कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४०

मध्यपुर थिमिमा मनाइयो सिन्दुर जात्रा  

सुकार्यलाल श्रेष्ठ

काठमाडौँ — मध्यपुर थिमिका नेवार समुदायले आइतबार सिन्दुर जात्रा अर्थात सुथःसिया जात्रा धुमधाम साथ मनाएका छन् । बिस्का (बिस्केट) जात्राको अवसरमा मनाइने मध्यपुर थिमिवासीको सिन्दुर जात्रा प्रसिद्ध मानिन्छ ।

परम्पराअनुसार नै देवता लाय्कू दरबारभित्र पस्न नपाउन् भनेर लायकू प्रवेशद्वारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गणहरु बाटो छेकेर बस्ने परम्परा रहेको छ ।

सिन्दुर जात्राको क्रममा बालकुमारी, कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको छ । सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु हुन्छ । जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइन्छ ।

यस क्रममा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका 'देवता'को नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै बाजागाजासहित सिन्दुर जात्रा मनाइएको छ । मध्यपुर थिमि बोडेको ७, टिकनी/नगदेश १/१ र थिमिको २३ सहित ३२ खटसहित सिन्दुर जात्रा मनाउने गरिन्छ । बोडे, नगदेशमा भने छुट्टाछुट्टै खट निकाल्ने गरिन्छ ।

यहाँको समुदायमा मूल देवतालाई खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुर जात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँयाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकापसमा सिन्दुर दलेर नगरपरिक्रमा गर्ने परम्परा छ ।

प्रकाशित : वैशाख २, २०८१ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्