२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६४

समाजवाद-विकास नजोडिएको साइनो

विकास भनेको बाटो, बिजुली र सञ्चार मात्रै होइन, खाद्यान्नमा आत्मनिर्भरता प्रमुख हो भन्ने मान्यता स्थापित गर्न जरुरी छ ।
सोमत घिमिरे

विकास र समाजवादसंविधानमा समाजवाद–उन्मुख राज्य व्यवस्था उल्लेख गरिएको छ । पार्टीहरूका आधिकारिक दस्तावेज र घोषणापत्रहरू हेर्ने हो भने पनि समाजवाद लेखिएको छ । तर, जुनसुकै पार्टी सरकारमा गए पनि विकास उसको प्रमुख प्राथमिकतामा पर्छ ।

समाजवाद-विकास नजोडिएको साइनो

अहिले गरिरहेको विकासले समाजवादको आधारविन्दु तय गर्छ ? अहिले गरिरहेको विकास समाजवादमा पुग्ने खुड्किलो साबित हुन सक्छ कि विकास र समाजवाद नदीका दुई किनार हुन् ?

अझ रोचक त के छ भने, सबै पार्टीका विकासका एजेण्डामा समानता छ । विकास विचारभन्दा माथि छ । विकासे बाजा यसरी बजाइएको छ, पार्टीहरूका मान्यतासँग यसको कुनै सम्बन्ध छैन । आज गरिरहेको कामले समाजवादमा पुग्न मद्दत गर्दैन भने कसरी व्यवस्थित हुन्छ समाजवाद ? कसरी पुगिन्छ समाजवादमा ? अचम्म छ ।

विकासको चरित्र

अहिलेको विकासको चरित्र विश्लेषण गरौं । अहिलेको विकास एक ढंगले पश्चिमाहरूको सिफारिसमा गरिएको हो । विश्व बैंक, अन्तर्राष्ट्रिय मुन्द्राकोषजस्ता वित्तीय संस्थाहरूले हामीलाई धेरै विचार गर्नै दिँदैनन् । जगजाहेर छ, अहिलेको विकासले वर्गीय असन्तुलन घटाउन सकेन । नेपालमा मात्रै होइन, विश्वव्यापी रूपमै वर्गीय असन्तुलन बढेको छ ।

विकास गरिरहेका छौं तर खाद्यान्नको आयात बेपत्ता बढेको छ । अहिलेको विकास एकल संस्कृतिमा आधारित छ । यसले खानपान, भेषभूषा, संस्कृतिमा एकरूपता चाहेको छ । तर हाम्रो देश विविधतामा आधारित छ । अर्को अर्थमा भन्ने हो भने, अहिलेको विकास प्रभुत्ववादी छ । सरल अर्थ लगाउने हो भने, अहिलेको विकासले समाजको उपल्लो वर्गलाई मात्रै फाइदा पुग्छ । कृषि कार्यक्रमबाट भूमिहीनहरू लाभान्वित हुन सक्दैनन् । विविधतालाई स्वीकार नगर्दा आदिवासी जनजाति समुदायमा विकासको प्रतिफल नपुग्ने मात्रै होइन, आदिवासी जनजाति समुदाय विस्थापनको पीडामा छन् । जीविकाको संकट बढ्दो छ । विकासले प्राकृतिक स्रोत नष्ट गरेको छ । बेतोडले बनेका विमानस्थलहरूबाट जहाज नचढ्नेहरू लाभान्वित हुन सक्दैनन् । विकासको विश्लेषण गर्ने हो भने पीँधमा पुग्नै सक्दैन । अहिलेको विकासले रोजगारी सिर्जना गर्नै सकेन ।

हाम्रा युवाहरूलाई वैदेशिक श्रमबजारको चंगुलमा पर्न विवश बनायो । अहिलेको विकासको चरित्र यही हो । के यस्तो विकासले हामीलाई समाजवादमा पुग्न मद्दत गर्छ ? पक्कै गर्दैन । त्यसो हो भने हामीले विकासको बाटो फेर्न जरुरी छ । त्यो बाटो के हो ? त्यसले सार्वजनिक बहसको माग गर्छ ।

