कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुम्लामा मार्सी धान रोपाइँ

डीबी बुढा

जुम्ला — जुम्लाको मौलिक मार्सी धान उत्पादन हुने पातारासीस्थित छुमचौर जिउलोमा रोपाइँ सुरु भएको छ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री भीमप्रकाश शर्माले मार्सी धानको बिउ खेतमा रोपेर छुमचौर जिउलोमा यस सिजनको मार्सीधान रोपाइँ सुरु गरेका हुन् ।

पछिल्लो समयमा मार्सी धानमा रोगको संक्रमण बढेको भन्दै किसानहरुले धान रोप्न छोडेपछि पहिलो पटक कृषिमन्त्री खेतमा पुगेर मार्सी धानको उत्पादनमा लाग्न किसानहरुलाई हौसला दिए । मार्सीधान उत्पादनमा गिरावट आएको भन्दै किसानहरुले पछिल्लो समय खेत बाँझो राख्दै आएका थिए । छुमचौर जिउलोमा पछिल्लो समय अधिकतम २० वटा खेतमा मार्सीधानको रोपाइँ हुने गरेको छ । तर बाँकी जमिनमा किसानहरुले सिमी, मकै, कोदो, चिनो, कागुनो, जौ, गहुँ र आलु खेती गर्न थालेका छन् । यस क्षेत्रलाई मार्सीधान फल्ने संसारकै उच्च स्थान भनेर सामान्य ज्ञानहरुमा समेटिएको छ । तर वर्षेनि खेतहरु बाँझो हुदै जाँदा किसानहरु मार्सीधानको खेती छोड्न थालेको पातारासी ३ की ललिता बुढा बताउँछिन् ।

यसैबीच खेतमा पुगेका प्रदेशमन्त्री मार्फत् स्थानीय किसानहरूले छुमचौर जिउलोमा मार्सीधान लहलहाउने गरी योजना बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । कृषिमन्त्री शर्माले भने मार्सीधानको जगेर्ना गर्नु सबैको दायित्व हुने बताए । ‘मार्सीधानको माग पनि अत्यधिक छ । मूल्य पनि उच्च नै छ । किसानले गुणस्तरीय मार्सीधान उत्पादन गर्नुपर्ने देखिन्छ । जसका लागि कर्णाली प्रदेश सरकार साथ दिन तयार छ ।’ समुन्द्री सतहदेखि २ हजार ८ सय ५० मिटर उचाइमा रहेको यस क्षेत्रमा हुने मार्सीधानको खेतीलाई किसानहरूले पछिल्लो समय पर्यटकीय गन्तब्यको रुपमा पनि चिनाउने प्रयास गरिरहेका छन् ।

प्रकाशित : जेष्ठ ७, २०८० १९:४०
प्रतिक्रिया
पठाउनुहोस्