कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

खाँचो प्रकृतिप्रति विनयशीलताको 

हडप्पा र मोहन्जो–दाडोजस्ता उन्नत सभ्यताको सत्यानाश वनहरूको अत्यधिक कटाइ र प्राकृतिक संसाधनको चरम दोहनको परिणति थियो ।
चन्द्रकिशोर

कुरा सुरु गरौं धार्मिक प्रसंगबाट । सीताको खोजतलाशमा लंका पुगेका हनुमानको पुच्छरमा घ्यू–तेलमा भिजाइएको कपडा बाँधिँदै थियो । पुच्छरमा आगो लगाउने तयारी हुँदै थियो । त्यहाँ नगरवासीहरूको भीड जम्मा हुन थाल्यो । तमासेहरूले हनुमानलाई लात मार्दै उपहास गर्न थाले । तुलसीदास कृत अवधि रामचरितमानसमा यस सन्दर्भमा लेखिएको छ, ‘कौतुक कहं आये पुरवासी, मारहिं चरन करहि बहु हांसी’ ।

खाँचो प्रकृतिप्रति विनयशीलताको 

तर जब हनुमानले पुच्छरमा आगो लागेपछि लंका दहन गर्न थाले, त्यही भीडले भन्न थाल्यो— अहो, यो त अनर्थ भयो, पुच्छरमा आगो लगाउनुहुन्नथ्यो । अर्थात्, तुलसीदास लेख्छन्, ‘हम जो कहा यह कपि नहिं होई, वानर रूप धरें सुर कोई । साधु अवग्या कर फलु ऐसा, जरइ नगर अनाथ कर जैसा’ । यो हो भीडको चरित्र । मान्छेहरू एक्लै हुँदा अलि फरक व्यवहार गर्छन्, विवेक र समझदारीमा हिँड्न खोज्छन् तर तिनै मान्छे जब भीडको हिस्सा बन्छन्, उनीहरूले आफ्नो स्वतन्त्र चेत गुमाउँछन् । भीडलाई अराजक, अनियन्त्रित र अवैधानिक गतिविधिहरूबाट रोक्ने साहस र विवेक कुनै नेतृत्वमा भयो भने उसले भीडलाई संयमित, सकारात्मक र सृजनशील बनाउन सक्छ ।

हिमाल, चुरे, नदी, जंगल, माटोको परिभाषा आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक सन्दर्भअनुसार व्यक्ति र समूहहरूपिच्छे फरक छ । यो कसैका लागि बासस्थान र बाँच्ने आधार हो भने कसैका लागि जीविका र अर्थ उपार्जनको स्रोत । यो कसैका लागि आवश्यक सम्पदा हो भने कसैका लागि कर उठाउने माध्यम । यो सबैको साझा हो । यसलाई जोगाउनुपर्छ किनकि यी स्रोतहरू भविष्यका सन्ततिलाई पनि आवश्यक पर्न जान्छन् र उपभोग गर्न सकिने अवस्थामा पाउनु उनीहरूको अन्तर्निहित अधिकार हो । तर भीडको मनोविज्ञान प्रभावी छ । जोकोही अन्ध नक्कल गर्न हौसिएका छन् । प्राकृतिक स्रोत र साधनको दोहन बहुतहका सरकार अस्तित्वमा आएपछि झन बढ्दै गएको छ । दोहन पहिला पनि हुने गर्थ्यो । बहुतहका सरकार बनेपछि यसप्रति स्थानीय दृष्टिकोण मुखर भएर आउने अपेक्षा थियो । सोहीअनुसारका भाष्यहरू खडा गरिएलान् भन्ने थियो । तर, यसतर्फ खासै प्रयत्न भएको पाइँदैन ।

