२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

अंग प्रत्यारोपणमा आत्मनिर्भरको बाटो

सबै प्रदेशमा प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न सकियो भने मिर्गौला फेल भएका व्यक्तिका लागि सुखद समाचार बन्न सक्छ । सबै क्षेत्रबाट सक्रिय सहयोग पाए विदेशमा जस्तै ८० प्रतिशत प्रत्यारोपण नेपालमा पनि मस्तिष्क मृत्युपश्चात् हुने अंग दानबाट सम्भव हुनेछ ।

सन् २००८ तिर विश्व स्वास्थ्य संघठन (डब्लूएचओ) ले नेपाललाई झस्काउने खालको एक अध्ययन प्रतिवेदन सार्वजनिक गर्‍यो । जसमा भनिएको थियो– नेपालजस्तो देशमा मिर्गौला फेल भएका ८० प्रतिशतभन्दा बढी बिरामी केही महिनामै मृत्युको सिकार हुनेछन् ।

अंग प्रत्यारोपणमा आत्मनिर्भरको बाटो

सीमित डायलसिस सेवा हुनु, महिनाको करिब ५० हजार यसैमा खर्च लाग्नु र मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध नहुनु जस्ता कारणले डब्लूएचओको प्रतिवेदन धेरै हदसम्म सही थियो ।

नेपालमा मिर्गौला प्रत्यारोपण सेवा दिगो रूपमा सुरु भएको १६ वर्ष भइसक्यो । स्वास्थ्य अर्थशास्त्रको सन्दर्भमा डायलसिस जस्ता अन्य उपचारभन्दा मिर्गौला प्रत्यारोपणले उत्कृष्ट नतिजा दिनुका साथै दीर्घकालीन जीवनको गुणस्तर सुधार गर्छ । अंग दाताबिना प्रत्यारोपण कल्पना नै गर्न सकिँदैन । नेपालमा स्वस्थ जीवित व्यक्ति र मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्रत्यारोपण गर्न मिल्ने व्यवस्था छ ।

सडक दुर्घटनाबाट नेपालमा वार्षिक २ हजार ५ सय जनाको ज्यान जान्छ । जसमध्ये एक हजार जनाको मस्तिष्क मृत्यु हुने अनुमान छ । जलेर खरानी भई वा गाडेर खेर जाने अंग समयमै दान भई अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सके अंग नपाएर प्रत्यारोपण गर्नबाट वञ्चित बिरामीलाई ठूलो राहत हुने थियो । प्रधानमन्त्री पुष्पकमल दाहालका साथै कतिपय राजनीतिज्ञ, कलाकार, पत्रकार, समाजसेवीले मस्तिष्क मृत्युपश्चात् हुने अंग दानका लागि घोषणा गरिसक्नुभएको छ । तर आम सर्वसाधारणमा मस्तिष्क मृत्युपश्चात्को अंग दानबारे पर्याप्त जनचेतना नहुँदा यो कार्यले गति लिन सकेको छैन ।

चुनौतीपूर्ण सुरुवात

मस्तिष्क मृत्यु, अंग दान र प्रत्यारोपणको अवधारणा ल्याउन विभिन्न चुनौती सामना गर्नुपरेको थियो । नेपालमा मस्तिष्क मृत्युको सम्भावनाबारे प्रश्न उठाउने धेरै थिए र त्यसका लागि विभिन्न क्षेत्रका व्यक्तित्व, राजनीतिज्ञ, कर्मचारी, कलाकार, समाजसेवी, पत्रकार तथा विभिन्न संस्थाका सदस्यसँग निरन्तर संवाद गरियो । मस्तिष्क मृत्यु घोषणा गर्ने विधि ऐनमै हुनुपर्ने भएकाले छुट्टै एक कमिटी गठन गराउनुपर्ने भयो । त्यसका लागि स्वास्थ्य मन्त्रालयले नेतृत्व लिनु उचित हुने हुँदा तत्कालीन स्वास्थ्य सचिव प्रवीण मिश्रलाई आग्रह गरियो । उहाँले तत्कालै अतिरिक्त स्वास्थ्य सचिव तीर्थराज बुर्लाकोटीको संयोजकत्वमा १० सदस्यीय मस्तिष्क मृत्यु घोषणा गर्ने कार्यविधि बनाउन समिति बनाइदिनुभयो ।

