कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१

सरस्वती मन्दिरमा श्रद्धालुको भीड

तस्बिर : केशव थापा, तस्बिर : दीपक केसी

काठमाडौँ — हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी बुधबार देशभर मनाइँदै छ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने जनविश्वास छ । देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गर्छ ।

विद्यालय, क्यम्पस वा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले बिहानै आफ्नो किताब, कापी र अन्य शैक्षिक सामाग्रीलाई पूजा गर्ने चलन छ ।

विद्यालय नपठाइएका साना बालबालिकालाई पनि आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । श्रीपञ्चमीका दिन सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन्।

उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको छ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।


प्रकाशित : फाल्गुन २, २०८० ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्