१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

नेपाल, भारत र बेलायतबीचको सम्झौता खारेज गर्न माग राख्दै भूतपूर्व सैनिकको प्रदर्शन

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — नेपाल, भारत र बेलायतबीच सन् १९४७ मा भएको त्रिपक्षीय सम्झौता खारेज हुनुपर्ने भन्दै ब्रिटिश गोर्खा भूतपूर्व सैनिकहरुले बुधबार काठमाडौंको शान्तिबाटिकामा प्रदर्शन गरेका छन् । उनीहरुले सो विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश पालना गर्न  माग गरेका हुन् । ब्रिटिश गोर्खा सैनिकहरुको न्याय, समानता र स्वाभिमानका लागि आफूहरु सडकमा आउनुपरेको ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठनका अध्यक्ष पदमसुन्दर लिम्बूले बताए ।

उनीसहितले गोर्खा भर्ती सम्बन्धी  सन् १९४७ नोभेम्बर ०९ तारिखमा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौता खारेजी गर्नुपर्ने विषयलाई लिएर सर्वोच्च अदालतमा विसं २०७४ साल जेठ २६ गते दायर गरेको रिट निवेदनमा अदालतले २०७१ साल माघ २४ गते निर्देशात्मक आदेश जारी गरेको थियो ।अध्यक्ष लिम्बुका अनुसार माघ २४ मा नेपाल सरकारको नाममा जारी भएको सो आदेशलाई कार्यान्वयन गर्न सरकारले चासो देखाएको छैन । 'त्यो फैसला गोर्खा सैनिकहरुले आफुहरुविरुद्ध भइरहेको अन्याय, असमानता र विभेदका विरुद्ध न्याय, समानता र स्वाभिमानका लागि चलाउँदै आएको अभियान एवं आन्दोलनको पक्षमा हासिल हुन आएको महत्वपूर्ण उपलब्धि मात्र नभएर नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको हितको विषयसँग समेत जोडिएको विषय छ, यसअर्थमा यो फैसला ऐतिहासिक छ,' अध्यक्ष लिम्बूले भने । 


प्रकाशित : माघ २४, २०८० १५:३६
प्रतिक्रिया
पठाउनुहोस्