१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

टोखामा चाकु बनाउने चटारो

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — चाकुका लागि नेपालमै प्रसिद्ध ठाउँ हो टोखा । माघे संक्रान्ति नजिकिँदै गर्दा टोखाका व्यवसायीहरुलाई अहिले चाकु बनाउने चटारोले छोपेको छ । मकर (माघे) संक्रान्तिमा घिउ, चाकु खाने प्रचलनका साथै जाडोयाममा शरीरलाई न्यानो र ऊर्जा दिने भएकोले यहाँका व्यवसायीहरु मसिंरदेखि माघ महिनासम्म चाकु बनाउन व्यस्त हुन्छन् ।

माघे संक्रान्ति आउनु केही दिनअघि नै बजारमा चाकु पर्‍याप्त मात्रामा पुराउनुपर्ने भएकाले मंसिर लाग्नासाथै बनाउन सुरु हुने टोखा चाकु उद्योगका कर्मचारी बताउँछन् ।

चाकु व्यवसायी बुद्ध श्रेष्ठका अनुसार उद्योगमा अहिले दैनिक एक हजार किलो भन्दा बढी चाकु उत्पादन भइरहेको छ । अन्य समयमा परिवारकै सदस्यहरुले चाकु बनाउने गरेपनि मसिंरदेखि माघसम्म भने व्यवसायीहरुले कामदार नै राखेर चाकु उत्पादन गर्छन् ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष चाकुको माग बढेको श्रेष्ठले सुनाए । श्रेष्ठका ४ पुस्ताले चाकु बनाउँदै आइरहेका छन् । टोखा नगरसँग सांस्कृतिक, ऐतिहासिक र पम्परागत रुपमा चाकुको सम्बन्ध रहेकोले मौसमी काम भएपनि गर्दै आएको उनले बताए । ‘पूर्ख्यौली काम र टोखाको इतिहासलाई जोगाउन हामीले चाकु बनाउँदै आएका छौं,’ उनले भने, ‘मेरो परिवारमा सबै दाजुभाइ यसमा लागेका छौं । यसरी लाग्ने हामी चौथो पुस्ता हो ।’

टोखामा हाल एक दर्जनभन्दा बढी चाकु बनाउने उद्योगहरु छन् । ती उद्योगमा सादा, स्पेसल, खुवा चाकु र सुत्केरीका लागि विशेष चाकुहरु बनाइन्छ । बदाम, किसमिसलगायत राखेर बनाइने स्पेसल तथा सुत्केरीका लागि हुने चाकु अर्डर अनुसार मात्र बनाइने श्रेठले बताए । नेवारी समुदायमा चाकुको सांस्कृतिक तथा धार्मिक महत्व रहिआएपनि हाल काठमाडौंभन्दा बाहिरका जिल्लाहरुमा पनि चाकुको माग बढ्दो छ ।


प्रकाशित : पुस २८, २०८० १५:१३
प्रतिक्रिया
पठाउनुहोस्