कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

मानव-हात्ती सहअस्तित्वमा बृहत् सहकार्य

प्राकृतिक वनको पुनःस्थापना, बासस्थान सुधार, न्यायपूर्ण राहत मूल्यांकन र वितरणमा छरितोपना, अन्तरसीमा सहकार्य, हात्तीका गतिविधिको अनुगमन र सूचना आदानप्रदान, हात्तीका आनीबानीबारे जनचेतनाजस्ता अल्पकालीन समस्या समाधान र दीर्घकालीन सहअस्तित्व निर्माणका कार्यहरू एकीकृत रूपमा सञ्चालन गर्न सके मानव–हात्ती द्वन्द्व घटाउन सकिन्छ ।

२०८० मंसिर र पुसमा मात्र झापा र मोरङ जिल्लामा हात्तीको आक्रमणमा परी छ जनाको ज्यान गयो । जलथल जंगलवरिपरि एक वर्षयता हात्तीको आक्रमणमा परी तीन जनाको मृत्यु भयो भने सोही क्षेत्रमै हात्ती पनि तीनवटै मरे वा मारिए । एक जना हात्ती आक्रमणबाट गम्भीर घाइते भए । घर, गोठ र बालीनाली क्षतिको फेहरिस्त निकै लामो छ । 

मानव-हात्ती सहअस्तित्वमा बृहत् सहकार्य

हात्तीले मारेका मानिसका शव विक्षिप्त बनाउने खालका थिए । दुइटा घटनामा त हात्तीको मृत्युको केही दिनलगत्तै मानिसमाथि आक्रमण भएको छ । यो घटना संयोग मात्र हुन सक्ला वा आतंकित हात्तीको प्रतिक्रिया पनि ? शवको प्रकृति र आक्रमणमा पर्नेहरूको अनुभव सुन्दा दोस्रो कुरालाई बल मिल्छ र हात्तीहरू बढी नै आतंकित वा उत्तेजित भएका हुन् कि भनी अनुमान लगाउन सकिन्छ ।

पूर्वी नेपाल, विशेष गरी झापाका बासिन्दाहरू हात्तीबाट आक्रान्त छन्, पाँच वर्षयता जलथल वनमा केन्द्रित भई काम गर्दा हामीले स्थानीय बासिन्दाका हैरानी प्रत्यक्ष देखेका छौं, पीडा महसुस गरेका छौं । हात्तीले घर–गोठमा क्षति पुर्‍याउने, खेतबारी र भकारी दुवै ठाउँको अन्नबाली नष्ट गर्ने गरेको छ । साँझबिहान घरबाहिर निस्किन र आवतजावत गर्न डरलाग्दो अवस्था छ भने, कमजोर घरमा कहिलेकाँही त सुतेको ठाउँवरिपरि हात्तीको सुँड नै आइपुग्छ । बिहान सबेरै उठेर विद्यालय जानेहरू त्रसित छन् । जंगलवरिपरि र कमजोर बनावटका घरमा बस्नेहरू हात्तीले कति बेला घर भत्काउने हो भनेर भयभीत हुँदै रात बिताउन बाध्य छन् ।

एकातर्फ हात्तीको आतंक छ भने अर्कातर्फ लामो र झन्झटिलो क्षतिपूर्ति प्रक्रियाले स्थानीय बासिन्दालाई हैरानी मात्र थपेको छैन, यसले हात्ती संरक्षणप्रतिको उत्तरदायित्वसमेत कमजोर बनाएको छ । हात्तीले घर र खेतीमा गर्ने सम्भावित क्षति र डरका कारण स्थानीय बासिन्दाहरूले हात्ती धपाउन राँको बाल्ने, चर्को माइक बजाउने, ट्र्याक्टर वा जेसीबी चलाउने गर्छन् । हात्तीनजिकै गएर होहल्ला र भीड, ढुंगामुढा र आक्रमण गर्दा हात्ती समूहबाट एक्लिने, झनै त्रसित हुने र क्षति बढ्ने हुन्छ । एकातर्फ स्थानीय बासिन्दाहरू हात्तीको गतिविधिदेखि पीडित छन् भने अर्कातर्फ स्वतन्त्र प्राणी हात्ती पनि मानव गतिविधिदेखि उत्ति नै पीडित छ । अन्नबाली, घर तथा गोठ जोगाउन खेतबारी तथा घरवरपर जडान गरिएको विद्युतीय नांगो तारले गर्दा हात्तीको विचरणमा झनै जोखिम थपेको छ ।

