कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झ्यापझ्याप बत्ती जान थालेपछि...

प्राधिकरणले सूचना नदिई आपूर्ति अवरोध हुँदा ६० प्रतिशतसम्म औद्योगिक उत्पादनमा कटौती
विनोद भण्डारीे

विराटनगर — चार दिन यता विराटनगरको तापक्रम दैनिक औसत ४० डिग्री सेल्सियस छ । बिनासूचना झ्यापझ्याप्ती बत्ती जाने समस्या बढेको हो । ‘यसै त गर्मीले उकुसमुकुस छ, बत्ती गइरहँदा न पन्खा चलाउन पाइन्छ, न एसी । सास फेर्नसमेत गाह्रो हुन्छ,’ स्थानीय युवक पवन गुप्ता भन्छन्, ‘बिजुली नहुँदा झन् हप्प हुन्छ ।’ 

झ्यापझ्याप बत्ती जान थालेपछि...

बिजुली काटिने पूर्वसूचना नभइदिनाले थप पीडा हुने गरेको उनी बताउँछन् । ‘लोडसेडिङका बेला कम्तीमा बत्ती आउने/जाने तालिका हुन्थ्यो, त्यहीअनुरूप दैनिकीको व्यवस्थापन गर्थ्यौं, अहिले कतिखेर किन जान्छ र आउँछ थाहै हुन्न,’ गुप्ता भन्छन्, ‘नो लाइटको फोन उठ्दैन, उठिहालेमा पनि चित्त बुझ्दो जवाफ पाइन्न ।’ बिजुलीको मार उद्योग व्यवसायमा पनि परेको छ ।

विद्युत् आपूर्तिमा समस्याले सुनसरी मोरङ क्षेत्रका उद्योग दैनिक ८ घण्टाभन्दा बढी बन्द हुँदै आएका छन् । यहाँका उद्योगले ६० प्रतिशतसम्म उत्पादन कटौती गरेको सम्बद्ध उद्योगीले दाबी गर्दै आएका छन् । बिजुलीले साथ नदिँदा दैनिक अर्बौं मूल्य बराबरको कच्चा पदार्थ एवं यन्त्रको पार्टपुर्जामा नोक्सानी हुँदै आएको उद्योग संगठन, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेशका पदाधिकारीले गुनासो गर्दै आएका छन् ।

अनियमित विद्युत् आपूर्तिबाट प्रताडित सर्वसाधारण एवं उद्योगी व्यवसायीका गुनासाप्रति न विद्युत् प्राधिकरण गम्भीर छ, न त प्रदेश राजधानी विराटनगर महानगरका जनप्रतिनिधि र कर्मचारी । सर्वसाधारण र उद्योगी व्यवसायीका गुनासाप्रति विद्युत् प्राधिकरण भने आपूर्ति नै कम भएकाले विद्युत् जाने समस्या देखिएको बताउँछ । विद्युत् अवरुद्ध हुने कारणबारे सर्वसाधारणलाई सामाजिक सञ्जालमा जानकारी गराएको प्राधिकरणको प्रादेशिक कार्यालयको भनाइ छ ।

नागरिकसँग प्रत्यक्ष जोडिएको बिजुलीको समस्याका बारेमा विराटनगर महानगरपालिकाका पदाधिकारीहरूको जवाफबाट पनि गैरजिम्मेवारीपन एवं असंवेदनशीलता झल्किन्छ । महानगर विद्युत् शाखा प्रमुख अनिल सिंहले महानगरको दायित्व सडक बत्तीको मर्मत तथा जडान गर्नेमा मात्र भएको हलुका जवाफ दिँदै भन्छन्, ‘विद्युत् आपूर्तिमा महानगरको कुनै जिम्मेवारी छैन ।’ स्थानीयवासी भने यो समस्या समाधानको हकमा महानगरबाट पहलको अपेक्षा गरेका छन् । ‘बिजुली, पानी, ट्राफिक र सरसफाइको अवस्था हेर्दा विराटनगरलाई प्रदेशको राजधानी र महानगरभन्दा पनि लाज भइसक्यो,’ स्थानीय शशी मण्डल भन्छन्, ‘यी सब आधारभूत आवश्यकता जसको क्षेत्राधिकारमा परे पनि अधिकार सम्पन्न महानगरपालिका प्रमुख, उपप्रमुख एवं उच्च पदस्थ कर्मचारीलगायत सबैको ध्यानाकर्षण हुनुपर्ने हो ।’

