कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५९

साहित्यकारको देश

हाम्रो देशमा पर्याप्त आर्थिक तथा सामाजिक सुविधा दिएर सरकारका तर्फबाट गाउँ लेखन आवासीय कार्यक्रम सञ्चालन गर्न सकिन्छ । यसो गर्ने हो भने एकातिर हाम्रो कथा लेखिन्छ, अर्कातिर साहित्य समृद्ध बन्छ, जसका माध्यमबाट संसारमा नेपाल चिनाउन सकिन्छ ।
अमर न्याैपाने

देश कति समृद्ध छ भनेर जान्न त्यो देशको चोक र पार्कहरूमा रहेका सालिकको कला हेरे पुग्छ । पुस्तकालय र सङ्ग्रहालय हेरे पुग्छ या साहित्य र सिनेमा हेरे पुग्छ । सडक र त्यहाँ गुड्ने गाडीहरूको गति हेरे पुग्छ, जसले देशको चित्र देखाउँछ ।

साहित्यकारको देश

भारतीय अभिनेता नसिरुद्दिन शाह नेपाल आउँदा पत्रकारहरूले सोधे, ‘तपाईंले नेपाली फिल्म हेर्नुभएको छ ?’

‘छैन तर थाहा छ ।’

‘कसरी ?’

‘पोस्टर हेरेर ।’

यो कुरा बडो संकेतात्मक छ । गेल्टाल्ट मनोविज्ञानले भने जस्तै शरीरको रगत थाहा पाउन पूरै रगत परीक्षण गर्नुपर्दैन, एक थोपा रगत जाँचे पुग्छ ।

कोही सगरमाथाको चुचुरोमा पुग्छ भने उसको खुट्टा मात्र पुग्दैन । हात पनि पुग्छ । मुटु, कलेजो, फोक्सो... सबै आन्तरिक र बाह्य अंगहरू पुग्छन् । भावना र विचारसहित एउटा सम्पूर्ण मानिस पुग्छ । फरक यत्ति हो, शिर माथि, पाउ तल हुन्छ तर त्यो आफ्नै शरीरको दूरी हो । विचार माथि र भावना बीचमा होला तर त्यो आफ्नै मन र मस्तिष्कको दूरी हो ।

विकसित देशहरू एउटा क्षेत्रमा मात्र विकासित हुँदैनन् । प्रायः सबै क्षेत्रमा सँगसँगै विकास भएका हुन्छन् । कुनै कुनै क्षेत्र केही तलमाथि हुन सक्छन्, जसरी शिर र पाउ तलमाथि हुन्छन् । तलमाथि भए पनि एउटै शरीर भएपछि शिरको रगत पाउमा र पाउको रगत शिरमा पुगिरहन्छ । शरीरको कुनै अंगमा केही कमजोर हुन सक्छ तर त्यहाँ पनि उही मुटुबाट रगत पुग्छ ।

सरकारको नीति, योजना र कार्यान्वयन नै गलत छ भने दुईचार जना असल डाक्टर हुँदैमा स्वास्थ्य क्षेत्र राम्रो हुँदैन । एउटा कुशल डाक्टरले त केही बिरामीको मात्र उपचार गर्न सक्छ तर असल व्यवस्थासहितको कुशल नेतृत्व भयो भने एउटै नेताले देशकै रोग सन्चो बनाउन सक्छ ।

साहित्य पनि देशको एउटा महत्त्वपूर्ण अंग हो । देशको शरीरमा राजनीतिको जस्तो प्रकारको रगत बगेको हुन्छ, साहित्यमा पनि त्यस्तै रगत प्रभावित हुन्छ । सरकारले साहित्यकार बनाउन सक्दैन । संसारको शक्तिशाली मानिसले पनि सक्दैन । तर सरकारले प्रतिभा भएर पनि जीविकोपार्जनका लागि अन्य पेसामा अल्झिरहेका र अलमलिइरहेकालाई अवसर दिन सक्छ ।