समितिमा डा. उपेन्द्र देवकोटा, डा. पवन सुल्तानिया, डा. वसन्त पन्त, डा. जेपी अग्रवाल र डा. डीबी शाह, डा. ब्रम्हदेव झा, डा. मोदनाथ मरहट्टा, डा. भगवान कोइराला तथा कानुन विज्ञ इन्दिरा दाहाल हुनुहुथ्यो । समितिमा प्रत्यारोपण गर्न सक्ने चिकित्सक बसे स्वार्थ बाझिने भएकाले पंक्तिकार समितिबाहिरै बसेर सहयोग गर्ने निर्णय भयो । अमेरिका, बेलायत तथा युरोप र एसियाको मस्तिष्क मृत्यु घोषणा गर्ने कार्यविधिको गहिरो अध्ययन गरेर कार्य समितिमा प्रस्तुत गर्ने काम गरियो । समितिमा छलफल भई नेपाललाई सुहाउँदो मस्तिष्क मृत्यु घोषणा गर्ने कार्यविधि तयार भयो ।

मस्तिष्क मृत्युसम्बन्धी छुट्टै ऐन ल्याउनुभन्दा प्रत्यारोपण ऐनमा भएका केही हरफ संशोधन र विस्तार गर्दा छिटो हुने देखियो । तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, तत्कालीन मन्त्रीहरू, मुख्यसचिव लीलामणि पौडेल लगायतलाई डाकेर मस्तिष्क मृत्युसम्बन्धी अन्तरक्रिया कार्यक्रम राखियो । बेलायत, अमेरिका तथा भारतका प्रख्यात प्रत्यारोपण विज्ञसँग ३ पटकसम्म अन्तर्राष्ट्रिय स्तरको कार्यशाला गरियो । कार्यविधि अनुमोदनका लागि महिला, बाल विकास तथा सामाजिक समितिका अध्यक्ष रञ्जु झाको समितिमा पेस भयो । तत्कालीन सचिव सोमबहादुर थापाको सहयोगमा संसदीय समितिबाट निरन्तर छलफलछि अनुमोदनका लागि संसद्मा पुग्यो । संसद्बाट धेरै बाधा अड्चन नभई २०१६ फेब्रुअरीमा अनुमोदन भयो । ऐनमा समावेश गर्नका लागि पंक्तिकारको टोली ५० पटकसम्म संसद् धाउनुपरेको थियो ।

मस्तिष्क मृत्युको घोषणा, अंग दान र अंग वितरण नियमावली बनाउन तत्कालीन कानुन सचिव कोमलशाली घिमिरेले महत्त्वपूर्ण भूमिका खेल्नुभयो । यसको ऐन, नियमावली बनाउन ८ वर्ष लाग्यो । २०१६ डिसेम्बरमा कलेजो प्रत्यारोपण तयारी भइरहेको थियो, त्यसका लागि पनि नियमावली संशोधन आवश्यक थियो । तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको सहयोगमा नियमावली बन्यो । नेपालमै कलेजो प्रत्यारोपण थालनी गरियो । २०१७ अप्रिलमा पहिलो पटक मस्तिष्क मृत्युको घोषणा भई अंग दान भयो र दुई जनाको मिर्गौला प्रत्यारोपण सम्भव भयो । ८ वर्षको निरन्तर प्रयासपछि मिर्गौला र कलेजो प्रत्यारोपण भइसकेको छ । मुटु, फोक्सो, प्यान्क्रियाज, सानो आन्द्रालगायत विभिन्न अंगको प्रत्यारोपण सम्भव हुने अवस्था सिर्जना छ । मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला प्रत्यारोपण गर्नुभएका सबै १० जना स्वस्थ जीवन बिताइरहनुभएको छ ।

के हो मस्तिष्क मृत्यु ?