प्रसिद्ध भारतीय पर्यावरणविद् अनुपम मिश्र भन्ने गर्थे, ‘प्रकृतिको क्यालेन्डर र हाम्रो घरको भित्तामा झुन्डिएको क्यालेडर भिन्नभिन्न हुन् । हाम्रो संवत्सरका पानाहरू एक वर्षमा बाह्र पटक फेरिएका हुन्छन्, तर प्रकृतिको क्यालेन्डर केही हजार होइन, लाख–करोड वर्षमा एक–दुई पन्ना फेरिएको हुन्छ । यसैले हामीले प्रकृतिको भूगोलका क्यालेन्डरलाई बिर्सनु हुँदैन । तर करोडौं वर्षका यी क्यालेन्डरलाई याद राख्नुको मतलब यो होइन कि हामीले आजको कर्तव्य नै बिर्सिहाल्नुपर्छ । यो त सामुन्ने रहनैपर्छ र काम पनि त्यहीअनुसार भइराख्नुपर्छ । नदी, हिमालयलाई कसैले एक्लै वा समूह बनाएर चुपचाप षड्यन्त्र गरेर मारिरहेको छैन । यो सब गर्ने हाम्रै मान्छेहरू हुन्, हामी नै हौं । मास्ने, दोहन गर्ने मानस हामीमा जो छ, त्यो कुनै षड्यन्त्रको उपज होइन, सर्वसम्मति हो । अहिलेसम्म विकासबारे हाम्रो जुन बुझाइ रह्यो, त्यसले गर्दा पक्ष–विपक्षको भेद मेटियो, यस्तो विकासयात्राले नै बहुपक्षीय संकट ल्याइरहेको छ । तर अझै विकल्प सम्भव छ ।

हिमालय पर्वतमाला, महाभारत शृंखला, नदी–जंगल वा माटो संरक्षणलाई लिएर अनेकौं उधारा नाराहरू आए, केही जुर्मुराएजस्ता पनि देखिए तर त्यसले समुदायमा निरन्तरता पाउन सकेन । लोकपरम्परा, त्यसको ज्ञान एवं आत्मविश्वासलाई राष्ट्रिय स्तरमा स्वर दिने सान्दर्भिकता सकिएको छैन । आजको आवश्यकता हो— पर्यावरणलाई सिंगो नेपालका सन्दर्भमा बुझ्नु, माटोको स्वाभाविक गुणवत्ताको महत्त्वलाई प्राथमिकता दिनु, हिमाल–पहाड वा नदीलाई टुक्राटुक्रामा नहेरी रैथाने ज्ञान परम्परालाई आत्मसात् गर्दै त्यसको वैज्ञानिकतालाई आलोकित तुल्याउनु । हिमाल–पहाड–मधेशका कुनाकाप्चामा यस सोचका साथ काम गर्ने हो भने, राम्रो समन्वय र तालमेल गरी काम गर्ने हो भने सपार्न सकिने ठाउँ अझै छ । मूल कुरा हो, प्रकृतिलाई कसरी बुझ्ने ? कसरी लिने ? प्रचलित भाष्यहरूको विकल्पबारे कसरी सोच्ने ? कि उही भीडको हिस्सा बन्ने ? सबैले ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने, एउटाको काममा अर्कोले सहयोग नगर्ने, एक थरीले ‘आगराको कुरा’ थाले अर्का थरीले ‘गाग्राको कुरा’ थाल्ने हो भने यति धेरै मानिसको मिहिनेत फेरि पनि बालुवामा पानी खन्याएभन्दा बढी हुने छैन । एउटा प्रदेशले थालेको ‘विकास’ ले अर्को प्रदेशमा विनाश ल्याउला कि भन्ने चिन्ता जायज छ ।

हिमाल नाङ्गो हुँदै गर्दा वा महाभारत बाँझो हुँदै जाँदा तराईले ‘यो त हाम्रो संकट होइन’ भन्ने, तराईभित्रै चुरे–नदी दोहन हुँदा पूर्वपश्चिम राजमार्ग छेउछाउका बासिन्दाले ‘दशगजातिर जेसुकै होस्’ भन्ने वा दशगजा छेउछाउकाले ‘यो चुरे, यो नदी, यो माटोको कुरा हामीले मात्र किन गर्ने’ भन्ने हो भने हामीलाई आसन्न विनाशबाट कसैले रोक्न सक्दैन । शताब्दियौंदेखि पानी हाम्रा लागि एउटा प्राकृतिक संसाधनका रूपमा उपलब्ध रहँदै आयो । तर यतिखेर यो एउटा उत्पादका रूपमा प्रस्तुत भइरहेको छ । यसबाट केही ‘पानी व्यापारी’ को धन जतिसुकै थपिएको भए पनि विपन्न एवं वञ्चित समूहको तिर्खा बढ्दै गएको छ । प्राकृतिक संसाधनमाथि खगोलीय हकदारी उदारीकरणको अभिन्न अंग बनेको छ । र यो उदारीकरणको काजलको गोलचक्करमा छिरेर प्राकृतिक संसाधनबाट स्थानीय समुदायलाई अलगथलग पार्ने दागबाट जोगिन सम्भव छैन ।