अवसरले आफूभित्र थुनिएको प्रतिभालाई उजागर गरिदिन्छ । अवसर पाएपछि आफैंले आफैंलाई लेखक बनाउने हो । जो लेखनको कस्तूरी लिएर जन्मिएका छन् । आफैंलाई कलाकार बनाउने हो, जो कलाकारको कस्तूरी लिएर जन्मिएका छन् । आफैंलाई खेलाडी र वैज्ञानिक बनाउने हो, जो त्यस किसिमको कस्तूरी लिएर जन्मिएका छन् । आर्थिक सुरक्षा सहितको अवसरले मानिसभित्र थुनिएको कस्तूरीको सुगन्ध चारैतिर फैलाउन सघाउँछ । त्यसैले देश विकसित हुन जरुरी छ । विकसित देशहरू प्रायः सबै क्षेत्र विकसित हुन्छन् । साहित्य पनि विकसित हुन्छ ।

अब लागौं लेखनको विकास कसरी गर्न सकिन्छ भन्ने प्रसंगतिर । गरिब देशमा कथा धेरै हुन्छन्, किनभने त्यहाँ व्यथा धेरै हुन्छन् । तर त्यहाँ धेरै साहित्य लेखिँदैनन् । लेखिए पनि ती कमै मात्र उत्कृष्ट हुन्छन् । अर्थात् गरिब देशको साहित्य गरिब हुन्छ । विकसित देशमा कथा कम हुन्छन्, किनभने त्यहाँ व्यथा कम हुन्छन् । तर त्यहाँ धेरै साहित्य लेखिन्छन् । तीमध्ये धेरैजसो उत्कृष्ट नै हुन्छन् । अर्थात्, धनी देशको साहित्य पनि धनी हुन्छ ।

यहाँ राज्य र निजी क्षेत्रमा धेरै साहित्यिक संस्था र प्रकाशक छन् । सरकारी साहित्यिक संस्था खराब राजनीतिको प्रभाव र आवश्यक बजेटको अभावमा प्रायः कर्मकाण्डमा सीमित छन् । व्यवसायसँग पनि जोडिएका निजी प्रकाशन गृहहरूले भने सरकारीको तुलनामा धेरै राम्रो गरेका छन् । केही निजी प्रकाशकका तर्फबाट लेखकहरूको छनोट, सम्पादन, गुणस्तरीय छपाइ र प्रचारप्रसारको केही अभ्यास ६० को दशकपछि हुँदै आएको छ । तर यो पर्याप्त छैन ।

जर्मनीको लगानीबाट नेपालमा सञ्चालित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था जिटिजेडले २०६५ सालमा टाउन राइटर रेजिडेन्स प्रोग्रम भनेर पाँच लेखकलाई नेपालका पाँच सहरमा लेखनवृत्ति दिएर लेख्न पठाएको थियो– भक्तपुर, धरान, बुटवल, नेपालगन्ज र धनगढीमा । म नेपालगन्जका लागि छानिएको थिएँ । त्यहाँ दुई महिना बसेर ‘पानीको घाम’ आख्यान लेखेँ, जुन मेरो पहिलो किताब हो ।

हाम्रो देशमा गाउँ धेरै छन् । त्यहाँ धेरै कथा छन् । अभाव र भावका । प्रकृति र संस्कृतिका । सरल जीवनभित्र रहेका जटिलताका । हाम्रो देशमा १२४ भन्दा धेरै भाषाभाषी छन् । जति धेरै भाषा उति धेरै संस्कृति, रीतिरिवाज र परम्परा हुन्छन् । ती साहित्यका लागि माटोको सुगन्ध आउने खजना हुन् ।

