कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

यस्तो देखियो कोप्चे महोत्सव [फोटोफिचर]

रमेशचन्द्र अधिकारी

धनकुटा — नयाँ वर्ष २०८१ को अवसरमा धनकुटाको कोप्चेस्थित पर्यटकीयस्थल ओरेन्ज सिटीमा शुक्रबारदेखि दोस्रो कोप्चे फेस्टिभल सुरु भएको छ । ‘मौलिकता संरक्षण, पर्यटन प्रवर्द्धन’ भन्ने नाराका साथ धनकुटा नगरपालिका ५ स्थित ऐतिहासिक बिहीबारे हाटस्थलमा महोत्सव आयोजना गरिएको हो ।

आगामी वैशाख २ गतेसम्म सञ्चालन हुने फेस्टिभलमा त्यहाँ मुख्य बसोबास रहेको नेवार, आठपहरियालगायत जातिको कला, संस्कृति, भेषभुषा, रहनसहन र परिकार विशेष आकर्षण रहेको छ । सामाजिक विकासका लागि युवाहरुको प्रयास (यस्ड) संस्थाको अगुवाइमा गत वर्षदेखि फेस्टिभल सुरु गरिएको संस्थाका अध्यक्ष रिजन पोखरेलले बताए । कोप्चे पुनर्जागरण अभियानबारे जानकारी प्रदान गर्न, पर्यटन विकासमार्फत आर्थिक, सामाजिक विकास र जीवनस्तर उकास्न, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक मौलिकता संरक्षण र बाहृय पर्यटन केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको पोखरेलले बताए । उनका अनुसार २० स्टल रहेको उक्त स्थानमा समावेश जातीय मौलिक परिकारलाई पर्यटकहरुले रुचाएका छन् ।

यस्तै, स्थानीय उत्पादन तथा हस्तकलाका सामग्रीसमेत आकर्षण रहेको छ । पर्यटन विकास, पानी तथा संस्कृति संरक्षणका सवालमा अन्तरक्रिया, पुराना तस्बिर, परम्परागत लोपोन्मुख वस्तुहरु तथा मनोरञ्जनात्मक खेलसमेत समावेश गरिने आयोजक समितिका संयोजक रिदम श्रेष्ठले बताए । अन्तरक्रियामा पर्यटन अभियन्ता राजेन्द्र प्रधान, पर्यटन विज्ञ अनु लामालगायत सहभागी हुने छन् ।

कम्तीमा २० हजार पर्यटकको सहभागिता रहने अपेक्षा लिइएको फेस्टिभल सञ्चालनका लागि धनकुटा नगरपालिका, संघ संस्था उद्यमी, व्यापारी, कोप्चे पुनर्जागरण अभियान लगायतबाट आर्थिक सहयोग उपलब्ध रहेको छ । १० लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको महोत्सव आयोजक संस्था यस्डका अध्यक्ष पोखरेलले बताए । महोत्सव आयोजना हुने ओरेन्ज सिटीका डेढ सयभन्दा बढी घरहरु सुन्तले रंगमा सजिएका छन् । पछिल्लो समय सुस्ताउँदै गएको भन्दै स्थानीयले कोप्चे पुनःजागरण अभियान थालेका हुन् ।

प्रकाशित : चैत्र ३०, २०८० २०:४८
प्रतिक्रिया
पठाउनुहोस्