कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

कटहरीका सामुदायिक विद्यालयले हस्तलिखित पत्र प्रयोग गर्न नपाउने

विनोद भण्डारी

विराटनगर — विराटनगर महानगरपालिकासँग जोडिएको कटहरी गाउँंपालिकाले पालिकाभरिका सामुदायिक विद्यालयमा हस्तलिखित पत्र प्रयोग गर्न रोक लगाएको छ । त्यसका लागि गाउँपालिकाले करिब १० लाख रुपैयाँ खर्चेर सबै विद्यालयमा कम्प्युटर र प्रिन्टरको व्यवस्था गरेको छ ।

कटहरीका सामुदायिक विद्यालयले हस्तलिखित पत्र प्रयोग गर्न नपाउने

पालिकाभरिका सामुदायिक विद्यालयले अब विद्यालय, विद्यार्थी, शिक्षक र कर्मचारीको अभिलेख कम्प्युटरमा राखेर सबै कारोबार कम्प्युटरबाटै गर्नुपर्ने छ । त्यसो नगर्ने विद्यालयले संघीय सरकार र पालिकाबाट पाउने अनुदान पाउने छैनन् ।

पालिकामा रहेका १९ वटा सामुदायिक विद्यालयमध्ये ९ वटाले यसअघि नै कम्प्युटरबाट कामकाज गर्दै आएका थिए । बाँकी रहेका १० विद्यालयलाई ९ लाख ९० हजार रुपैयाँ खर्चेर कम्प्युटर र प्रिन्टरको व्यवस्था गरिएको हो ।

गाउँपालिका अध्यक्ष देवराज चौधरीले अब पालिकाभरिका सामुदायिक विद्यालयमा हस्तलिखित कागजको सट्टा सबै काम कम्प्युटरबाट हुने बताए । विद्यालयलाई प्रविधिमैत्री बनाउने योजनाअन्तर्गत यो अभियान संचालन गरेको उनको भनाइ छ ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख द्रोणप्रसाद पोखरेलले सामुदायिक विद्यालयका २८ जना शिक्षकलाई कम्प्युटरसम्बन्धी एक महिने प्रशिक्षण दिएर यो अभियान सुरु गरिएको बताए । यसले अब कतिपय काम इमेलबाट सम्भव हुने उनले बताए । उनका अनुसार वडा ४ को सरस्वती शिक्षा सदन र वडा १ को तालिमन स्लाम मदरसा आधारभूत विद्यालयले प्रविधि नअपनाउँदा संघीय र स्थानीय सरकारबाट उपलब्ध हुने अनुदान गुमाएका छन् । कक्षा ८ सम्मलाई वार्षिक ५ लाख र आधारभूत तलका विद्यालयले वार्षिक २ लाख ४१ हजार अनुदान पाउने गरेका छन् ।

पालिकाले यो अभियानलाई इन्टिग्रेटेड एजुकेशनल म्यानेजमेन्ट इन्फरमेसन सिष्टम (इमीस) का नाममा सञ्चालन गरेको हो । पोखरेलले यो सिष्टममा आबद्ध नभएका सामुदायिक विद्यालयका शिक्षकले तलबभत्ता, छात्रवृत्तिसमेत पाउने छैनन् । कटहरीका १९ सामुदायिक विद्यालयमा ५ हजार २ सय २८ विद्यार्थी भर्ना छन् । यो पालिकाभित्र रहेका जनता मावि, जनप्रिय मावि र प्रजातन्त्र माविमा कम्प्युटर प्रयोगशालाको व्यवस्था छ । बाँकी विद्यालयमा पनि प्रयोगशालाको व्यवस्थापनको पहल भइरहेको शिक्षा शाखाको भनाइ छ ।

कटहरी मोरङको तरकारी जोन क्षेत्रसमेत हो । गाउँपालिकाले आगामी शैक्षिक सत्रबाट स्थानीय विषयमा कृषि राखेर तरकारी खेतीलाई प्राथमिकता दिने तयारीसमेत गरेको छ ।

प्रकाशित : मंसिर २७, २०८० १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?