जर्मनीमा त्यहाँको स्थानीय सरकारले टाउन राइटर रेजिडेन्स प्रोग्राम परियोजनाबाट वर्षैपिच्छे राम्रा लेखक छानेर एक वर्षका लागि घर र राम्रो आर्थिक सुविधा दिई लेख्न लगाउँछ । त्यहाँ टाउन राइटरमा छानिनु ठूलो प्रतिष्ठाको कुरा हो । टाउन राइटरले नोबेल पुरस्कारसमेत पाएका उदाहरण छन् ।

हाम्रो देशमा पर्याप्त आर्थिक तथा सामाजिक सुविधा दिएर सरकारका तर्फबाट गाउँ लेखन आवासीय कार्यक्रम सञ्चालन गर्न सकिन्छ । यसो गर्ने हो भने एकातिर हाम्रो कथा लेखिन्छ अर्कोतिर साहित्य समृद्ध बन्छ, जसका माध्यमबाट संसारमा नेपाल चिनाउन सकिन्छ । २०२७ सालमा राजा महेन्द्रको योजनामा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले संस्कृतिविद् सत्यमोहन जोशीको नेतृत्वमा पाँच लेखकलाई लेखनवृत्ति दिई कर्णाली पठाएको थियो, जसबाट कर्णाली लोक संस्कृति नामक पाँच पुस्तक आए । ती किताब आज पनि उत्तिकै महत्त्वपूर्ण छन् । ती पाँचै किताबले प्रतिष्ठित मदन पुरस्कार प्राप्त गरेका थिए ।

यति बेला देश संघीयतामा गएको छ भने स्थानीय सरकार केही बलिया भएका छन् । तिनले स्थानीय समाज, संस्कृति, परम्परा, रैथाने दर्शन आदिलाई अक्षरहरूमा अर्थपूर्ण र सुन्दर ढंगले लेखाउन सक्छन् । राम्रा लेखक धेरै हुँदैनन् । ती यसै चिनिन्छन् । नवप्रतिभालाई भने खोजेर या अवसर दिएर चिनाउनुपर्छ । ती कोइलामा हीराझैं लुकेर बसेका हुन्छन् ।

महानगर, नगर र गाउँपालिकाले या प्रदेश सरकारले आफ्नो ठाउँको कथालाई बाहिर ल्याउन राम्रा लेखकलाई आर्थिक तथा सामाजिक सुरक्षा दिएर योजनाबद्ध तरिकाले लेखनवृत्ति दिई लेखाउन सक्छन् । पालिकाहरूले ०.५ प्रतिशत मात्र बजेट यस्ता कार्यमा लगानी गर्ने हो भने अरु क्षेत्रमा २०/३० प्रतिशत लगानी गरेको परिणामभन्दा बढी उपलब्धि दिन सक्छ ।

यस्ता योजनाहरू दिँदा आफ्नो वृत्त र विचारका लेखकलाई नै आग्रहका आधारमा दिइयो भने त्यहाँ फेरि अर्को दुर्घटना हुन सक्छ । अरू क्षेत्रमा यस्तो देखिएकाले यता पनि यो रोग सर्न सक्छ । यो रोग सर्‍यो भने लेखाएको भन्दा नलेखाएको जाती हुन्छ ।

साहित्य, कलाजस्ता सिर्जनात्मक काम गर्न पैसा महत्त्वपूर्ण साधन हो । त्यसैले राम्रा लेखकहरूले राम्रो लेख्न पनि ऊ आर्थिक रूपमा सुरक्षित हुन् र लेखन व्यावसायिक हुन जरुरी छ ।अक्षरहरूको शक्ति यति ठूलो हुन्छ कि रामको पालामा उनी जस्ता शक्तिशाली राजकुमार र राजाहरू अरु पनि हुँदा हुन् तर अरुका कथा लेखिएनन् । रामको कथा वाल्मीकिले लेखिदिए । ती अहिले भगवान् भए । वाल्मीकिले रामको कथा नलेखिदिएको भए हामीले उनलाई चिन्ने नै थिएनौं । भगवान् मान्नेहरूका भगवान् नै घट्ने थिए । यति धेरै रामका मन्दिर बन्ने थिएनन् ।