अहिले त्यही भइरहेको छ । जल, जमिन र जंगलमाथि स्थानीय समुदायको निर्भरता र त्यसमाथि यी समुदायहरूको उपयुक्त अधिकारको पवित्रता मानव विकासयात्राको अभिन्न पाटो हो । तर आज मानव मात्रको यस साझा धरोहरलाई भ्रष्ट नीतिकर्मी र मुनाफाधर्मीबाट खतरा उत्पन्न भएको छ । पानीको संकट मुलुकका विभिन्न क्षेत्रमा फैलिँदै गइरहेको छ । पानीको संकटले जीवनलाई दुरुह बनाउँंदै लगेको छ । हामी पानीको हाहाकारका बखत खुब कोलाहल गर्छौं, तर संकट अलि साम्यजस्तो हुनेबित्तिकै कुम्भकर्णी निद्रामा हुन्छौं । यो प्राकृतिक संसाधनको कमीले जुन विस्थापन हुँदै छ, यसले संस्कृतिको शोकगीत पनि रच्दै गरेको नोटिस गर्दैनौं ।

ठूला नदीहरूबारे विमर्श त हुन्छ तर सानासाना नदीहरूको प्रारूप र प्रयोजन प्रायः ओझेल पर्ने गर्छ । सानासाना नदीहरूको तात्पर्य केवल जलको धारा होइन, यो त संस्कृतिको पनि धारा हो । उपभोक्तावादको यस अराजक समयमा नदीहरूको सांस्कृतिक पक्षको चरम उपेक्षा हुँदै आएको छ । प्रत्येक नदीको आफ्नै प्रकृति र चरित्र हुन्छ । त्यही प्रकृतिअनुकूल उसले आफूलाई अनुशासित बनाएको हुन्छ । तर जब मान्छेहरूले नदीहरूको अनुशासित जीवनमा नियोजित हस्तक्षेप गर्छन्, तिनले संयम र अनुशासन छाडेर विनाशकारी रूप लिन पुग्छन् । जबजब मान्छेहरू प्रकृतिसँग जिस्किएका छन्, सामञ्जस्य गरेर बाँच्नुपर्ने कुरा बिर्सेका छन्, तबतब प्रकृतिले प्रतिकार गरेको छ । हडप्पा र मोहन्जो– दाडोजस्ता उन्नत सभ्यताको सत्यानाश वनहरूको अत्यधिक कटाइ र प्राकृतिक संसाधनको चरम दोहनको परिणति थियो भन्ने मत राख्नेहरूको संख्या बढ्दै छ । जसलाई हामीले प्राकृतिक विपदा भन्छौं, त्यो अधिकांशतः मानवकृत विपदा हो ।

प्रत्येक समुदायमा लामो कालखण्डमा विकसित ज्ञान समस्याहरूको सामनाबाट टुसाएको हो । जहाँको समस्या त्यहीँको समाधान । यो समाधानमा प्रकृतिमाथि विजयको भाव थिएन । स्वयंलाई विजित मान्नेबारे त विवेकी समाजले सोच्न पनि सक्दैन । प्रकृतिसँग सहकार्य गरेर टुसाएको विचारयात्रा — जुन समुदायविशेषको जीवनयात्रा थियो — मा प्रकृतिको स्वभावलाई बुझ्ने गहन प्रयास थियो, प्रकृतिले गरेको क्रोधप्रति घृणा होइन, विनयभाव प्रतिध्वनित हुन्थ्यो । प्रकृति त मान्छेको अभिन्न छिमेकी हो जसप्रति आदर भाव राखेर नै उसको प्रेम आर्जन गर्न सकिन्छ । हाम्रा पुर्खाहरूमा यो बुद्धिमत्तापूर्ण चेत बढी थियो । प्रकृति यस्तो स्रोत थिएन जसबाट केवल एकतर्फी लिन हुने तर उसको रेखदेख र संरक्षणको हेक्का नराख्ने गर्न हुन्थ्यो । मान्छे र प्रकृतिबीचको सम्बन्धलाई कुनै शासकले बनाएको थिएन । यो सम्बन्ध राजा–महाराजाहरूले बनाएका भए कुनै शिलालेखमा उत्कीर्ण गरिएको हुन्थ्यो । यो सबै समुदायविशेषको जीवनचर्याको अभिन्न अंग थियो । विरासतमा प्राप्त हुँदै आएको थियो ।

