कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

वसन्त ऋतुमा खुलेको 'रारा' [फोटोफिचर]

राजबहादुर शाही

मुगु — वसन्त ऋतुमा राराको रुप फेरिने गरेको छ । समुद्री सतहदेखि २९ सय २९ मिटर उचाइमा रहेको मुगुको पर्यटकीय गन्तव्य रारामा रमाइलो मौसम सुरु भएको छ । हिउँदे मौसम अन्त्यसँगै वसन्त ऋतुको आगमनले रारा प्राकृति सौन्दर्य बदलिएको छ । रारामा यतिबेला  चिसो मौसम हटेर तातो मौसम प्रारम्भ भएको छ । ताल वरिपरिका बृक्षहरुमा पालुवा पलाए संगै फुलहरु फुल्न थालेका छन् । 

पानीको तालको छेउछाउमा रहेका गुराँसहरु ढकमक्क फुलेका छन् । गुराँस फुलेपछि रारा झन् सुन्दर र रमणीय देखिएको छ । रारामा कोइलीको आवाजसँगै अन्य  विभिन्न चराहरुको आवाज सुनिन थालेको छ । हिउँद कटाउन रारा आएका साइबेरियाका चराहरु विस्तारै आफ्नो गन्तव्यतर्फ फर्किन थालेका छन् । वसन्त ऋतुले राराको रुप फेरिएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय संरक्षण अधिकृत राजु घिमिरेले बताए । हिउँदमा सुक्खा देखिने रारा हिजाआज हरियाली सुन्दरता देखिने थालेको उनको भनाइ छ । 'रारामा वसन्त ऋतुमा धेरै चराहरुको आवाज सुनिने गरेको छ । राराको जंगल क्षेत्रमा गुच्ची च्याउ उम्रिन थालेपछि स्थानीय टिप्न आउन थालेका छन्,' उनले भने, 'बैशाखमा रारामा लेकाली काँफल समेत पाक्ने गरेको छ ।' रारा घुम्ने पर्यटकको आगमन पनि क्रमिक रुपले बृद्धि हुन थालेको उनले बताए । दैनिक ४० देखि ५० जना आन्तरिक पर्यटकले रारा भ्रमण गर्न थालेको निकुञ्जनले जनाएको छ । रारा वरपरका होटलमा पर्यटकहरु देखिन थालेका छन् । 


प्रकाशित : चैत्र २५, २०८० १४:५३
प्रतिक्रिया
पठाउनुहोस्