कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फालेलुङ साहित्य सांस्कृतिक महोत्सव सम्पन्न

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको फालेलुङ गाउँपालिकामा आयोजित फालेलुङ साहित्य सांस्कृतिक महोत्सव शनिबार सम्पन्न भएको छ । स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले फालेलुङ वाङ्मय प्रतिष्ठानले महोत्सव आयोजना गरेको हो । महोत्सव जेठ २६ गते सुरु भएको थियो ।

फालेलुङ साहित्य सांस्कृतिक महोत्सव सम्पन्न

महोत्सव उद्घाटनपूर्व निकालिएको र्‍यालीमा किरात लिम्बू र राईसँगै विभिन्न जातजातिका संस्कृति झल्किने झाँकी र नृत्य प्रस्तुत गरिएको थियो ।

महोत्सवमा लिम्बू संस्कृतिमा आधारित केलाङ र राई जातिको चण्डी नाच दर्शकको रोजाईमा परेका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईसहित प्राज्ञ सदस्यहरु र नेपाली साहित्यका हस्तीहरु सहभागी कार्यक्रममा कला, साहित्य, संस्कृति, पत्रकारिता, पर्यटन विषयमा विमर्श, रचना वाचन, गीत र नृत्य प्रस्तुति तथा सम्मान कार्यक्रम सम्पन्न भएका छन् ।


कार्यक्रममा फालेलुङ र चौंरी महोत्सव, फालेलुङमा पत्रकारिता, शिक्षामा राजनीति विषयका कार्यपत्र प्रस्तुत भएका छन् । यो सँगै साहित्यमा मौलिक लेखन, मातृभाषाको उपयोगिता, लोक साहित्य र संस्कृति, नारी लेखन र सौन्दर्य, मुन्धुम मन्थन र लेखन विचार कि कला शीर्षकमा साहित्यिक विमर्श गरिएको थियो ।

भारतको सिक्किम र वेस्ट बंगालसँग सिमाना जोडिएको फालेलुङमा कला, साहित्य र संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन, रैथाने संस्कृति जगेर्ना र अभिलेखीकरणका लागि महोत्सव आयोजना गरिएको आयोजक वाङ्मय प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र केरुङले बताए । महोत्सव फालेलुङ गाउँपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको हो ।


प्रकाशित : जेष्ठ २७, २०८० १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?