कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बाल विकास कक्षाका समस्या

असल अभ्यासहरूको प्रवर्द्धन गरी बाल अधिकार उपभोगको अवस्थामा सुधार ल्याउन प्रारम्भिक बाल विकास कक्षाको प्रभावकारी व्यवस्थापनको विकल्प छैन । यसका अलावा अनुगमन गर्ने जिम्मेवारी पाएका निकायले समेत तदारुकतासाथ जिम्मेवारी पूरा गरी सुधारका लागि उचित पृष्ठपोषण प्रदान गर्ने आफ्नो भूमिकालाई प्रभावकारी बनाउन जवाफदेही बन्नु आवश्यक छ ।

नेपालमा प्रारम्भिक बाल विकास शिक्षाको सुरुवात सन् १९५० मा काठमाडौंमा मन्टेश्वरी स्कुल स्थापना र केही जिल्लामा स्थानीय असहाय बालबालिकाका लागि बाल मन्दिरको स्थापनासँगै भएको पाइन्छ । बालबालिकालाई सुरक्षित र मायालु वातावरणमा खेल तथा मनोरञ्जनमार्फत विभिन्न किसिमका जीवनोपयोगी सीप सिकाउन यस्ता बालकक्षा उपयोगी भएका छन् ।

बाल विकास कक्षाका समस्या

राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले चार वर्ष पूरा भएका बालबालिकाको सर्वांगीण विकासमा केन्द्रित एक वर्षको प्रारम्भिक बाल विकास शिक्षाको व्यवस्था गरे पनि यसको नीतिगत व्यवस्था र वर्तमानको अभ्यासमा भने ठूलो खाडल देखिन्छ । संस्थागत विद्यालयमा मन्टेश्वरी, प्ले ग्रुप, नर्सरी, एलकेजी, यूकेजी आदि नाममा सञ्चालित बाल विकासमा दुईवर्षे उमेरदेखि नै भर्ना गरी झन्डै चार वर्षको बाल विकास कक्षा सञ्चालनमा छन् । प्रारम्भिक बाल विकास केन्द्रको राष्ट्रिय न्यूनतम मापदण्डमा बढीमा २५ जना विद्यार्थी राख्ने प्रावधान रहे पनि अधिकांश बाल विकास केन्द्रमा सो भन्दा बढी विद्यार्थी पाइन्छन् । अधिकांश सामुदायिक विद्यालयका बाल विकास कक्षा सिकाइका लागि उपयोगी बन्नुको सट्टा भीडभाड, अव्यवस्थित र तनावपूर्ण देखिन्छ ।

खेल्न पाउनु पनि बालबालिकाको अधिकार हो । उनीहरू खेलमैदान, कक्षाकोठाको उचित व्यवस्थापन, सन्दर्भ सामग्रीको उपलब्धताबिना साँघुरा कोठामा लामो समयसम्म कोच्चिएर बस्नुपर्ने बाध्यतामा छन् । साना बालबालिकालाई राम्रो हेरविचार र उचित स्याहारको आवश्यकता पर्ने भएकाले बाल विकास कक्षामा एक जना बाल विकास सहयोगी कार्यकर्ताको उपस्थिति मात्र पर्याप्त छैन भन्ने सम्बन्धित क्षेत्रमा जानकारको गुनासा छन् ।

तालिम प्राप्त जनशक्तिका साथै उपयुक्त भौतिक पूर्वाधार र बाल मनोभावनाबमोजिम कार्य गर्न सक्ने अर्को एक जना ‘आया’ को आवश्यकता खड्किएको उनीहरू बताउँछन् । बाल विकास सहयोगी कार्यकर्ताले भने बालबालिकालाई तोकिएको समयमा सफा पोसाकमा विद्यालयमा पठाउने नगरेको, घरमा शैक्षिक गतिविधिमा चासो लिने नगरेको, आवश्यक शैक्षिक सामग्री बन्दोबस्त नगरिदिएको, बालबालिकाका सरसफाइमा पर्याप्त ध्यान नदिएको, विद्यालय समय सकिनेबित्तिकै लिन नआएको, बालबालिकालाई नियमित विद्यालय पठाउने नगरेको जस्ता गुनासो गर्छन् । अपवादबाहेकका प्रारम्भिक बाल विकास कक्षा बालबालिकामैत्री छैनन् ।

यस्ता गुनासा सम्बोधन गरी बाल विकास कक्षा प्रभावकारी बनाउन आयाको व्यवस्था गर्ने, अभिभावकसँग नियमित अन्तरक्रिया तथा सचेतना कार्यक्रम सञ्चालनमा ल्याउने गर्नुपर्छ । यसले अभिभावक, बाल विकास सहयोगी कार्यकर्ता र समग्र विद्यालय व्यवस्थापनबीच पुलको काम गर्न सक्छ । यसले सम्भवतः विद्यार्थीलाई घाउचोट लाग्नबाट जोगाउन, दिसापिसाब गर्न/गराउन, खाजा/खानाको प्रबन्ध मिलाउन र उचित रेखदेख गर्न सहज वातावरणको विकास गर्छ । त्यसैले अहिले देखिएको सामुदायिक विद्यालयका बाल विकास कक्षालाई व्यवस्थित बनाउन एउटा उपाय हो, ‘आया’ व्यवस्थाको कार्यान्वयन ।

जसरी २०६१ सालमा बाल विकास सहयोगी कार्यकर्ताको व्यवस्था गर्ने प्रावधानले सामुदायिक प्रारम्भिक बाल विकास शिक्षामा एउटा आशा जगाउने काम भयो, त्यसरी नै छिटोभन्दा छिटो आयाको प्रबन्ध मिलाउनुपर्छ । यसले सामुदायिक बाल विकास कक्षामा बालबालिका पठाउने अभिभावको विश्वास जित्न र सहयोगी कार्यकर्ताको अपेक्षा पूरा गर्न धेरै हदसम्म मद्दत पुग्नेछ । केही स्थानीय सरकारले थालनी गरेका शैक्षिक सुधारका महत्त्वपूर्ण पहलकदमीले समेत बालबालिकाको हकअधिकार स्थापित गर्न मद्दत पुगिरहेको अवस्था छ ।

तसर्थ असल अभ्यासहरूको प्रवर्द्धन गरी बाल अधिकार उपभोगको अवस्थामा सुधार ल्याउन प्रारम्भिक बाल विकास कक्षाको प्रभावकारी व्यवस्थापनको विकल्प छैन । यसका अलावा अनुगमन गर्ने जिम्मेवारी पाएका निकायले समेत तदारुकतासाथ जिम्मेवारी पूरा गरी सुधारका लागि उचित पृष्ठपोषण प्रदान गर्ने आफ्नो भूमिकालाई प्रभावकारी बनाउन जवाफदेही बन्नु आवश्यक छ ।

प्रकाशित : असार ३, २०८१ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?