मस्तिष्क मृत्यु (ब्रेन डेथ) भन्नाले मस्तिष्क स्टेम (ब्रेन स्टेम) को मृत्यु सम्झनुपर्छ । सो शब्दले मस्तिष्कको ग्रहण गर्ने (रिसेस्टिभ) र प्रतिक्रिया दिने (रेस्पोन्सिभ) क्रियाकलापमा अप्रत्यावर्तनीय (इरिभर्सेबल ड्यामेज) क्षति भएको अवस्थालाई जनाउँछ । मस्तिष्क मृत्यु भएका १ जनाबाट ८ जनाको ज्यान बचाउन सकिन्छ । मृतकबाट दान गर्न सकिने ८ प्रमुख अंग छन्– दुईवटा मिर्गौला, दुईवटा फोक्सो, एउटा कलेजो, एउटा मुटु, एउटा प्यान्क्रियाज र एउटा सानो आन्द्रा । वरिष्ठ चिकित्सक र एनेस्थेसियोलोजिस्ट वा इन्टेन्सिभिस्टले ६ घण्टाको फरकमा बिरामीको परीक्षण दुई पटक गरेर मात्र मस्तिष्क मृत्यु घोषणा गर्न पाउँछन् । मस्तिष्क मृत्यु निर्क्योल गर्ने प्रयोजनका लागि प्रारम्भिक स्वास्थ्य परीक्षण र मस्तिष्क स्टेम प्रतिक्रियाको परीक्षण भइसकेपछि मात्र श्वासप्रश्वास बन्द भएको परीक्षण गर्नुपर्नेछ ।

मस्तिष्क मृत्यु दान कार्यक्रमको समन्वय इकाइ सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भवनमा छ । यो इकाइले नेपालको प्रत्यारोपण ऐन र नियमावलीअनुसार स्वतन्त्र रूपमा काम गर्छ । केन्द्रको व्यवस्थापनसँग इकाइको कुनै सरोकार हुँदैन । स्वास्थ्य मन्त्रालयबाट २०७६/७७ मा समन्वय इकाइको प्रमुख त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सकलाई तोकिएको थियो । २०७८ देखि वरिष्ठ नेफ्रोलोजिस्ट तथा राष्ट्रिय प्रत्यारोपण केन्द्रको नेफ्रोलोजी र ट्रान्सप्लान्ट मेडिसिन विभागका प्रमुख डा. कल्पनाकुमारी श्रेष्ठ हुनुहुन्छ ।

हामीले हरेक वर्ष ब्रेन डेथबारे अधिकतम पाँचदेखि १० वटा कल प्राप्त गर्छौं । एकाइलाई अलग्गै कर्मचारी व्यवस्थापन गर्दा कामको भार नहुने र पर्याप्त कार्यभारबिना अलग्गै कार्यालय सञ्चालन गर्दा कर्मचारी उत्साहित नहुने र स्रोत साधन खेर जाने सम्भावना रहन्छ । मस्तिष्क मृत्यु घोषणा, अंग दान र प्रत्यारोपणको गतिविधि एक आपत्कालीन प्रक्रिया हो । सार्वजनिक बिदा, चाडपर्वमा समेत बिदा नभनी २४ घण्टा काम गर्नुपर्नेछ ।

केन्द्रसँग स्वस्थ जीवित दाताको मिर्गौला र कलेजो प्रत्यारोपणका लागि काम गर्ने पूर्णकालीन कर्मचारी छन् । उनीहरू जुनसुकै समय जुनसुकै अस्पतालबाट आउने फोनको प्रतीक्षामा हुन्छन् र आवश्यकताअनुसार तुरुन्तै प्रत्यारोपणको जनशक्ति परिचालन गर्न चौबीसै घण्टा ड्युटीमा हुन्छन् । यस इकाइले स्वतन्त्र रूपमा अंग दान, अंग बाँडफाँट तथा प्रत्यारोपणमा कसैको स्वार्थ, प्रलोभन, दबाब र प्रभावमा नपरी कार्य गर्छ । प्रत्यारोपणको मापदण्डअनुसार मिर्गौला या कलेजो प्राप्त गर्नका लागि सबैभन्दा बढी अंक ल्याउने र सोही व्यक्तिलाई अंग प्रदान गर्ने कार्य हुन्छ । केन्द्रले आफ्नो वेबसाइट र फेसबुकमा अंग दानसम्बन्धी सहजै फाराम भर्न सकिने व्यवस्था मिलाएको छ ।

