कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रूरू क्षेत्रमा मकर संक्रान्ति मेला [फोटोफिचर]

शब्द/तस्बिर : माधव अर्याल

रुरुक्षेत्र (पाल्पा) — मकर संक्रान्ति रूरू क्षेत्रमा नुहाउने र मेला भर्नेको आइतबार बिहानैदेखि भीड लागेको छ । संक्रान्ति नुहाउन पाल्पाका साथै गुल्मी, स्याङ्जा, अर्घाखाँचीलगायत मुलुकका विभिन्न भागका साथै भारतबाट समेत श्रद्धालु आएका छन् । तीन जिल्लाको संगमस्थल रिडी रूरू क्षेत्रमा तीन दिनसम्म मेला लाग्ने ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टराईले बताए । उनका अनुसार जेठी, माइली र कान्छी गरी तीन दिनसम्म काली गण्डकीमा नुहाउने र ऋषिकेशव मन्दिरमा दर्शन गर्ने गर्छन् । रूरू क्षेत्रमा माघे संक्रान्तिमा स्नान गरेमा पुण्य प्राप्त गरिने जनविश्वास छ ।

नुहाउने र तानसेन नगरपालिका–१४, अर्गलीतर्फ रहेको ऋषिकेशव मन्दिरको दर्शन गर्ने प्रचलन छ । नेपालसहित भारतबाट समेत भक्तजन आउने गरेको उनले बताए । ‘श्रद्धालु भक्तजन आउने र जाने क्रम चलिरहने परम्परा नै हो,’ उनले भने, ‘नेपालका मात्र होइन, भारतका विभिन्न स्थानबाट समेत श्रद्धालुहरु रिडी रूरू क्षेत्रमा आएका छन् ।’ संक्रान्तिको केहीदिन अघिदेखि नै चहलपहल बढेको थियो । श्रीमद्भागवत् ज्ञान महायज्ञसमेत यहीं चलेको छ ।

मुक्तिनाथबाट बग्दै आउने कालीगण्डकी नदीमा स्याङ्जातर्फ जान तीनमुखे पुल निर्माण भएको छ । पाल्पा, गुल्मी र स्याङ्जातर्फ जाने तीनमुखे पुलमासमेत भीड लागेको छ । कालीगण्की जलविद्युत् आयोजना मिर्मिमा पानी थुनिएकाले यहाँ नदी सानो छ । तानसेन नगरपालिका–१४, अर्गलीका पूर्ववडाध्यक्ष कमल रानाले संक्रान्ति नुहाउन र ऋषिकेशव दर्शन गर्न आउने भक्तजनलाई तीनमुखे पुलले निकै सहज भएको छ ।

धार्मिक आस्थाका कारण रूरू क्षेत्रमा मकर स्नान गर्ने, जप, पूजा, हवन, दान तथा पितृश्राद्धसमेत गर्ने गरेको रुरुक्षेत्र गौशालाका संचालक शंकर गिरीले बताए । रूरू क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्व भएकाले मेला भर्न विभिन्न स्थानबाट आउने गर्छन् । पाल्पातर्फ रहेको प्रसिद्ध ऋषिकेशव मन्दिरमा स्याङ्जा र गुल्मीमा मेला भर्न आउने दर्शनार्थी पूजा गर्न घुँईचो लाग्ने गर्छ ।सोह्रौ शताब्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा साक्षात् भगवान ऋषिकेशवको मूर्ति फेला पारेका थिए । सोही मूर्तिलाई प्रतिस्थापन गरेको भन्ने जनविश्वास छ । कालीगण्डकी नुहाउन र ऋषिकेश, गायत्रीमातालगायत विभिन्न देवालयहरूको दर्शन गर्ने गरेको तानसेन–१४, अर्गलीका वडाध्यक्ष शोभाखर भट्टराईले बताए ।

ऋषिकेशव मन्दिर र यस क्षेत्रलाई रूरू कन्याको जन्मस्थल पनि भनिन्छ । मणिमुकुन्द सेनवाट ऋषिकेशवको मूर्ति प्राप्त गरी स्थापना गरेका हुन् । प्रसिद्ध ऋषिकेशव मन्दिरले धार्मिक पर्यटकको लागि आर्कषण बन्न सक्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भट्टराईले बताए । रुरु मेलाकै अवसरमा पाल्पा, गुल्मी र स्याङ्जा क्षेत्रमा व्यापारिक स्टलसमेत राखिएको छ । गुल्मी र पाल्पातर्फ गरी २ सय बढी स्टल छन् । यस वर्ष स्याङ्जातर्फ पनि केही स्टल, भलिबल प्रतियोगिता राखिएको छ । रुरु क्षेत्रमा होटल, घरेलु सामग्री, सुपो, डालो, राडी, पाखी, फेन्सीहरु स्टलमा छन् । ‘व्यापारिक स्टल भयो भने मात्र मेला चलाएजस्तो हुने रहेछ,’ अर्गलीका स्थानीय तथा मन्दिर व्यवस्थापन समितिका दुर्गादत्त रेग्मीले भने, ‘गुल्मीतर्फ सांस्कृतिक कार्यक्रम, पाल्पा र स्याङ्जामा व्यापारिक स्टल बनेको छ ।’रूरू क्षेत्रमा लागेको मेलामा तीन दिनमा एक लाख बढी भक्तजन आउने अनुमान छ । पहिलो दिनलाई जेठी संक्रान्ति भनिन्छ । पहिलो दिन बिहानैदेखि स्नान गर्ने भक्तजनहरूको घुइँचो लाग्ने गर्छ । दोस्रोलाई माहिली र तेस्रो दिनलाई कान्छी संक्रान्ति भनिन्छ । नेपालका चार धाम मध्येको एक रूरू क्षेत्रलाई भन्ने गरिन्छ । मेलामा गुल्मीको थोर्गा लगायतका किसानले उखुबाट बनाइएको गुँड, खुदो, चाकु र स्थानीय उत्पादनका स्टल राखेका छन् । संक्रान्तिको अवसरमा व्यापार गर्न पाल्पा, बागलुङ, रूकुम, रोल्पा, हुम्ला, जुम्ला, मुस्ताङलगायत स्थानबाट घरेलु सामग्री बिक्रीका लागि रिडीमा आएका छन् । पाल्पाको रैनादेवी छहरा–६, जुठापौवाका जीतबहादुर सोमैका अनुसार तीन दिनसम्म लाग्ने मेलामा सुपो, डालो बिक्री हुने बताए । यसबाहेक रोल्पा, रूकुम सल्यान, प्यूठान, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङलगायत जिल्लाका व्यापारीहरूले जाडो छल्नुका साथै त्यस क्षेत्रमा पाइने ऊनीजन्य वस्तुहरू ल्याएका छन् । मुस्ताङबाट उनीको सामान, राडीपाखी, कम्बल ल्याएको तर अघिल्लो वर्षमा भन्दा कम व्यापार भएको टेकबहादुर गुरुङले बताए । पूर्व रुकुमको विभिन्न गाउँबाट राडी पाखी लिएर आएका छन् ।


प्रकाशित : माघ १, २०७९ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्