विकासको राजनीतिक पक्ष

सबभन्दा पहिला विकास देशभन्दा माथि, विचारभन्दा माथि होइन । धर्मजस्तो होइन । विकासलाई आफ्नै मौलिकतामा, आफ्नै सन्दर्भमा परिभाषित गर्नुपर्छ । कांग्रेस सरकारमा आउँदा विकासको एउटा बाटो हुनुपर्थ्यो । एमाले आउँदा अर्को बाटो र माओवादी आउँदा बेग्लै बाटो हुनुपर्थ्यो । विकासको शासकीय पक्ष छ । शासन पद्धतिसँग साइनो छ । सबैभन्दा पहिला त विकासका लागि सुशासनको प्रबन्ध हुनुपर्‍यो । संस्थागत विकास, नीतिगत कुरामा नागरिकको पहुँच, एजेन्डा तयमा सार्वजनिक बहस जस्ता विषयहरू विकासका आधारभूत सर्त हुन् । सुशासनलाई धेरै जटिल बनाउन जरुरी छैन । विद्यालयमा राम्रो पढाइ हुनु, निजी विद्यालयमा जान नपर्नु विद्यालयको सुशासन हो ।

स्वास्थ्यचौकीमा राम्रो उपचार पाउनु स्वास्थ्यचौकीको सुशासन हो । किसानहरूले घरदैलोमा कृषि सेवा पाउनु कृषिको सुशासन हो । यस अर्थमा विकास र राजनीतिबीचको गहिरो सम्बन्धलाई हामीले परिभाषित गर्नुपर्‍यो । राजनीति खराब भईभई विकास सम्भव हुँदैन । विकासले हाम्रो विभेदलाई पनि अर्थमूलक हिसाबले कम गर्न सकेन । महिला–पुरुष विभेद, जाति–जनजाति विभेद, कथित दलित समुदायमाथि विभेद, भौगोलिक रुपमा गरिएका विभेद कायमै छन् । विकास हुनु भनेको विभेद कायम रहनु हो र ?

अर्को पाटोबाट हेरौं, यस्तो विभेद यथावतै राखेर हामी समाजवादको बाटो तय गर्न सक्छौं ? राजनीति, विकास र समाजवादको लय मिलाउनुपर्‍यो । यदि लय मिलेन भने समाजवादमा पुग्न सकिन्न । राजनीतिसँगको सम्बन्धलाई लिएर विकासको मौलिक परिभाषा गर्न जरुरी छ । अनि मात्र समाजवादमा पुग्न सम्भव हुन्छ । मुख्य कुरा, राज्यको चरित्रमा फेरबदल आउनुपर्‍यो । राज्यमाथि नागरिकको निगरानी हुनुपर्‍यो । नागरिक सर्वोच्चतामा आधारित विकासको रथ अगाडि बढाउनुपर्‍यो । राज्य जति बेलासम्म पारदर्शी र जवाफदेह हुँदैन, त्यति बेलासम्म राज्यसंयन्त्रले समाजवादको दिशा पक्रन सक्दैन । अर्को पक्ष, विकास विविधतामा आधारित छ । विकासको सर्वमान्य मान्यता हुन सक्दैन । ठाउँ र परिस्थितिअनुसार विकासलाई परिभाषित गर्नुपर्छ । थारू समुदायमा गरिने विकासको मान्यता मध्यपहाडी भेगमा मेल खाँदैन । मध्यपहाडी भेगमा गरिएको विकासको मान्यताले हिमाली भेगलाई सम्बोधन गन सक्दैन । जसरी समाजमा विविधता छ, विकासको प्रयासलाई पनि त्यसरी नै विविधतामा बुझ्न जरुरी छ ।

उत्पादन र रोजगारी

अहिले हाम्रो स्थानीय उत्पादन ज्यादै कमजोर छ । रेमिट्यान्सबाट आएको पैसाले भारतीय दाल, चामल, तेल, मसला किनेर खाएका छौं । अर्कातिरबाट प्रश्न गरौं, के विकास गर्नु भनेको किनेर खानु हो ? अब हाम्रो विकासले स्थानीय उत्पादन वृद्धि गर्नुपर्‍यो । स्थानीय उत्पादन वृद्धि गर्नका लागि भौगोलिक र सांस्कृतिक विविधतालाई स्वीकार गर्नुपर्‍यो ।