प्रत्यारोपणको अवस्था

विश्व तथ्यांक हेर्ने हो भने अंग दान र प्रत्यारोपण दरमा स्पेन निरन्तर अग्रस्थानमा छ । त्यसपछि अमेरिका, फ्रान्स, बेलायत छन् । विगत दुई दशकमा एसियामा मस्तिष्क मृत दाताको संख्यामा उल्लेख्य वृद्धि भएको छ । तर पश्चिमा देशको तुलनामा न्यून छ । एसियामा मस्तिष्क मृत्यु अंग दानको संख्या सन् २००० मा २५ रहेकामा २०१९ मा ५ हजार ३ सय ५७ पुगेको थियो ।

नेपालमा प्रत्यारोपण ऐन २०७२ र नियमावली २०७३ अनुसार कलेजो, मिर्गौलाको मस्तिष्क मृत्यु घोषणा, अंग दान र प्रत्यारोपण थालनी भइसकेको छ । मुटु प्रत्यारोपणका लागि नियमावली बनाइएको छ । मस्तिष्क मृत्युपश्चात् अंग दानको समन्वय इकाइमा हालसम्म लगभग २ हजार ५ सय जनाले मृत्युपश्चात् अंग दान गर्न नाम दर्ता गर्नुभएको छ । हालसम्म नेपालमा करिब २ हजार ५ सय जनाको मिर्गौला प्रत्यारोपण र ४३ जनाको कलेजो प्रत्यारोपण भएको छ । त्यसमध्ये अधिकांश स्वस्थ जीवित दाताबाट भएको छ भने मस्तिष्क मृत्युबाट प्राप्त हुने अंगबाट जम्मा १० जनाको मिर्गौला र ३ जनाको कलेजो प्रत्यारोपण भएको छ । मस्तिष्क मृत्युबाट प्राप्त अंग प्रत्यारोपण कुल प्रत्यारोपणको १.३ प्रतिशत मात्र हुन आउँछ ।

कुनै अस्पतालमा मस्तिष्क मृत्यु भए सम्बन्धित अस्पतालले मस्तिष्क मृत्युपश्चात् अंग दान र प्रत्यारोपणको कुनै पनि सम्भावनाका लागि समन्वय इकाइमा अनिवार्य खबर गर्नुपर्छ । मुलुकमा बर्सेनि करिब एक हजार हाराहारीमा ब्रेन डेथ हुने अनुमान गरिए पनि काठमाडौं उपत्यकाका ठूला अस्पतालबाट ब्रेन डेथको सूचना किन नआएको, अहिलेको अवस्थामा सबैभन्दा महत्त्वपूर्ण प्रश्न यही हो ।

नेपालमा अंग दान र प्रत्यारोपणको परिप्रेक्ष्यमा पुरुष र महिला दाताबीचको असमानताबारे चर्चा भइरहन्छ । हालको तथ्यांकले यस विषयमा चाखलाग्दो तथ्य उजागर गरेको छ । हालसम्म नेपालमा पाँचवटा मस्तिष्क मृत्यु दाताबाट मिर्गौला प्रत्यारोपण गर्ने १० ग्रहणकर्तामध्ये ९ जना (९० प्रतिशत) पुरुष र एक मात्र महिला (१० प्रतिशत) ग्रहणकर्ता थिए जबकि मस्तिष्क मृत दातामध्ये ४ (८० प्रतिशत) जना पुरुष र १ (२० प्रतिशत) जना महिला थिए । केन्द्रमा हालसम्म १ हजार २ सय २८ जनाको मिर्गौला प्रत्यारोपण गर्दा स्वस्थ जीवित अंग दातामध्ये ७२ प्रतिशत महिला छन् भने २८ प्रतिशत पुरुष । अंग दातामा महिलाको संख्या अत्यधिक र अंग ग्रहणकर्तामा पुरुषको बाहुल्यता छ । यो असमानता कम गर्न मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला प्रत्यारोपण गर्न चाहने व्यक्तिको प्रतीक्षा सूचीमा रहेका महिला सदस्यलाई तीन गुणा बढी अर्थात् ३ अंक दिइएको छ भने पुरुषलाई १ अंक मात्र दिइएको छ ।

