्यवस्थापन समितिले आधिकारिक रूपमा वस्तुको मूल्य संकलन गर्ने परिपाटी विकास नगरेका कारण कृषि मूल्य प्रणालीमा समावेश गर्न नसकेको अधिकृत पोखरेलले बताए ।

प्रकाशित : चैत्र १५, २०८० ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?