लिफ्टिङ खानेपानी आयोजना गुणस्तरहीन- कोशी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिफ्टिङ खानेपानी आयोजना गुणस्तरहीन

डम्बरसिं राई

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा सञ्चालित साप्सुखोला–विजयखर्क–बसेरी लिफ्टिङ खानेपानी आयोजनाको काम गुणस्तरहीन भएको खुलेको छ । चौतर्फी गुनासोपछि अनुगमन गरिँदा यो यथार्थ बाहिर आएको हो । 

नेपाल सरकार, संघीय खानेपानी मन्त्रालयको २९ करोड १३ लाख ९९ हजार ९ सय ९० रुपैयाँको लागतमा उक्त वडाका ५ सय २३ घरधुरी उपभोक्तालाई खानेपानी पुर्‍याउन आयोजना सञ्चालन गरिएको हो । उक्त आयोजनाको ठेक्का सगरमाथा ड्रिलिङ एन्ड कन्स्ट्रक्सन कम्पनी प्रालि बूढानीलकण्ठ–८ काठमाडौंले लिएको हो ।

उक्त कम्पनीले २०८१ साउन ४ भित्र सक्ने गरी २०७९ असार २२ गते सम्झौता गरेको थियो । साप्सु खोलाबाट लिफ्टिङ गरेर खानेपानी वितरण गर्न उक्त आयोजना ल्याइएको हो । वितरण लाइनको पाइप तीन फिट गहिरो खाल्डो खनेर बिछ्याउनुपर्नेमा दुई फिट मात्रै खनेर पुरिएको, पानी वितरण गर्ने ट्यांकीको कामै नसकी चिरिएको लगायतका कैफियत फेला परेको नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए ।

अहिले उक्त आयोजनाको मेनलाइनको ट्यांकी निर्माण र वितरण लाइनको पाइप बिछ्याउने कामहरू भइरहेको छ । स्वास्थ्य चौकीडाँडामा निर्माणाधीन मेन लाइनको २० हजार लिटर क्षमताको ट्यांकी गुणस्तरहीन छ । त्यसभन्दा मुनिको ट्यांकी पनि बांगो देखिएको छ । स्वास्थ्य चौकीडाँडाभन्दा माथिल्लो ट्यांकी चिरा परेकाले भत्काएर बनाउन निर्देशनपछि बुधबार भत्काइएको भट्टराईले बताए । उक्त आयोजनामा ७ सय २५ वटा धारा बनाइनेछन् ।

प्रकाशित : चैत्र ४, २०७९ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्

सामूहिक खेतीतर्फ किसान आकर्षित

कुम्भराज राई

ओखलढुंगा — चिशंखुगढी गाउँपालिका–२ पोखरेका नारदप्रसाद घिमिरे तीन वर्ष वैदेशिक रोजगारमा बिताएर गाउँ फर्केर २०६७ देखि तरकारी र केही बोट सुन्तला, कागती रोपे । थोरै मात्रामा गरिएको खेतीले उनलाई ठूलो हौसला मिल्यो । त्यसपछि भने घिमिरे तरकारी खेतीको क्षेत्रफल बढाउनतर्फ लागे ।

अहिले उनको बारीमा गोलभेंडा, काउली, बन्दा, रायो, केराउ, करेला, काँक्रा, आलुलगायत कुनै न कुनै तरकारी बाह्रैमास हुन्छ । सिजनमा फलफूल पनि बेच्छन् ।

‘एक वर्षमा एक/डेढ लाख नगद तरकारी एवं फलफूलबाटै हुन्छ,’ घिमिरेले भने, ‘कमाइले सामान्य घरपरिवार चलाउने र केटाकेटी पढाउन पुगेको छ ।’ गाउँमा एक्लै तरकारी खेतीमा लाग्दा बेच्न लैजाँदा समस्या भएपछि उनले समूह गठन गरे । गाउँका २६ जना मिलेर खोलेको सयपत्री कृषक समूहका सचिव हुन् उनी । ‘समूह भए पछि कुनै समस्या भएमा कृषि प्राविधिक बोलाउन सजिलो भयो,’ उनले भने, ‘उत्पादित तरकारी बिक्री गर्न समूहमै संकलन गरेर लान गाडी रिजर्भ गर्न पनि सजिलो ।’ सयपत्री समूहकै २१ जनाले प्लास्टिक टनेल लगाएर गोलभेंडा खेती गरेका छन् । एक वर्षमा समूहले १० देखि १५ लाखको गोलभेंडा उत्पादन गर्छन् ।

सिद्धिचरण नगरपालिका–६ की फूलमाया मगरले वर्षमा ६–७ रोपनी क्षेत्रफलमा बुङ आलु रोप्छिन् । १० देखि १५ मुरी आलु फलाउँछिन् । आलुबाहेक आफ्नो करेसा वरपर बन्दा, काउली, रायो, गाजर पनि लगाउँछिन् । आलु, काउली फल्ने सिजनमा करेसाबाटै १०–१५ हजारको तरकारी बेच्छिन् । उनी सेतीदेवी आलु बीउ वृद्धि कृषक समूहमा आबद्ध छिन् । समूहमा ३१ जना कृषक जोडिएका छन् । ‘प्रायः सबै कृषकलाई प्राविधिक होस् या बजारको उस्तै समस्या हुन्छ,’ फूलमायाले भनिन्, ‘समूहमा आबद्ध भएपछि समस्या समाधान गर्न, छलफल गर्न सजिलो भएको छ ।’

सिद्धिचरण–६ कै डम्बरकुमारी मगर सोही समूहकी सदस्य हुन् । उनी वर्षमा एक लाख ५० हजारसम्मको आलु बेच्छिन् । च्याउ, साग, गान्टे मुला, बन्दा, काउली, गाजरजस्ता तरकारी बिक्री गर्छिन् । उनी पनि समूहमा कृषि गर्दा सहज हुने गरेको बताउँछिन् ।तरकारी खेतीको कृषक समूह भएपछि स्थानीय तहको कृषि शाखा, ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) लगायतले आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ ।

प्रकाशित : चैत्र ४, २०७९ ०८:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×