हिउँको पिच, हेर्दा सुन्दर तर हिँड्न कठिन [फोटोफिचर]

डीबी बुढा

जुम्ला — जुम्लाको सदरमुकाम खलंगादेखि पातारासी गाउँपालिका जाने सडकमा हिउँ जमेर पिच जस्तै बनेपछि यात्रा निकै असहज बनेको छ । पातारासीको उर्थुचौताराको उकालो काटिसकेपछि गाउँपालिका केन्द्र जोड्ने सडकमा हिउँ जमेर ओहोरदोहोर गर्न असहज बनेको हो ।

बीच सडकमै हिउँ जमेर चिप्लो बरफ बनेपछि गाडी गुडाउँदा पनि चिप्लिन थालेपछि यात्रा जोखिमयुक्त बनेको छ । जुम्ला पातारासी गाउँपालिकाका स्थानीयहरू तीन महिना देखि नै हिउँको पिचमा यात्रा गर्न बाध्य छन् । पहिले सडकमा आएको पानीले बरफ जमेको सडकमा हिमपात भएपछि सडक पूरै हिउँले ढाकिएको छ । सेताम्ये हिउँ सुन्दर देखिए पनि पैदल हिँड्ने र सवारी कुदाउनेहरूलाई भने कठिन यात्रा भएको स्थानीयहरू बताउँछन् । जसकारण ठूला मालवाहक गाडी चल्न सकेका छैनन् । मोटरसाइकल र साना सवारीका लागि भने जोखिमपूर्ण यात्रा गर्नु परेको छ । हिउँमा यात्रा गर्दा अहिलेसम्म २ दर्जनभन्दा बढी मोटरसाइकल चिप्लिएर क्षति पुगेको स्थानीयहरूले बताएका छन् ।

यसैबीच पातारासीका बासिन्दाहरूले तत्काल बरफमाथि माटो राखेर भए पनि यात्रा सहज बनाउन आग्रह गरिरहेका छन् । पातारासी ३ का भक्तबहादुर बुढाका अनुसार पातारासीको उर्थुचौताराको उकालो काटिसकेपछि हिउँ जमेर पिच जस्तै बनेको छ । जहाँ प्राय: घाम नलाग्ने हुँदा तत्काल हिउँ पग्लिने अवस्था नरहेको बुढाले बताए ।


प्रकाशित : माघ २०, २०७९ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्

बास्केटबलमा एक्सेल्सियर विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — आयोजक द एक्सेल्सियर स्कुलले नवौं एक्सेल्सियर कपको सिनियर ब्वाइज बास्केटबलमा शुक्रबार जित पाएको छ । घरेलु कोर्टमा एक्सेल्सियरले पुष्पसदनलाई २९–२१ स्कोरले पराजित गर्‍यो । एक्सेल्सियरका रुसिब मुनिकरले ११ स्कोर गरे ।

जेनिथले ओएसिसलाई ३७–२६ ले, रातो बंगलाले एलआरआईलाई १७–१२ ले र रेडियन्ट पब्लिकले स्वर्णिमलाई ३०–९ स्कोरले हराए । जेनिथका सुशील शाहीले २०, रातो बंगलाका जेबी आचार्यले १४ र रेडियन्टका सुवास गौतमले २० स्कोर जोडे ।

गर्ल्स बास्केटबलमा द चाँदबागले न्यु जेनिथलाई १०–४, काष्ठमण्डपले स्वर्णिमलाई १७–७ र रेडियन्टले रिब्सलाई ८–१ स्कोरले पन्छाए । चाँदबागकी इभ थेबेले ४, काष्ठमण्डपकी रिया राईले ११ र रेडियन्टकी दिव्यांसा कार्कीले ६ स्कोर जोडेका थिए ।

यू–१२ ब्वाइज फुटबलमा आयोजक एक्सेल्सियरले दोहोरो जित निकाल्यो । एक्सेल्सियरले काभ्यालाई १–० र काष्ठमण्डपलाई ३–२ गोलले हराए । काभ्याविरुद्ध आयान महर्जनले निर्णायक गोल गरे । अर्को खेलमा एक्सेल्सियरका साहिलराज थापाले २ र कृष पाण्डेले १ गोल तथा काष्ठमण्डपका सुप्रिम बोहरा र सहज ढकालले १–१ गोल गरेका थिए ।

यू–१६ ब्वाइज फुटबलमा एलआरआईले काभ्यालाई ४–१ ले, हार्टल्यान्ड एकेडेमीले काष्ठमण्डपलाई ३–० ले र बृहस्पति विद्यासदनलाई १–० ले, एनआईसी एकेडेमीले विद्या संस्कारलाई ४–३ ले, रिब्स ‘बी’ ले एक्सेल्सियर नीलोलाई ३–१ ले र होलीभिजनले बृहस्पतिलाई ६–० गोलले हराए । न्यु इरा र ग्रिनफिल्डले गोलरहित बराबरी खेले ।

प्रकाशित : माघ २०, २०७९ २०:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×