पछिल्ला दुई दशकमा हात्तीको गतिविधि बढेकामा स्थानीय बासिन्दाहरू एकमत छन् । बस्ती र खेतीबालीमा हात्तीको गतिविधि र क्षति बढ्दो छ । भद्रपुर नगरपालिकाको पृथ्वीनगरमा हात्ती हिँडेको बाटोमा पूजा गर्ने र हात्तीका पाइलापाइलामा मिठाई राख्ने गरेको सम्झिने प्रशस्तै भेटिन्छन् । मानव–हात्ती द्वन्द्व वा असमझदारी बढ्नुमा हात्तीको बासस्थान अतिक्रमित र वनविनाश हुनु हो भन्नेमा निकै चर्चा हुने गरेको छ । तर हात्तीको विचरण क्षेत्रमा भएको वनको अवस्थाबारे ध्यान पुगेको देखिँदैन । वनको अवस्थाबारे हामीले केही तथ्य नजरअन्दाज गरेका छौं ।

झापामा प्राकृतिक जंगल विकास गर्न सकिने दर्जनौं स्थानमा हामीले वृक्षरोपण गरेका छौं । वृक्षरोपण आफैंमा गलत हैन तर हाम्रो प्रजाति छनोट हचुवा छ, प्रकृतिसम्मत छैन । मसला, टिक, चेक्रासी, मलेसियन सालजस्ता बाह्य प्रजाति हाम्रो रोजाइमा परे, ती प्रजातिहरू न स्थानीय हुन् न त हात्तीका आहारा नै । यसरी वृक्षरोपण भएका ठाउँमा स्थानीय प्रजातिको पुनरुत्पादन नगण्य देखिन्छ ।

जलथल वनको एउटा खण्ड त निजी क्षेत्रलाई रबर खेती नै गर्न उपलब्ध गराइएको छ, जुन हात्तीको मार्ग र बासस्थान दुवै हो । यस्तै रबर खेती झापाका अन्य सामुदायिक वनमा पनि देख्न सकिन्छ । जलथल वनको एकतिहाइ भाग माइकेनिया जस्तो मिचाहा प्रजातिको अतिक्रमणमा परेको छ । यो मिचाहा प्रजातिले हात्तीको आहारा मात्र घटाएको छैन, वनभित्रै हात्तीको स्वतन्त्र विचरणमा समेत व्यवधान खडा गरेको छ । यसको नियन्त्रणमा सरोकारवालाको गम्भीरता बोलीमा मात्र सीमित छ, नियन्त्रणको सफल अभ्यासलाई विस्तार गर्न सकिएको छैन ।

एकातर्फ माइकेनियाले बिगारेको वनलाई अर्कातर्फबाट साललक्षित व्यस्थापनले बिगार्दै लगेको छ । जैविक विविधतामा धनी वनमा व्यवस्थापनले एकात्मकता बढाउँदै लागेको छ । यसबाहेक हात्तीको घाँसका लागि महत्त्वपूर्ण सिरु–काँस हुने क्षेत्रमा उल्टाकाँडा झारको प्रकोप बढ्ने सम्भावना छ ।

वन क्षेत्रभित्र पुनरुत्पादन राम्रो छैन । लटहरका पुराना रूख प्रशस्तै भएको जलथल जंगलमा अचेल लटहरका लाथ्रा भेट्नै मुस्किल छ । यसले जंगलभित्रै हात्तीको आहारा कम छ भन्ने बुझाउँछ । त्यसै गरी सिमसारहरू पनि बिग्रँदै छन्, पर्यटन विकासका नाममा भएका सिमसार बढोत्तरीका कार्यहरू वन्यजन्तुमैत्री छैनन् ।

व्यक्तिगत, समुदाय र राज्यस्तरबाट यो द्वन्द्व न्यूनीकरण गर्न विभिन्न प्रयास गरिएका छन् । विभिन्न प्रकृतिका तारबार लागाउने, ड्रोन प्रयोग गरेर धपाउने, बिजुलीको करेन्ट प्रवाह गर्ने, आहारा प्रजातिको वृक्षरोपणलगायतका वैकल्पिक खेतीको प्रयत्नसमेत गरिएको छ । अहिलेका अधिकांश प्रयास तत्कालीन समाधानका दृष्टिकोणले बनेका छन् र यिनले एक ठाउँको समस्या अर्कोतर्फ सार्ने मात्र काम गरेका छन् । दीर्घकालीन समाधानका लागि योजनाबद्ध प्रयासहरू हुनु अत्यावश्यक छ ।

हामीले नागरिकको जीउधन जोगाउन जति आवश्यक छ, त्यत्तिकै जरुरी छ हात्तीको संरक्षण पनि । जमिनको सबैभन्दा ठूलो प्राणीको अस्तित्व संकटमा छ । बासस्थान विनाश र खण्डीकरण, चोरीसिकारी, मानिसले गर्ने प्रतिक्रियात्मक कार्यका कारण यो भीमकाय जीव संकटमा परेकामा कुनै शंका छैन । जलवायु परिवर्तन र जैविक विविधता विनाशको पृष्ठभूमिमा हात्ती जोगाउने कुरा झनै चुनौतीपूर्ण छ ।