मानिस सधैं बाँच्दैन तर मानिसका कथा सधैं बाँच्न सक्छन् । त्यसका लागि राम्रा लेखकले कुशल ढंगले लेख्न सक्नुपर्छ । अक्षरमा लगानी गर्नु भनेको जुगजुगान्तरसम्म हाम्रा पूर्वज र हामीले बाँचेको कथालाई बचाउनु हो ।

अब लागौं साहित्य उत्पादक क्षेत्र कि अनुत्पादक भन्ने प्रसंगतिर । हाम्रो जस्तो देशमा सामान्यतः एउटा मान्यता छ– साहित्य अनुत्पादक क्षेत्र हो । यसमा लाग्नु समयको बर्बादी हो र यसमा लगानी गर्नु बालुवामा पानी हाल्नु हो । साहित्य आम्दानीसँग पनि जोडिएको भए यस्तो मान्यता विकास हुने थिएन । कहिल्यै क्षय नहुने अक्षरहरूका अंगले बनेको साहित्य सबैभन्दा सिर्जनशील क्षेत्र हो । यो हृदयको नयाँ संसार पत्ता लगाउने कला हो । विचार र सिद्धान्त निर्माण गर्ने आधार हो ।

पूर्वमा वाल्मीकिदेखि देवकोटासम्म, पश्चिममा होमरदेखि २०२३ का नोबेल पुरस्कार विजेता नर्वेली लेखक युन फोसासम्मका साहित्यकारलाई हामी सम्झिरहन्छौं । सिर्जनशील क्षेत्र नभएको भए हजारौं वर्षअघिका लेखकलाई पनि आज किन हामी सम्झिरहन्छौं ?

बेलायतको संविधान उसैको मात्र हो । त्यसको शक्ति बेलायत बाहिर हुँदैन, जसले त्यहाँ मात्र शासन गर्छ । तर बेलायतका लेखक सेक्सपियरको साहित्य बेलायतको मात्र रहेन, संसारकै भयो । उनका कृतिले संसारभरिका मानिसको हृदयमा बसेर शासन गरिरहेछन् । त्यो पनि प्रेमपूर्वक । संसारका शक्तिशाली मानिसको सिरानीमा महान् कृति हुन्छन्, जसले उनीहरूलाई कोमल, संवेदनशील र सिर्जनशील बनाउँछ । साहित्य नभएको भए संसारका शक्तिशाली शासकहरू अझ कति क्रूर हुने थिए होलान् ?

त्यसैले साहित्य उत्पादक चिज मात्र होइन, कठोर मानिसलाई कोमल बनाउने कला पनि हो । यसकारण राज्यले साहित्य र कला क्षेत्रमा लगानी गर्न आवश्यक छ । साहित्यले त्यो देशको समाज र मानिसहरूको कथा भन्छ । देश बुझ्नु छ भने त्यहाँको भूगोल मात्र बुझेर हुँदैन, साहित्य पनि बुझ्नुपर्छ । देशको ढुकढुकी साहित्यमा हुन्छ । ढुकढुकी कसरी अनुत्पादक हुन्छ ?

अब लागौं लेखनको केन्द्र र मोफलसल प्रसंगतिर । पहिलेपहिले लेखकका रूपमा स्थापित हुन राजधानी नै आउनुपर्छ भन्ने मान्यता थियो । राजधानीलाई केन्द्र र बाहिरलाई मोफसल भनिन्थ्यो, जहाँका साहित्यकार आफूलाई सीमान्तकृत ठान्थे । प्रकाशित र प्रसारित हुन राजधानी नै चाहिन्थ्यो । त्यसमा पनि केही मिडिया हाउस, पत्रपत्रिका र प्रकाशन गृहको अधीनमा सञ्चार थियो । कवि कृष्णभूषण बलको कवितै छ ः

