२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६४

पूर्व-पश्चिमको सवालमा कहाँ चुक्यौं ?

नेतृत्वले पूर्व र पश्चिमको सवालमा विगतको समीक्षा गर्नैपर्छ । यस प्रकारको विचार, नीति र विधिको विषयमा समयमै स्पष्ट हुनेहरूले पनि क्षेत्रीयतावादीको आरोप लाग्ने हो कि भनेर नेतृत्वसमक्ष झिनो स्वर राख्नु गल्ती भएको स्वीकार गर्नैपर्छ ।

नेकपा (माओवादी केन्द्र) आज क्रसरोडमा उभिएको छ । पार्टीले नयाँ गन्तव्यमा छिटो पुग्न मार्ग पनि नयाँ चयन गर्नुपर्छ । यसका लागि विशेष महाधिवेशन गर्ने भनेका छौं । हामीले विशेष महाधिवेशन पर्खेर बसे पनि जनता र देशले पर्खेर बस्ने वातावरण छैन । वस्तुस्थिति तरल छ, शक्ति सन्तुलन कुनै पनि बेला यताउता हुन सक्छ । मुख्य कुरा कमीकमजोरी सच्याएर पार्टी र सरकारका कामलाई नयाँ शिराबाट अगाडि बढाउन सक्छौं कि सक्दैनौं भन्ने हो । 

पूर्व-पश्चिमको सवालमा कहाँ चुक्यौं ?

जनयुद्धको क्रममा पटकपटक माओवादी सिद्धियो भन्ने ठाउँमा पुगेर धूलो टक्टक्याउँदै उठेर यहाँसम्म आइपुगेको हो । शान्ति सम्झौता हुँदा माओवादीको शक्ति कति थियो र अहिले कति छ ? भनिरहनु पर्दैन । अस्वस्थ र स्वस्थ मानिसको जीवनमा जस्तो भिन्नता देखिन्छ, पार्टीको जीवन त्योभन्दा फरक हुँदैन । अहिले पार्टी धेरै रोगबाट संक्रमित भइरहेको छ । सबै रोगको इलाज एकैचोटि गर्न माओवादीको सामर्थ्य बाहिरको कुरा हो । त्यसैले एक–एक रोगको उपचार गर्दै गयो भने समय लागे पनि आत्मविश्वास बढ्दै जान्छ र नयाँ चुनौतीको सामना गर्दै अगाडि जान सकिन्छ । नेता–कार्यकर्तामा दृढ इच्छाशक्ति हुने हो भने रूपान्तरण पूरै असम्भव छैन ।

सफल र असफल हुनुमा मुख्य र सहायक कारण हुन्छन् । मुख्य कारण पत्ता लगाउन तर्कलाई तथ्यसँग जोड्नुपर्छ । दिमाग खियाउने झन्झटतिर नलागी प्रायः मानिसहरू तर्कसँग तथ्य जोडेर सत्यको खोजी गर्दैनन् । उल्टो बाटो हिँड्छन् र असफल हुन्छन् । पार्टीको जीवनमा पनि यस्तै हुन गयो भने दुर्घटना हुन्छ । माओवादीको सन्दर्भमा यो लागू हुन्छ । पार्टीलाई सही निष्कर्षमा पुर्‍याउन शान्ति प्रक्रियामा आएपछि पूर्व र पश्चिमको सवालमा मुख्य र सहायक छुट्याउन हामी असफल भयौं । अहिलेको कार्यविभाजनले केही करेक्सन होला कि भन्ने आशा पैदा भएको छ । यसमा सफलता प्राप्त भयो भने अन्य समस्या हल गर्ने बाटो खुल्छ । तर, एउटा कडा सर्त छ । विचारमा व्यवहारवाद र संगठनमा उपयोगितावादलाई वाग्मतीमा सेलाउन तयार हुनुपर्छ ।

नेपालमा जब्बर रूपमा रहेको सामन्तवादी उत्पीडन विरुद्धमा पश्चिम नेपालका जनताले अग्रणी भूमिका निर्वाह गरेका कारण जनयुद्धले सफलता हासिल गरेको यथार्थ स्विकार्न हिच्किचाउन पर्दैन । सामान्यतः जहाँ उत्पीडन बढी हुन्छ त्यहाँ प्रतिरोध पनि बढी हुने गर्छ । तर, शान्ति सम्झौताको लगत्तै सामान्य तरिकाले र सविधान निर्माणपछि द्रुतगतिमा पूर्व र सहरी क्षेत्रका काममा जुट्नुपर्थ्यो । तर यसो नगरी पश्चिमलाई समाजवादी कार्यभारको सन्दर्भमा पनि प्राथमिकतामा राख्दा अहिलेको नियति हुन गएको हो । पहिलो संविधानसभाको निर्वाचनपछि यो विषयमा नेतृत्वको ध्यानाकर्षण गराउँदै आएको हो । तर, गम्भीरतापूर्वक नलिँदा आज पुँजीवादको विकासमा महत्त्वपूर्ण भूमिका खेलिरहेको पूर्व र सहरी क्षेत्रमा पार्टी एकदमै कमजोर बनेको छ ।