कुनै बिरामीको मस्तिष्क मृत्युपछि उहाँको अंगले अरू कसैलाई बचाउन सकिने जानकारी गराउँदा मृतकका परिवारले स्वीकार गर्न नसक्नु समन्वय इकाइका लागि चुनौती बनेको छ । आफ्नो मान्छे गुमाएर पीडामा छट्पटाइरहेका परिवारलाई अंग दानका लागि सहमत गराउन सोचे जस्तो सहज छैन ।

जिपबाट खसेर टाउकोमा गम्भीर चोट लागेका सिन्धुलीका २४ वर्षीय युवकको उपचार सफल नभएपछि मस्तिष्क मृत्यु भएको थियो । सामान्य जीवनयापन गर्दै आउनुभएका बिरामीका परिवारलाई मस्तिष्क मृत्युपश्चात् अंग दानका बारेमा बुझाउन हम्मेहम्मे भयो । सिन्धुलीका एक समाजसेवीमार्फत ८ घण्टाको प्रयासपछि मात्र परिवार अंग दान गर्नका लागि सहमत हुनुभयो । नेपालको प्रत्यारोपण कानुनअनुसार मस्तिष्क मृत्यु घोषणा र प्रत्यारोपणका लागि सम्पूर्ण प्रक्रिया सकेर राति १२ बजेतिर शल्यक्रिया गर्न टोलीसहित अस्पताल पुग्यौं । बिहान करिब ४ बजे २ वटा मिर्गौला निकालेर प्रत्यारोपण केन्द्र भक्तपुरमा फर्कियौं । अर्को घटना, आफ्नी छोरीको कलेजो प्रत्यारोपण गर्ने तयारीमा रहेका बिरामीलाई मस्तिष्क मृत्यु भएको दाताबाटै लिन परामर्श दिइयो तर दाताबाट लिन अस्वीकार गर्नुभयो ।

२०७४ वैशाख २८ मा मस्तिष्क मृत्युपश्चात् अंग प्राप्तिका लागि सम्पूर्ण प्रक्रिया पूरा गरी सक्रिय सूचीमा हुनुभएका १५ र ५१ वर्षका बिरामीको सफलताका साथ मिर्गौला प्रत्यारोपण सम्पन्न भयो । उहाँहरू आजका दिनसम्म सकुशल हुनुहुन्छ । त्यसैगरी, ललितपुरको एक अस्पतालमा ७२ वर्षीय मस्तिष्क मृत्यु भएका बिरामीको परिवार पहिले नै यस विषयमा जानकार भएको हुँदा तुलनात्मक रूपमा पहिलोभन्दा केही सहज महसुस भयो ।

हालै ललितपुरको एक अस्पतालका वरिष्ठ एनेस्थेसियोलोजिस्ट तथा सघन उपचार विशेषज्ञबाट मस्तिष्क मृत्युको खबर आयो । खबर पाउनासाथ समन्वय एकाइका कर्मचारी तुरुन्तै अस्पताल पुगेर ७ घण्टासम्मको परामर्शपछि मृतकका भान्जीहरू अंग दान गर्न सहमत हुनुभयो । तर, उहाँकी श्रीमतीबाट अस्वीकार भएपछि मृतकबाट अंग दान हुन सकेन । त्यसैले मस्तिष्क मृत्युपश्चात् अंग दानका बारेमा व्यापक जनचेतना फैलाउन आवश्यक छ ।

यो ७ वर्षको अवधिमा करिब ४५ विभिन्न अस्पतालबाट मस्तिष्क मृत्यु भएको सूचना पाएका छौं । बिरामीको परिवारसँग परामर्श गर्दा विदेशबाट आउने आफन्तलाई १२ देखि १५ घण्टा कुर्ने अवधिमा मस्तिष्क मृत्यु भएको व्यक्तिको मुटु नै बन्द हुने गरेका घटना पनि छन् । कतिपय घटनामा बिरामीका परिवार सहमत हुन्छन्, तर अस्पताल व्यवस्थापनबाट नै अस्वीकार भएर रित्तै फर्किनुपरेको तितो अनुभव पनि छ ।