भूगोल अनुसारको उत्पादन र संस्कृतिअनुसारको उत्पादन वृद्धि गर्ने रणनीति चाहियो । मध्यपहाडमा उत्पादन बढाउने मान्यता र रणनीति एवं शेर्पा समुदाय वा जनजाति समुदायले उत्पादन बढाउने मान्यता र रणनीति एउटै हुन सक्दैन । सांस्कृतिक विविधतासँगै आर्थिक र सामाजिक विविधतालाई पनि स्वीकार गर्नुपर्‍यो । धान–चामल बढाउने रणनीतिले माथिल्लो भेगमा बस्ने आदिवासी जनजाति समुदायमा पशुपालन बढाउन सक्दैन । हुन त धान–चामल पनि बढेको छैन तर एकल संस्कृतिको विकासले यो विविधता स्वीकार नै गर्दैन । हाम्रो असली विकासको बाटो विविधतालाई स्वीकार र सम्मान मात्रै होइन, उत्पादन बढाउन फरक मान्यता र रणनीतिलाई अगाडि बढाउनुपर्‍यो । अब हामीले कस्तो गाउँ विकसित गर्ने ? खाद्यान्नमा आत्मनिर्भर भएको । अहिलेसम्म हामीले बाटो, बिजुली, सञ्चार र सहरीकरण गएको ठाउँलाई विकसित गाउँ भन्यौं । त्यसले हामीलाई थला पार्‍यो । विकास भनेको बाटो, बिजुली र सञ्चार मात्रै होइन, खाद्यान्नमा आत्मनिर्भरता प्रमुख हो भन्ने मान्यता स्थापित गर्न जरुरी छ ।

जसरी हाम्रो उत्पादन संकटमा छ, त्यसै गरी अहिलेको हाम्रो ठूलो संकट रोजगारी हो । रोजगारीका लागि ठाउँ नै छैन । रोजगारी भइहाले पनि सहरबजारमा जीविका हुनै सक्दैन । हाम्रो अर्थतन्त्र व्यापारमा आधारित छ । व्यापारमा आधारित अर्थतन्त्रले ठूलो मात्रामा रोजगारी सिर्जना गर्नै सक्दैन । सेवा क्षेत्रले बर्सेनि रोजगारीका लागि तय भएका व्यक्तिहरूलाई ठाउँ नै दिन सक्दैन । अबको विकासको बाटो रोजगारी हुन जरुरी छ । बेरोजगारहरूको फौज राखेर, युवाहरूलाई बाहिर श्रमबजारमा ठेलेर हामी विकासको नारा लगाइरहेका छौं । यहीँनेर हो हाम्रो बाटो परिवर्तन गर्नुपर्छ । अबको हाम्रो बाटो उत्पादनमुखी अर्थतन्त्र र ग्रामीण औद्योगिकीकरणका माध्यमबाट रोजगारी सिर्जना गर्ने हुनुपर्छ । जापान वा अमेरिकाको जस्तो एउटै उद्योगबाट धेरैलाई रोजगारी दिने बाटो हाम्रा लागि राम्रो पनि छैन । सम्भावना पनि छैन ।

सम्भावना किन छैन भने, प्रविधि, पुँजी र मानवीय क्षमताले नक्कल गर्न सक्दैनौं । हाम्रा लागि उपलब्ध प्राकृतिक स्रोत, स्थानीय उत्पादन, स्थानीय पुँजी, स्थानीय श्रम–सीपमा आधारित ग्रामीण औद्योगिकीकरणको बाटो अवलम्बन गर्न जरुरी छ । विकासलाई स्थानीय उत्पादन, औद्योगिकीकरण र रोजगारीको लयमा ढाल्नु छ । हाम्रो विकासले वर्षैपिच्छे रोजगारीको संख्या बढाउनुपर्‍यो । त्यसका लागि व्यापारमा आधारित अर्थतन्त्रलाई छोडेर उत्पादन, औद्योगिकीकरण र रोजगारीको बाटोलाई अवलम्बन गर्नुपर्‍यो । देश विकास भइरहेको तथ्यांक पेस गर्दा बेरोजगारी बढिरहेको स्थितिले हामीलाई लज्जित तुल्याएको छ । कुनै सिद्धान्तलाई पुष्टि गर्नका लागि होइन, हाम्रो अनुभवले पनि त्यही सिकाएको छ— अहिलेको राजनीतिले सुशासन दिन सकेन । रोजगारी दिन सकेन । समाजवादमा पुग्न विकासको आधारभूत सर्त नै सुशासन र रोजगारी हुनुपर्छ ।

