१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

गोलिया काठ बिक्रीबाट तेह्रथुमका किसानले कमाए ३८ करोड

चन्द्र कार्की

तेह्रथुम — जिल्लाका किसानले उक्तिस लगायतका गोलिया काठ बित्रीबाट एक वर्षमा ३८ करोड ४८ लाख २७ हजार ५ सय ५० रुपैयाँ आमदानी गरेका छन् । किसानले आफ्नो व्यक्तिगत जमिनमा खेती गरेको उत्तिस, चिलाउने, सल्लो, कटुस, सिरिस लगायतका १ लाख २८ हजार २ सय ७५ वटा रुख बिक्री गरी आम्दानी गरेका हुन् ।  

गोलिया काठ बिक्रीबाट तेह्रथुमका किसानले कमाए ३८ करोड

किसानले निजी तथा नम्बरी आवादीमा खेती गरिएका रुख कटान गरी गोलिया जिल्ला बाहिर निकासी गर्दा ९ करोड १९ लाख ९४ हजार ६ सय ६५ रुपैयाँ राजस्व जम्मा भएको छ भने ५३ लाख १० हजार ४ सय ८२ रुपैयाँ प्रदेश सरकारमा प्रदेश शुल्क वापत जम्मा भएको डिभिजन वन कार्यलयले जनाएको छ । आव ०७९/८० मा जिल्लाबाट २५ लाख ६५ हजार ५ सय १७ क्युफिट गोलिया काठ जिल्ला बाहिर निर्यात भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा गोपलया काठ निकासी बढेको निमित्त डिभिजन वन अधिकृत त्रिभुवन शाहले बताए । पछिल्लो समय गाउँ गाउँमा सडक निर्माण भएको र गोलियाको ढुवानीमा सहजता भएकाले निकासी बढेको निमित्त वन अधिकृत शाहले बताए । गोलिया निकासी गर्दा ढुवानी वापत ठूला ट्रकले मात्र १ करोड ३५ लाख रुपैयाँ ढुवानी भाडा लगेका छन् ।

अहिले उत्तिस लगायत ४२ प्रजातिका रुखका गोलिया कटान गर्न समयको वन्देज नलाग्ने व्यवस्था गरिएकाले पनि जिल्लाबाहिर निकासी बढेको वन कार्यालयले जनाएको छ । गत आवमा ४ हजार ५ सय ट्रक गोलिया बोकेर जिल्लाबाहिर गएका थिए । निजी वनबाट निकासी भएको रुखको कटान, गोलिया बनाउने, जंगलबाट सडक सम्म ढुवानी तथा सडकबाट ट्रकसम्म लोड गर्ने काममा वर्षभर ६७ हजार ५ सय ९४ जना मजदुरले रोजगारी पाएको वन कार्यालयले गरेको अध्ययनले देखाएको छ । व्यवसायीले रुख कटान गरी जिल्ला बाहिर निर्यात गर्दा नम्वरी आबादी यकीनको सिफारिस लिँदा वडा कार्यालयले प्रतिरुख ५० रुपैयाँदेखी १ सय ५० रुपैयाँसम्म शुल्क लिने गरेको छ ।

गोलिया काठ झापा, मोरङ र सुनसरीका काष्ठ, फर्निचर उद्योगमा जाने गरेको छ । आम्दानीको राम्रो स्रोत बनेपछि जिल्लामा व्यवसायिक रुपमै वन जंगल लगाउने किसानको संख्या बढिरहेको छ । दुःख र लगानी कम पर्ने, आम्दानी छिटो हुने भएकाले अन्नबाली खेती हुने जमिनमा समेत किसानले गोलिया काठका लागि उपयुक्त बिरुवा लगाउन थालेको जिल्ला किसान संजालका अध्यक्ष योगेन्द्र गढ्तौलाले बताए ।

‘परम्परागत खेतीबाली छाडेर अन्यत्र बसाइ सर्नेहरुले समेत आफ्नो स्वमित्वको जमिनमा रुख लगाएर छाडेका छन्’ उनले भने । बिरुवा लगाएको आठदेखि बाह्र वर्षमा हुर्किएर रुख काट्नको लागि योग्य हुने गरेको वन प्राविधिकहरुको भनाइ छ । बर्सेनि बिरुवा लगाउनु नपर्ने, धेरै स्याहार सुसार गर्नु नपर्ने, एकमुष्ठ आम्दानी हुने भएकाले धेरैले परम्परागत खेती छाडेर रुख विरुवा लगाउने गरेका छन् । किसानसँग व्यापारीले एउटा रुखको उचाइ र गोलाइ हेरेर ३ हजारदेखि ३ हजार ५ सय रुपैयाँसम्ममा खरिद गरिरहेका छन् ।


प्रकाशित : श्रावण २३, २०८० १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?