काठमान्डू एक्लैले अब काठमान्डू बोक्न सक्तैन ।

काठमान्डू एक्लैले अब सिंगै नेपालको अर्थ लगाउन सक्तैन ।

यो कविता मोफसलको पीडाबाट काठमान्डूप्रति हुँकार गरिएको विद्रोह हो । अहिले केन्द्र भत्किएको छ । संसारको जुनसुकै कुनामा बसेर संसारलाई आफ्नो काम देखाउन सकिन्छ ।

पृथ्वीको क्षेत्रफल उही हो तर सञ्चार र सोसल मिडियाले पृथ्वीलाई यति साँघुरो बनाइदिएको छ कि हामी संसारभरिका मानिसलाई एकै ठाउँबाट आफ्ना कुरा सुनाउन सक्छौं, देखाउन सक्छौं । देशका ठूलाठूला सञ्चारमाध्यमले ठाउँ नदिए पनि घरमै बसीबसी एउटा एन्ड्रोइड मोबाइल या ल्यापटपलाई इन्टरनेटसँग जोडेर आफ्ना कुरा राख्न सक्छौं । त्यसैले संसार साँघुरो भएको छ, मानूँ पूरै पृथ्वी एउटा गाउँ हो ।

यो सुविधालाई साहित्यकारले उपयोग गरेर संसारकै ध्यान खिच्न सक्छन् र अवसर उपयोग गर्न सक्छन् । प्रकाशक र पाठकहरूको ध्यान आफूतिर खिच्न सक्छन् ।

अब लागौं प्रकाशन र पाठक प्रसंगतिर ।

पहिले साझा प्रकाशन र प्रज्ञा प्रतिष्ठानबाट किताब छापिनु नै ठूलो कुरा मानिन्थ्यो । छापिनु नै स्थापित हुनु जस्तो थियो । त्यसका लागि जतिसुकै प्रतिभा भए पनि पहुँच नभएकाहरूले छापिन बर्सौं कुर्नुपर्थ्यो । निजी प्रकाशन गृह त्यति व्यावसायिक थिएनन् । यद्यपि अहिले पनि व्यावसायिक हुन बाँकी छ । जे होस् अहिले केही यस्ता प्रकाशक छन्, जो राम्रा पाण्डुलिपिको खोजी गर्छन् । पठनसंस्कृति बढाउन नयाँ लेखक र प्रकाशकको महत्त्वपूर्ण भूमिका छ ।

एउटा राम्रो लेखकले केही वर्ष आफूलाई जोखिममा राखेर भए पनि विभिन्न ठाउँमा गएर अध्ययन अनुसन्धान गरी राम्रा किताब लेख्न सक्छ । आफ्नो प्रतिभालाई अध्ययन र अभ्यासका माध्यमबाट निखार्न सक्छ अनि दुनियाँलाई देखाउन सक्छ । त्यसका लागि सरकारको मुख हेर्नुपर्दैन । यो समयमा कुनै पनि प्रतिभा भएको मानिस देशको साँघुरो घेरामा बाँधिनुपर्दैन । कोहीसँग प्रचूर प्रतिभा छ भने उसका लागि पृथ्वी नै देश हो ।

यो समय लेखक स्वयंले राम्रो लेखेर आफ्ना पाठक आफैं बनाउने बेला हो । आफ्नो संसार आफैं बनाउने समय हो । त्यसैले प्रतिभावान् लेखकले संसारभरि पहुँच बनाउन सक्छन् र सरकारको मात्र हैन विश्वलाई नै झकझक्याउन सक्छन् । यो सुविधा अहिले प्रविधिले दिएको छ ।

