१२ वर्षे जात्राको बिदाइ [तस्बिरहरू]

प्रशान्त माली, तस्बिर : केशव थापा

ललितपुर — साउन १० गते गठेमंगल घण्टाकर्ण चतुर्दशीबाट सुरु भएको ठेचोको नवदुर्गा भवानी देवी गुठीको १२ वर्षे जात्रा आइतबार धुखः नामक नाच नचाएपछि सम्पन्न भएको छ । नाच सम्पन्न भएसँगै ठेचो बस्तीमा निषेध गरिएको नवदुर्गा गुठीको बाजाबाहेक बाजा बजाउन, घण्टा, सिठ्ठी, ताली बजाउन, खुट्टा झुन्ड्याएर बस्न, बिहे, भोजभतेर गर्न, राति हिँडडुल र ‘रात बसाल्ने गरी पाहुना सत्कार गर्न’ नमिल्ने परम्परा फुकुवा भएको छ ।

नवदुर्गा १२ वर्षे जात्रा अवधिभर विभिन्न मुख्य २८ वटा पर्वपूजा सञ्चालन गर्नुपर्ने नियम छ । तीमध्ये कुल्पी यज्ञ, पाटन दरबार क्षेत्र, सुनाकोठी, ठेचो, चापागाउँ, बुङमतीमा नृत्य प्रस्तुत, स्वः सि (चापको काठ) लिन जाने, नवदुर्गाको मूल डबलीमा छाप्रो बनाई देवता प्रतिस्थापन, दे भ्वए (देश भोज) भनी ठेचो र सुनाकोठीवासीलाई भोज खुवाउनेलगायत छन् ।

नवदुर्गा नाचमा १३ वटा देवगण छन् । भैरव, काली, बाराही, कुमारी, गणेश, ब्रम्हायणी, महादेव, महालक्ष्मी, विष्णुदेवी, सिघिनी, बाघिनी, इन्द्रायणी र श्वेत भैरव । परम्पराअनुसार गणेश हुने देवगणले तन्त्रसाधना गरिएको तिलक लगाइदिएपछि सबै देवगणमा देवता चढेको विश्वास गरिन्छ । देवगणहरुको तान्त्रिक र यान्त्रिक तवरबाट छुट्टाछुट्टै नृत्य हुने गर्छ । इन्द्रायणी देवीको भने नृत्य गराइँदैन । श्वेत भैरव १२ वर्षमा एकपटक मात्र नृत्य गराइन्छ । प्राय: श्वेत भैरव नाच लक्ष्मी पूजाको दिन नचाउँदै आएको पाइन्छ ।

नेपाल मण्डलभित्र काठमाडौंमा भद्रकाली खड्ग सिद्धि नाच, पचली भैरव, नरदेवी, दी प्याँख (देवी नाच), कीर्तिपुरको बाघ भैरव, भक्तपुरको नवदुर्गा, बोडेको नीलबराही, नगदेशको महाकाली, ललितपुरको हरिसिद्धि भवानी देवी, खोकनाको रुद्रायणीलगायत नाचको १२ वर्षे जात्रा मनाइन्छ । जात्रा सञ्चालन गर्न गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको संयोजकत्वमा मूल जात्रा व्यवस्थापन समिति गठन गरिएको छ । नवदुर्गा गुठीका नाइके भक्तलाल मालीले सबैको साथ समर्थनले जात्रा सफलतापूर्वक सम्पन्न भएको बताए । ‘प्रत्यक्ष र अप्रत्यक्षरुपमा जात्रासँग जोडिएका सबै जना धन्यवादका पात्र हुनुहुन्छ,’ उनले भने ।


प्रकाशित : माघ ८, २०७९ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्

गुणस्तर विकास र रोजगारमूलक शिक्षा प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री गिरी

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले शैक्षिक गुणस्तर विकास र रोजगारमूले शिक्षाको विकास प्रदेश सरकारको प्राथमिकता रहेको बताएका छन् । रुपन्देहीको सियारीमा रहेको पब्लिक माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको आइतबार उद्घाटन गर्दै मुख्यमन्त्री गिरीले विद्यालय तहबाट नै गुणस्तरीय र रोजगारमूलक शिक्षा दिन आवश्यक पहल थाल्ने बताए ।

उनले शैक्षिक बेरोजगार हटाउन र देशभित्रै स्वरोजगार बनाउन प्रदेशले आफ्नै प्राविधिक विश्वविद्यालय खोलेको समेत जानकारी दिए । ‘अबको शिक्षा स्वदेशमै रोजगार बन्ने र समृद्धि हासिल गर्ने खालको हुनुपर्छ । यसमा सचेत छौं,’ उनले भने ।

मुख्यमन्त्री गिरीले शैक्षिक क्षेत्रलाई समुन्नत बनाउन शैक्षिक गुणस्तर विकास र पूर्वाधार विकासलाई एकसाथ अगाडि बढाउने आफ्नो योजना रहेको बताए । प्रदेश सरकार शैक्षिक गुणस्तर विकासका लागि अग्रसर रहने बताउँदै दक्ष जनशक्ति र स्थानीयस्तरमा खपत हुने जनशक्ति उत्पादनका लागि स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने योजना बनाएको जानकारी दिए ।

मुख्यमन्त्री गिरीले शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बताउँदै शिक्षकहरुलाई समेत विद्यालयको शैक्षिक गुणस्तर विकासमा ध्यान दिन आग्रह गरे । विद्यालयको स्वर्ण महोत्सवको अवसरमा मुख्यमन्त्री गिरीले स्वर्ण स्तम्भ, प्राविधिक भवन उद्घाटन गरेका थिए । विद्यालयले माघ १२ गतेसम्म विभिन्न कार्यक्रम गरी महोत्सव मनाउँदै छ ।

प्रकाशित : माघ ८, २०७९ १८:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×