प्राकृतिक स्रोतसम्मत विकास

हाम्रो समाजवादमा पुग्नका लागि आधार, रोजगारी सिर्जना गर्ने आधार, स्थानीय अर्थतन्त्रको सबलीकरण गर्ने आधार हाम्रो प्राकृतिक स्रोत हो । जल, जंगल र जमिनबाहेक हामीसँग के छ र ? चाहे पर्यटनको कुरा गरौं, सांस्कृतिक विविधताबाहेक बाँकी प्राकृतिक स्रोत नै हो । विकासको प्रक्रियामा प्राकृतिक स्रोतको नष्ट गरेर होइन, प्राकृतिक स्रोतको संरक्षण, व्यवस्थापन र उपयोगमार्फत नै हाम्रो स्थानीय अर्थतन्त्रको सबलीकरण हुने हो ।

साना र ग्रामीण उद्योगको सम्भावना हुने हो । तसर्थ हामीले प्राकृतिक स्रोतको संरक्षण मात्रै होइन, प्राकृतिक स्रोत नष्ट नहुने गरी उपयोग पनि गर्ने बाटो तय गर्नुपर्छ । प्राकृतिक स्रोतलाई नै माध्यम बनाएर हरित अर्थतन्त्रमा आधारित भएर हामीले हाम्रो बाटो तय गर्नु जरुरी छ । पश्चिमाहरूले आफ्नो औद्योगिकीकरणको प्रक्रियामा प्राकृतिक स्रोतको नष्ट गरे । त्यसैले हामीलाई कहिले संरक्षणको मात्रै अर्ती दिन्छन्, कहिले विकासका अगाडि प्राकृतिक स्रोत केही होइन भन्छन् । यी दुवै मान्यताबाट हामी उम्किन जरुरी छ । हाम्रो परिस्थिति र सन्दर्भमा प्राकृतिक स्रोतको प्रयोग गर्दै जाने रणनीति अपनाउनुपर्छ । प्राकृतिक स्रोतको दोहन गर्ने होइन, प्राकृतिक स्रोतसँगै हिँड्ने विकास अवलम्बन गर्न जरुरी छ ।

अहिलेको विकासको बाटोले हाम्रो विविधतालाई पनि सम्बोधन गर्दैन । विभेद हटाउने दिशामा पनि काम गर्दैन । वर्गीय असन्तुलन घटाउँदै रोजगारी सिर्जना गर्न पनि मद्दत गर्दैन । खाद्यान्नमा आत्मनिर्भर हुन पनि मद्दत गर्दैन । कहीँकतै पनि यो विकास हाम्रा लागि लयमा छैन । अब हाम्रो विकासको बाटो भविष्यमा समाजवादमा पुग्ने हुन जरुरी छ । समाजवाद कुनै रहस्य वा चर्तिकला होइन, आजको हाम्रो विकासको गतिविधिले प्राप्त हुने राज्यव्यवस्था हो ।

त्यसैले हाम्रो विकासको बाटो प्राथमिक रूपमै समाजवाद–उन्मुख हुन जरुरी छ । त्यसले मात्रै हामीलाई समाजवादी दिशामा पुर्‍याउँछ र डोर्‍याउँछ । समाजवादका आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक खम्बाहरू भनेर हामीले धेरै पहिला परिभाषित गरेका थियौं । हाम्रोजस्तो देशमा यी चार खम्बाबाहेक प्राकृतिक स्रोत पनि एउटा ठूलो खम्बा मात्र नभएर मूल आधारस्तम्भ हो । यसरी हेर्दा विकासको दृष्टिकोणमा पूरै फेरबदल चाहिएको छ ।

प्रकाशित : माघ १२, २०८० ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?