सडक मिचेका संरचना भत्काइँदै

सुनसरी — सडक क्षेत्राधिकार मिचेर बनाइएका संरचनामा इटहरी उपमहानगरले डोजर चलाएको छ । उपमहानगर प्रमुख हेमकर्ण पौडेल नेतृत्वको टोलीले ठूलो संख्यामा प्रहरी परिचालन गरी मुख्य राजमार्ग आसपास सडक क्षेत्राधिकारभित्र पर्ने संरचना भत्काएको हो ।

सडक मिचेका संरचना भत्काइँदै

अनधिकृत संरचनाकै कारण रानी–विराटनगर–इटहरी–धरान सडक आयोजनाअन्तर्गत इटहरीको मुख्य बजारमा काम अलपत्र परेपछि उपमहानगरले उक्त कदम चालेको हो । उसले विराटनगर लाइनमा पर्ने वडा ६ का ३४ घर भत्काउन यसअघि नै १५ दिनको सूचना प्रकाशित गरेको थियो ।

शनिबार सूचनाको म्याद सकिएपछि आइतबार उपमहानगरको टोली कारबाहीका लागि अघि बढेको हो । पटकपटक जारी गरिएको सूचना नटेर्दा उपमहानगरपालिकाले हटाउन सुरु गरेको पौडेलले बताए । भत्काउन अटेर गरेकै कारण इटहरीको मुख्य बजार क्षेत्रको चौरास्त चोकभन्दा दक्षिणतर्फ तीन सय मिटर सडक विस्तार हुन सकेको छैन ।

इटहरीको मुख्य चौकदेखि उत्तर तरहरातर्फ ६ लेन सडकको काम सकिए पनि दक्षिणी क्षेत्र विराटनगर लाइनमा भने स्थानीयको अवरोधले सडक विस्तारको काम बाँकी नै छ । इटहरी–६ का वडाअध्यक्ष दिवस पोखरेलले सडक क्षेत्रभित्रका घरहरू निरन्तर भत्काउँदै जाने बताए । उनले विकासको काममा विरोध नगरौं भनेर सबै घरवालालाई सम्झाए पनि नमानेपछि डोजर चलाएको प्रस्ट्याए ।

प्रकाशित : माघ २९, २०७९ २२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?