प्रत्यारोपण प्रवर्द्धनका प्रयास

जनचेतनाको अभिवृद्धि सबैभन्दा महत्त्वपूर्ण कुरा हो । केन्द्रको अगुवाइमा हामीले विभिन्न खालको अंग दानसम्बन्धी पदयात्रा, शिविर, खेलकुद, अन्तरक्रिया कार्यक्रम, कार्यशाला, सम्मेलन गरेका छौं । मस्तिष्क मृत्यु भएमा समन्वय इकाइलाई अनिवार्य जानकारी गराउनुपर्ने ऐनमा प्रावधान भए पनि धेरैजसो अस्पताललाई थाहा नभएकाले इकाइले हरेक सोमबार विभिन्न अस्पतालमा उपस्थित भई मस्तिष्क मृत्युसम्बन्धी अन्तरक्रिया गर्दै आएको छ ।

९ या १० कक्षाको स्वास्थ्य शिक्षा पाठ्यक्रममा अंग दान तथा प्रत्यारोपणसम्बन्धी एउटा अध्याय राख्न सकियो भने प्रभावकारी हुन सक्थ्यो । पाठ्यक्रम बनाउनका लागि प्रक्रिया अगाडि बढाइएको अवस्था छ । विदेशमा सवारी चालक अनुमतिपत्र आवेदनमा नै अंग दान गर्ने प्रावधान राखिन्छ । हामीले पनि विभिन्न यातायातमन्त्रीज्यूसँग छलफल नगरेका होइनौं तर ऐन बनाएर मात्र सम्भव हुने कुरा व्यक्त भएकाले यसका लागि व्यापक तयारी गर्नुपर्नेछ ।

मस्तिष्क मृत्यु भएर अंग दान गर्ने परिवारलाई कुनै किसिमको सुविधा, राहत, उपचार खर्च, किरिया खर्च, बिमा आदिको व्यवस्था भएमा यो कार्यक्रम सशक्त रूपमा अगाडि बढ्न सक्छ । केन्द्रले दाता अस्पताललाई ५० हजार र अंग दान गर्ने मृतकको परिवारलाई १ लाख दिने व्यवस्था गरेको छ, जुन रकम न्यून हुन सक्छ । तसर्थ मृतक पक्षको परिवारका केही सदस्यको आंशिक वा पूर्ण स्वास्थ्य बिमा गराउन सके कार्यक्रम प्रभावकारी हुने थियो । यस्तै, बच्चाबच्चीलाई छात्रवृत्ति दिने या अरू किसिमबाट सहयोग गर्ने विषयमा छलफल गर्न सकिन्छ ।

निष्कर्ष

सन् २००८ मा डब्लूएचओको कहालीलाग्दो प्रतिवेदनको इतिहासबाट फड्को मार्दै केन्द्रले १ हजार २ सय २८ मिर्गौला प्रत्यारोपण गरिसकेको छ । जसमध्ये ९८ प्रतिशत सक्रिय जीवन बिताइरहनुभएको छ र डायलसिसमा ९५ प्रतिशत बिरामी छन् । केन्द्र स्थापनाको १२ वर्षमा नै सरकारी स्वास्थ्य क्षेत्रबाट यस्तो उपलब्धि हासिल गर्नु नेपालीका लागि गौरवको विषय हो ।

सबै प्रदेशमा प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न सकियो भने मिर्गौला फेल भएका व्यक्तिका लागि सुखद समाचार बन्न सक्छ । सबै क्षेत्रबाट सक्रिय सहयोग पाए विदेशमा जस्तै ८० प्रतिशत प्रत्यारोपण नेपालमा पनि मस्तिष्क मृत्युपश्चात् हुने अंग दानबाट सम्भव हुनेछ । अंगको कमीले कुनै पनि नेपालीले प्रत्यारोपण गर्न नपाई मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ । र, अंग प्रत्यारोपण क्षेत्रमा नेपाल आत्मनिर्भर हुन सक्नेछ ।

– श्रेष्ठ सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक हुन् ।

प्रकाशित : चैत्र २७, २०८० ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?