यतिखेर विशेषगरी प्रदेश एवं स्थानीय सरकारहरूले आफ्नो भूगोल, प्रकृति, वन–वनस्पति, समाज, संस्कृतिबारे खोजपूर्ण काम गर्न जरूरी छ । भनिन्छ, बिग्रेको घडीले पनि चौबीस घण्टामा एक पटक सही समय दिन्छ । त्यसैगरी यी सरकारहरूले यो काम गरेर त्यसबाट प्राप्त सन्देशलाई आत्मवरण गरे भने हामी जोखिमलाई थोरबहुत छल्न सक्छौं । यो सर्वाधिक महत्त्वाकांक्षी देखिए पनि नगरी सुख छैन ।

वर्तमानमा प्रकृति र पर्यावरणमा आइरहेको बदलावले नयाँ संकट उत्पन्न गरेको छ । अहिलेसम्म जुन विकास अवधारणाले हामीलाई परिचालित गरिरह्यो, त्यसबारे बहुकोणबाट सोचौं । विकल्पहरूबारे अब नयाँ तरिकाले बहस गरौं । नयाँ पुस्तामा यस्तो सोच आउँदै छ, जहाँ उनीहरूलाई भविष्य विकासको पथमा हिँडिरहँदा ज्यादै संकटमा पर्न थालेको अनुभव भइरहेको छ । तर शासकहरूले त्यसमाथि नै हिँड्न बाध्य पार्दै छन् । संकटको यस्तो अनुभूतिले अनेकौंलाई वैकल्पिक योजनाका रूपमा महात्मा गान्धीको विचारमा दृष्टि लगाउने प्रेरणा मिलेको छ ।

हाम्रो सन्दर्भमा कतिपय विकासवादीले गान्धीलाई अप्रासंगिक मान्ने भ्रमपूर्ण प्रचार गरिरहे । तर यो तथ्यबाट सर्वथा असहमत हुन निरन्तर असम्भव हुँदै आएको छ कि, विपन्न र वञ्चित समुदायका लागि गान्धी सर्वाधिक सार्थक विकल्पका रूपमा एक मात्र सम्भावना रहेछन् । गांधीको प्रख्यात उक्ति छ, ‘पृथ्वीमा मान्छेहरूका आवश्यकता पूर्तिका लागि पर्याप्त संसाधन छन् तर तिनको लोभका लागि छैन ।’

वास्तवमा गान्धीको अहिंसाको परिधिलाई मान्छेद्वारा मान्छेविरुद्ध हिंसाको निषेध वा शाकाहारका रूपमा मात्र बुझ्नु अधुरो पाठ हो । जबसम्म गान्धीले खोजेको अहिंसात्मक अर्थतन्त्र बुझिँदैन, तबसम्म उनको दृष्टि पनि बुझिँदैन । जल, जंगल, जमिनमाथिको अहर्निश दोहनले उत्पन्न गरेको भीषण नोक्सानीको सहस्रांशको पनि भर्पाइको सामर्थ्य अहिलेको विकासदृष्टिमा छैन । गान्धी चिन्तनको यो प्रबल उत्तरआधुनिक पक्ष हो । आवश्यकता (निड्स) र लोभ (ग्रिड्स) बीचको भिन्नता बुझ्ने र बुझाउँदै अघि बढाउने विनम्रतामै सामूहिक हित सुरक्षित छ ।

प्रकाशित : माघ ११, २०८० ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?