रुसमा बोल्सेभिक र मेन्सेभिकबीच क्रान्तिको सन्दर्भमा मुख्य शक्ति किसान हो कि मजदुर भन्ने विषयमा गम्भीर बहस चल्यो । मेन्सेभिकहरूले किसान मुख्य शक्ति हो भने । सरसर्ती हेर्दा संख्या र शक्तिका हिसाबले किसानको वर्चस्व देखिए पनि क्रान्तिकारी चेतना र उदीयमान शक्तिको हिसाबले मजदुर मुख्य हो भनेर लेनिनले जोड दिए र रुसमा क्रान्ति भयो । मेन्सेभिक प्रतिक्रान्तिकारी हुन पुगे । लेनिनले वर्तमान र भविष्यको समेत आकलन गरेर नीति बनाए, मेन्सेभिकहरूले वर्तमानको मात्र आकल गरेर नीति बनाएका कारण यस्तो हुन गयो । विधान अधिवेशनमा आएका पूरक सुझावलाई मध्यनजर गरेर स्थायी समितिको बैठकमा अध्यक्षले दूरगामी सोचका आधारमा पूर्व र सहरी क्षेत्रलाई प्राथमिकतामा राखेर शक्ति विन्यास गरेको हो भने पार्टी रूपान्तरणको प्रयासमा यो कोशेढुंगा साबित हुनेछ । तत्कालको समस्या समाधान गर्न मात्र कार्यविभाजनको यो प्रस्ताव आएको हो भने ब्याक फायर हुनेछ । आशा गरौं, नेतृत्वले इतिहासका नकारात्मक र सकारात्मक घटनाको समीक्षा गरेर यो प्रस्ताव ल्याएको हुनुपर्छ ।

एक जना कमरेडले कार्यविभाजन गर्दा नेतृत्वमा दूरदर्शी सोच भएन भनेर असहमति दर्ज गरेको विषय मिडियामा आएपछि विभिन्न अड्कलबाजी गरिँदै छ । कतै पार्टीभित्रका विभिन्न स्वार्थ समूहबीच समीकरण बदलिएर यो बहसले प्रवेश पाएको त हैन भन्ने प्रश्न उठ्न थालेको छ । बाबुराम भट्टराईको बहिर्गमनपछिको नेकपा (माओवादी) को पहिलो बैठकमा अध्यक्ष प्रचण्डले ‘अब पनि गुटबन्दी गर्ने भए पार्टी विघटन गरौं’ भने पनि पार्टीभित्रको बहसको संश्लेषण गर्न नसक्दा प्रवृत्ति गुटमा, गुट स्वार्थ समूहमा बदलियो । फलस्वरूप स्वार्थ समूहबीच नयाँ समीकरणको प्रयास भइरहेको यथार्थलाई आँखा चिम्लन मिल्दैन । गुटबन्दीको अन्त्य गर्ने नीति र विधि विकास गर्न सकिएन भने धोबीघाट समीकरणको (मोहन वैद्य, बाबुराम, नारायणकाजी) पुनरावृत्ति हुने सम्भावनालाई नकार्न सकिन्न । झन् केन्द्रीयताबिनाको जनवादी अभ्यासको वैधानिक व्यवस्थाले कहाँ पुर्‍याउने हो चिन्ताको विषय बनेको छ ।

जहाँ पुँजीवादको विकास भएको हुन्छ, त्यहीं समाजवादको भ्रूण विद्यमान रहन्छ । यसर्थ यतिखेर पश्चिमलाई सन्तुलनमा राखेर पूर्व र सहरी क्षेत्रलाई महत्त्व दिनु अग्रगामी कदम हो । निश्चय नै यस विषयमा पार्टीमा नयाँ बहसको सुरुवात भएको छ । यो बहसलाई व्यवस्थित गरियो भने पार्टी रूपान्तरणको प्रक्रियामा प्रवेश गर्नेछ । तर, हामी यस प्रकारको बहसलाई पचाउन सक्छौं कि सक्दैनौं ? गाँठो यसैमा छ । नेतृत्वले पूर्व र पश्चिमको सवालमा विगतको समीक्षा गर्नैपर्छ । यस प्रकारको विचार, नीति र विधिको विषयमा समयमै स्पष्ट हुनेहरूले पनि क्षेत्रीयतावादीको आरोप लाग्ने हो कि भनेर नेतृत्वसमक्ष झिनो स्वर राख्नु गल्ती भएको स्वीकार गर्नैपर्छ । र, भन्न सक्नुपर्छ– ‘यो पार्टीलाई यस्तो अवस्थामा पुर्‍याउन मेरो पनि हात छ, बनाउनमा पनि मेरो हात हुन्छ ।’

प्रकाशित : चैत्र २, २०८० ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?