कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

पोखरामा राष्ट्रसंघ महासचिव गुटेरेसको भव्य स्वागत

तस्बिर : दीपक परियार

पोखरा — नेपाल भ्रमणका क्रममा सोमबार पोखरा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भव्य स्वागत गरिएको छ । सेनाको जहाजमार्फत पोखराको पुरानो विमानस्थलमा ओर्लिएका उनलाई विभिन्न सांस्कृतिक झाँकीले स्वागत गरिएको हो ।

विमानस्थलमा ओर्लिएपछि उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पर्यटनमन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलगायतले स्वागत गरे । उनलाई स्वागत गर्न पोखराका पर्यटन व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि विमानस्थल पुगेका थिए । पञ्चैबाजा, गुरुङ, मगर, नेवार जातिको सांस्कृतिक झाँकीले उनलाई स्वागत गरिएको थियो ।

विमानस्थलबाट उनी सोमबारा बास बस्ने स्थल लेकसाइडको फिस्टेल रिसोर्टमा पुगेका छन् । मंगलबार विहान ६ः३० बजे उनी सेनाकै हेलिकप्टरमा अन्नपूर्ण आधार शिविर पुग्नेछन् । समुद्री सतहबाट ४ हजार १ सय ३० मिटर उचाइमा रहेको आधार शिविरमा उनले जलवायु परिवर्तनले स्थानीयको दैनिक जीविकोपार्जनमा पारेको असरबारे बुझ्नेछन् । स्थानीयले आफ्ना समस्या सुनाउने छन् । छोम्रोङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष जगनरास गुरुङले महासचिव गुटेरेसलाई मायाको चिनोस्वरुप अन्नपूर्ण आधार शिविरको तस्बिर प्रदान गर्ने बताए । ‘उहाँ आउने खबरले हामी निकै उत्साही छौं । तयारी पनि पूरा भएको छ,’ उनले भने, ‘तापक्रम वृद्धिका कारण यस क्षेत्रले भोग्नुपरेको समस्या सुनाउने छौं ।’

आधार शिविरमा उनलाई कास्कीको अन्नपूर्ण गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स्थानीयले स्वागत गर्नेछन् । उनलाई स्वागत गर्न आधार शिविरमा छुट्टै हेलिप्याड बनाइएको छ । पोखराबाट हेलिकप्टरमा कार्पेट पुर्‍याइएको छ । मंगलबार उनी आधार शिविरबाट फर्किएर पोखरा विमानस्थलमा पत्रकार भेटघाटमा सरिक हुनेछन् । त्यसपछि उनी मंगलबार नै लुम्बिनी जाने छन् ।

प्रकाशित : कार्तिक १३, २०८० १५:३१
प्रतिक्रिया
पठाउनुहोस्