कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

गृहमन्त्रीको विरोधाभासी व्यवहार

पाठक पत्र

गृहमन्त्री रवि लामिछानेज्यू, तपाईंलाई धेरैले देशको भावी नेतृत्वकर्ता, सुशासन र समृद्धिको संवाहकका रूपमा हेरेका छन् । भलै त्यसमा सत्यता नभएकै किन नहोस् ।

तर तपाईंलाई थाहा छ कि छैन आजका दिनसम्म जुन प्रकारको घमण्ड, शैली, भाव, अहं र आक्रामकता तपाईंमा देखिन्छ, त्यो एउटा असल र सफल नेतृत्वकर्ताको गुणभित्र पर्दैन । विरोधीलाई पनि साथमा लिएर हिँड्ने क्षमता र गुण भएको व्यक्ति नै सफल नेतृत्वकर्ता बन्न सक्छ, जसमा प्रतिशोध र बदलाको भावको क्लेश मात्र पनि हुनु हुँदैन । होला कैलाश सिरोहिया दोषी नै हुनुहोला । त्यसमा छानबिन गर्ने उपयुक्त विधि, प्रक्रिया र शैली अवलम्बन गर्नै पर्छ । तपाईं भने प्रामाणिक रूपमै अनेक विवादमा मुछिनुभएको छ– दोहोरो नागरिकता, एकै समयमा दुई देशका राहदानी होस् वा सहकारीको बचत अपचलन । तर झन्डा हल्लाउँदै चरित्रका ठूलाठूला कुरा गरिरहनुभएको छ । अनि सिरोहियालाई चाहिँ तपाईंको अनियमितताबारे समाचार लेखेकै भरमा सामान्य सोधपुछसमेत नगरी प्रहरी लगाएर समात्नुपर्ने ? तपाईंकै मन्त्रालय अन्तर्गतका प्रहरी र प्रशासनका कर्मचारीको गल्ती, कमजोरी (कतिपय अवस्थामा नियतवश), लापरबाही र गैरजिम्मेवारीको सिकार सिरोहिया हुनुभएको हो जस्तो देखिन्छ । प्रशासनिक गल्ती कमजोरी (चाहे त्यो भूलवश वा नियतवश नै भएको किन नहोस्) को सिकार हजारौं जनता वर्षौंदेखि भइरहेका छन् ।

गृहमन्त्रीज्यू, तपाईंका गतिविधिले तपाईंलाई मिडियाको हेडलाइन बनाइरहेको छ, मिडिया कभरेज पाइरहनुभएको छ र समग्रमा तपाईंको समाचार बिकिरहेको छ । तर यी सबै कुराको सम्बन्ध तपाईं जुन उद्देश्य (सुशासन, भ्रष्टाचाररहित समाज, समृद्धि र विकास) का साथ राजनीतिमा आउनुभएको हो, त्यससँग कति पनि मेल खाइरहेको छैन । सदनमा तपाईंले भन्नुभएको थियो, ‘मलाई खेल्न र हार्न केही पनि समस्या छैन तर खेल फेयर हुनुपर्छ । फल खेलेर हराएको मलाई स्वीकार्य छैन ।’ अरूलाई यस्तो उपदेश दिने व्यक्तिले चाहिँ के फेयर नखेले पनि हुने हो ? फल खेले पनि स्विकारिदिनुपर्ने हो ?

रामहरि खड्का, हेटौंडा

प्रकाशित : जेष्ठ १३, २०८१ ०६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?