तराईको शीतलहर छल्न पहाडतिर

चन्द्र कार्की

तेह्रथुम — तराईमा शीतलहरसँगै चिसो बढेपछि स्थानीयहरू चिसो छल्न पहाडतर्फ लाग्न थालेका छन् । अघिल्ला वर्षहरूमा यो सिजनमा पहाडमा समेत दिनभर हुस्सु लाग्ने र राति तुसारो परेर मौसम ठन्डा हुने गरे पनि अहिले पहाडको मौसम पनि घमाइलो देखिन थालेको छ । 

पूर्वी तराईलाई बाक्लो हुस्सुसहितको शीतलहरले छोपिरहँदा पहाडी जिल्लाहरू तेह्रथुमसहित धनकुटा, संखुवासभा, पाँचथर, ताप्लेजुङ, भोजपुरलगायत जिल्लामा दिनहरू घमाइलो हुने भएकाले पनि तराई भेगका वृद्धवृद्धा र केटाकेटीहरू पहाड उक्लिन थालेको तीनजुरे पहाडमा पसल चलाउँदै आएका युवराज खड्काले बताए ।

पुस महिना सुरु भएपछि आकाश खुल्ला छ । दिनभर न्यानो घाम लाग्ने गरेकाले यो वर्षको पुसमा पहाडका बासिन्दाले जाडोको त्यति महसुस गर्नु नपरेको ३ हजार मिटरको उचाईमा रहेको गुफा बजारका फुजुङ भोटेले बताए । चिसो मौसम हुने समयमा समेत यो महिना न्यानो अनुभव भैरहेको उनले सुनाए ।

३ हजार मिटरको उचाईमा रहेको गुफा बजारमा समेत यो वर्ष अघिल्लो वर्षजस्तो चिसो नभएको स्थानीय मकालु होटलका सञ्चालक हिमा खनालले बताइन् ।

पूर्वी तराईमा चिसो बढेपछि पहाडमा आफन्त हुने र घरघडेरी हुनेहरू तराईको चिसो छल्न पहाडतर्फ उक्लिन थालेका छन् । तराईमा शीतलहरसँगै कठांग्रिने जाडो बढेपछि विराटनगरको वरगाछी बसोबास गर्दै आएका ६५ वर्षीय नन्दलाल भट्टराई तेह्रथुमको मोराहाङमा रहेका आफन्तकोमा आएका छन् । तराईमा चिसो बढेर बस्न नसकेपछि केही समय भए पनि पहाडमा चिसो छल्न आएको उनले बताए ।

तराईको चिसो छल्न धेरै बुढापाका र केटाकेटी पहाडतिर आइरहेका छन् । अबको एक महिना यतै रहने र तराईमा शीतलहर र कठांग्रिने चिसो हटेपछि मात्र फर्किने झापाको तोपगाछीबाट पहाड घर दांगपा आएका मित्रलाल बस्नेतलले बताए । ‘तराईभन्दा त पहाड धेरै तातो रहेछ‚’ धनकुटाको सिंधुवा बजारमा भेटिएका बस्नेतले भने ।

मौसम न्यानो भएकाले अस्पताल तथा अन्य स्वास्थ्य स्वास्थ्यमा चिसोका कारण समस्या लिएर आउने बिरामीको संख्यासमेत अघिल्लो वर्षको यही सिजनको तुलनामा कम रहेको स्वास्थयकर्मीको भनाइ छ ।

प्रकाशित : पुस २४, २०७९ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्

सुनको मूल्य यो वर्षकै उच्च 

कान्तिपुर संवाददाता

काठमाडौँ — सुनको मूल्य यो वर्षकै उच्च विन्दुमा पुगेको छ । एकै दिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको छ । यो मूल्य वि.सं. २०७९ कै उच्च हो ।

गत वर्ष (२०७८) फागुन २५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको रेकर्ड छ । सो दिन प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसयता घट्दै गएको मूल्य ९१ हजार रुपैयाँसम्म झरेको थियो । पुनः मूल्य उकालो लागेसँगै सुनको मूल्यले नयाँ रेकर्ड बनाउन सक्ने संकेत देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि गत वर्षको फागुन २५ गते हालसम्मकै उच्च प्रतितोला १ हजार ४५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

प्रकाशित : पुस २४, २०७९ १२:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×