अब लागौं अनुवाद प्रसंगतिर ।

संसारभरि एउटै भाषा भइदिएको भए अनुवादको आवश्यकता नै हुने थिएन । अभिव्यक्तिको माध्यम शब्द नभइदिएको भए पनि अनुवादको आवश्यकता पर्ने थिएन । संसारमा हजारौं भाषा छन् । सामान्यतः एउटा मानिसका लागि तीन भाषा जान्न आवश्यक हुन्छ । मातृभाषा, माध्यम भाषा र अन्तर्राष्ट्रिय भाषा । राम्रो साहित्य एउटा देशको मात्र हुँदैन । संसारभरिको हुन्छ । त्यसैले कुनै एक भाषामा लेखिएको उत्कृष्ट साहित्य संसारभरिका विविध भाषीले पढ्न कुशल अनुवादको आवश्यकता पर्छ । त्यसैले हाम्रो साहित्य पनि संसारभरिका मानिसको मनमा बसाउन राम्रो अनुवाद जरुरी छ ।

सानो देश भए पनि नेपाल धेरै भाषा भएको देश हो । जति धेरै भाषा उति धेरै संस्कृति, रीति र मौलिक दर्शन हुन्छन् । उति नै धेरै लोकसाहित्य र चालचलन हुन्छन् । यस्ता कुरा साहित्य सिर्जनाका लागि सजीव सामग्री हुन्, जसले आफू बाँचेको माटोको कथा मात्र भन्दैन आफ्नो मौलिक अस्तित्वलाई पनि जोगाउँछ र अनुवादका माध्यमबाट त्यो अस्तित्वलाई संसारभरि फैलाउन सकिन्छ ।

साहित्य संसारभरि लैजान खेलकुद र चित्र या मूर्तिकलाजस्तो सजिलो छैन । अनुवाद हुँदा पनि त्यो पूरै अनुवाद हुँदैन । त्यसकारण मूल भाषा र अनुवाद गरिने भाषाको राम्रो ज्ञान भएको अनुवादक आवश्यक चाहिन्छ ।

साहित्य नित्तान्त निजी र हृदयको प्रकाशन हो । तर यसको सम्बन्ध समाज, देश र पूरै संसारसाग हुन्छ । नित्तान्त व्यक्तिगत भने पनि त्यहाँ लेखकले सुनेको, देखेको, बाँचेको समाज हुन्छ र समाजका अनेक मानिस हुन्छन् । देश, काल र परिस्थिति हुन्छ । साहित्य अनुवाद हुनु भनेको देश शब्द र साहित्यमा अनुवाद हुनु हो ।

विश्वकै सबैभन्दा प्रतिष्ठित नोबेल पुरस्कार । आजसम्म हाम्रो देशका कुनै पनि लेखक र तिनका कृतिहरूले त्यहाँ भागसम्म लिएका छैनन् । कृतिको कुशल अनुवाद गरी कमसेकम उपस्थिति मात्र जनाउँदै जाने हो भने एक दिन नेपालले पनि नोबेल पुरस्कार जित्न सक्छ । बुद्धको देश, सगरमाथाको देश र वीर गोर्खालीको देश भनेर आत्मरतिमा रमाउने समय छैन । अब विश्वमा नेपाललाई फलानो लेखक/साहित्यकारको देश भनेर चिनाउन सक्नुपर्छ । त्यसपछि हाम्रा लेखकहरू विश्वभरिका हुनेछन् ।

(राजनीति मात्र होइन, उद्योग, व्यवसाय, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, बैंकिङ, सिनेमा, साहित्य सर्वत्र अहिले निराशा छ । देशले यो निराशाको भारी लामो समय बोक्न सक्दैन । सजीव विश्वास प्रवर्द्धन गर्न कान्तिपुरले सुरु गरेको छ विचार शृंखला– ‘प्रस्थान विन्दु’ जहाँ फरक–फरक विज्ञले लेख्नेछन् सुधारका प्रस्तावना, हरेक दिन निरन्तर ।)

प्रकाशित : फाल्गुन ८, २०८० ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?