मानव जीउधनको सुरक्षा र हात्तीको संरक्षण सँगसँगै गर्न सबै सरोकारवाला गम्भीर बन्नुपर्ने देखिन्छ । अबको मानव–हात्ती द्वन्द्व न्यूनीकरण र सहअस्तिवको वातावारण निर्माणमा कुनै एउटा क्षेत्रको काम मात्र पर्याप्त हुँदैन । यसका लागि बहुपक्षीय र एकीकृत रणनीतिहरू आवश्यक पर्छन् ।

हामीले हात्तीको पुरानो विचरण र अरण्यभूमि फर्काउन त सक्दैनौं, वन बढाउने सम्भावना पनि निकै कम छ, तर विद्यमान वन क्षेत्रमा सुधार गर्ने प्रशस्तै ठाउँ छन् । नेपालका विभिन्न क्षेत्रमा वनको अवस्था सुधार गर्न र वन अतिक्रमण रोक्नका लागि बाह्य प्रजातिका वृक्षरोपणहरू भएका छन् । तीमध्ये झापाको रतुवामाई वृक्षरोपण क्षेत्र हात्तीको प्राकृतिक विचरण क्षेत्रमा पर्छ । विगतमा भएका गलत वृक्षरोपण क्षेत्रमा प्राकृतिक वन पुनःस्थापनाको आरम्भ यो कार्यको सुरुआत बिन्दु हुन सक्छ ।

रतुवामाई वृक्षरोपण क्षेत्रमा भएका मसलालगायतका बाह्य प्रजातिहरू हटाई प्राकृतिक वन लगाउन सुरु गर्नाले पारिस्थितिकीय प्रणाली पुनःस्थापनाको दशकका सन्दर्भमा नेपाल सरकारको संरक्षण प्रतिबद्धतासमेत बलियो बनाउँछ । बाह्य प्रजातिको वृक्षरोपण हटाई प्राकृतिक वन पुनःस्थापनाले आहाराको उपलब्धतासँगै बासस्थानसमेत सुधार गर्छ । तराई क्षेत्रमा खण्डीकृत वनलाई जोड्नु, मिचाहा प्रजाति नियन्त्रण गरी स्थानीय वनको पुनःस्थापना गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ । अहिले अपनाइएका वैकल्पिक खेती तथा तारबारजस्ता कार्यहरूलाई पनि व्यवस्थित र एकीकृत गर्दै जानुपर्छ ।

नेपालको संरक्षित क्षेत्रमा केन्द्रित रहेको वन्यजन्तु संरक्षणको दायरालाई फराकिलो पार्न आवश्वक छ । संरक्षण क्षेत्रबाहिर रहेका महत्त्वपूर्ण क्षेत्रहरूमा हात्तीको बासस्थान व्यवस्थापन गरी स्थानीय बासिन्दाहरूमा अपनत्व जगाउने कार्यले मानव–हात्ती सहअस्तित्वमा सकारात्मक योगदान गर्न सक्छ । साथै, हात्ती विचरणको कुनै राजनीतिक सीमा निर्धारण नहुने हुँदा अन्तरसीमा सहकार्यसहितको संरक्षण र हरित कूटनीतिलाई बलियो बनाउँदै मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा छिमेकी राष्ट्र भारतको समेत साथ र सहयोग लिन सक्नुपर्छ । हात्तीको आवागमनको सूचना आदानप्रदानदेखि, समस्याग्रस्त हात्तीको पहिचान तथा नियन्त्रणमा प्रविधि र संरक्षणका लागि आर्थिक क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग लिन सकिन्छ । मानवबस्तीमा हात्तीको प्रवेश घटाउन जैविक मार्गमा सघन व्यवस्थापन गर्नुपर्छ । हरित क्षेत्र र वन्यजन्तुमैत्री सिमसार व्यवस्थापन र सुधार पनि उत्तिकै जरुरी छ ।

हात्तीबाट हुने क्षतिमा नेपाल सरकारले व्यवस्था गरेको राहत सुस्त मात्र हैन, क्षतिका तुलनामा कम हुँदा पनि द्वन्द्व बढेको छ । क्षतिको मूल्यांकनका आधारमा द्रुत र सजिलो रूपमा राहत उपलब्ध गराउन सकियो भने पनि हात्तीलाई उत्तेजित बनाउने व्यवहारमा केही कमी ल्याउन सकिन्छ ।

-शर्मा र भट्टराई पाँच वर्षदेखि हात्ती प्रभावित जलथल क्षेत्रमा कार्यरत छन् ।

प्रकाशित : पुस १७, २०८० ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?