त्यसैगरी विद्युत् प्राधिकरणले सूचना नदिई दैनिक लामो समय आपूर्ति बन्द गर्दा ६० प्रतिशतसम्म उत्पादन कटौती गरेको उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेल बताउँछन् । सुनसरी मोरङ औद्योगिक क्षेत्रमा पुसदेखि नै अनियमित विद्युत् आपूर्ति, ट्रिपिङ र कम भोल्टेजको समस्या छ । पछिल्लो समय बढेको अनियमित विद्युत् आपूर्तिले अधिकांश उद्योग दैनिक आठ घण्टाभन्दा बढी बन्द अवस्थामा रहेको प्याकुरेल बताउँछन् ।

औद्योगिक कच्चा पदार्थ खेर जाने र मेसिनका सामान बिग्रिनुका साथै श्रमिक व्यवस्थापनमा समेत समस्या भएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालको भनाइ छ । उनका अनुसार लामो समयदेखि बजारको मन्दी, बैंकको चर्को ब्याजदरको पीडा झेल्दै आएको औद्योगिक क्षेत्रले पछिल्लो पटक विद्युत् आपूर्तिमा गडबडीले लागत बढ्नुका साथै उत्पादित वस्तुको गुणस्तर एवं प्रतिस्पर्धात्मक क्षमतामा नै ह्रास आएको छ ।

विद्युत् प्राधिकरण प्रदेश कार्यालय प्रमुख उमेश झाले भारतबाट विद्युत् आयात नै कम भएकाले मागअनुरूप विद्युत् दिन नसकेको बताउँछन् । साथै सप्तरीको रुपनीबाट दुई सर्किटबाट तीन सय मेगावाट विद्युत् आपूर्ति हुँदै आएकोमा १३२ केभी प्रसारण लाइनको एक सर्किटको ब्रेकर पड्केर विद्युत् आपूर्ति अवरुद्ध हुँदा आधाभन्दा कम विद्युत् प्राप्त भइरहेको उनी बताउँछन् । झाका अनुसार सप्तरीको कटैयाबाट ८० मेगावाट आइरेको छ ।

‘पानीको लेवल घट्दा इलामबाट उपलब्ध हुने १ सय ९६ मेगावाटमध्ये २८ मेगावाट मात्र विद्युत् पाउँदा मागको आधा पनि उपलब्ध छैन,’ उनी भन्छन्, ‘विद्युत्को माग अत्यधिक छ तर आधा पनि उपलब्ध नहुँदा अनियमित आपूर्ति समस्या झन् बढेको हो ।’ उनको अनुसार करिब २ सय ५० मेगावाट विद्युत् आवश्यक पर्नेमा हाल आन्तरिक न्यून र कटैयाबाट प्राप्त भइरहेको ८० मेगावाट विद्युत् मात्र वितरणमा रहेको झाको भनाइ छ ।

कटैयाबाट थप एक सर्किटबाट विद्युत् आयातको पहल भइरहेको उल्लेख गर्दै झा भन्छन्, ‘रुपनीको बिग्रेको सर्किटको मर्मत नसकिएसम्म र कटैयाबाट थप एक सर्किटबाट विद्युत् आयात नगरेसम्म विराटनगर र सुनसरी मोरङ औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने स्थिति कायमै रहने निश्चित छ । विद्युत् आपूर्ति अवरुद्ध हुने जानकारी कार्यालयले सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी दिएको झा बताउँछन् ।

प्रकाशित : वैशाख ७, २०८० ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?