कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

जस्ता नेता-कार्यकर्ता छन्, हुने नै तस्करी हो 

तस्करीलाई अक्षुण्ण राखिराख्न समिति गठनको नाटक मञ्चन गरिन्छ । त्यस्ता समितिहरू तस्कर समात्नका लागि गठन गरिएकै हुँदैनन् भन्नेमा दुईमत नहोला ।

सुन तस्करीको प्रसंग फेरि समाचारहरूमा आयो । जति ठूलो परिमाणमा बरामद भए पनि सुन तस्करीको निरन्तरतामा क्रमभंगता नहुनुको प्रस्ट सन्देश हो— यो तस्करी राज्य संरक्षित र संगठित रूपमा निर्बाध भइरहेको छ र अपवादमा तस्कर समूहबीचको स्वार्थ–बेमेलका कारण बरामद हुने गरेको छ ।

जस्ता नेता-कार्यकर्ता छन्, हुने नै तस्करी हो 

यो निर्बाधको तस्करी र अपवादको बरामदगी हेर्दा राज्य संयन्त्रको मुहार र तस्कर समूहको जोखिम उठाउने प्रवृत्तिलाई बुझ्न खासै गाह्रो पर्दैन । जुन देशमा अरू केही चल्दैन, त्यहाँ मस्करी र तस्करी मात्रै चल्ने गर्दछ ।

राजनीतिक र प्रशासनिक क्षेत्रमा चाप्लुसी, मस्करी र व्यापारिक क्षेत्रमा धन्दा र तस्करी मात्र सम्भव छ भन्ने पुष्टि टनका टन सुन तस्करी र सोसँग मेल खाने अन्य सामाजिक–राजनीतिक घटनाक्रमले तथ्यसंगत रूपमा गर्छन् । सकारात्मक केही राम्रो गरेको वा गर्न खोजेको कुरो अपबादमा पर्नु र राज्य संयन्त्रको कुशासनको चक्र निर्बाध रूपमा सञ्चालन हुनुलाई राज्यको आन्तरिक विधि–प्रणाली पूर्ण रूपमा खलबलिसकेको र खुइलिसकेको रूपमा बुझ्नुपर्ने हुन्छ ।

तस्करी राज्यविरुद्धको गम्भीर फौजदारी अपराध हो तर व्यवहारमा यो राज्यको समर्थनमा चल्ने नियमित धन्दाका रूपमा विस्तार हुन गएको छ । नक्कली भुटानी शरणार्थी, ललिता निवासजस्ता आपराधिक घटनाहरू पनि सिद्धान्ततः राज्यविरुद्धको फौजदारी कसुरका रूपमा अदालतमा दर्ता गरिए पनि व्यवहारमा ती सबै अपराधको आधिकारिकतामा राज्यका अधिकारीको संलग्नता थियो । जसले अपराध रोक्नुपर्ने हो, उसैले अपराध जन्माउनु लोकतन्त्र र कानुनी राज्य भएको मुलुकमा विरलै हुने घटना हो ।

लफङ्गा नेता, लठैत तर निरीह दास प्रवृत्तिका कार्यकर्ता भएको देशमा मात्रै राज्यविरुद्धको अपराध राज्य समर्थनमा चल्ने गर्दछ र राज्य प्रणालीलाई अनपेक्षित र अवैधानिक कोर ग्रुप र चोर ग्रुपले कब्जामा राखेका हुन्छन् । अहिले यो कोर ग्रुपको घेरा साँघुरिएर आफ्नै सन्तानको कब्जामा पर्न गएको छ भने चोर ग्रुपमा लठैत कार्यकर्ताको धङधङी यत्रतत्र देख्न सकिन्छ । ‘हाम्रा महान् क्रान्तिकारी नेताका विरुद्धमा बोल्छस् ? तेरो बंगारा झारिदिऊँ ?’ भन्दै सार्वजनिक कार्यक्रममै झम्टिन आउने लठैत कार्यकर्ताहरूले गल्ली–मोहल्ला कब्जा गरेका छन् । यस्ता सबै खाले कब्जाको अन्तका लागि सामाजिक चेतना आ–आफ्नै अनुभव र अनुभूतिको जगमा राजनीतिक प्रणाली र पात्र परिवर्तनको मुद्दा पनि सशक्त तर असंगठित रूपमा समाजमा देखा पर्न थालेको छ ।

अहिले मुलुकमा जे भइरहेको छ, बेठीक भइरेको छ भन्नेमा लगभग आम सहमति छ तर बेठीकलाई ठीक र स्थायित्व दिने विकल्पका विषयमा एकीकृत र संगठित संकल्पको अभाव देखिन्छ । मुलुक फेरि जिन्दवाद र मुर्दावादको चेपुवामा पर्न थालेको छ । विगतमा जसलाई जिउँदो मानियो ती अहिले मूर्दातुल्य छन् र जो अहिले मूर्दासरि छन् तिनलाई फेरि जिउँदो तुल्याउन जिन्दावाद र मुर्दावादको समूहमा विभक्त हुन पुगेका छन् । यो विभक्तिको अन्तहीन खेलोमा देशभक्ति र राज्य सुशासनको शक्ति निरीह बन्न गएको छ ।

परिणामस्वरूप मुलुक फेरि अर्को राजनीतिक, सामाजिक र आर्थिक झट्काको सन्निकट रहेको देखिन्छ । यिनी नै फेरि हुँदै हुन्न भन्ने आम जनमतको बुझाइमा एकमत भए पनि यिनी र उनीको पछाडिको पनि अर्थात् उनी पनि त उस्तै भन्ने द्विविधामा मुलुक फस्न गएको छ । यो द्विविधाको सुविधामा रहेका विगतका जिन्दावादहरू मुर्दावादको अस्त्रबाट आफूलाई जोगाउन सफल भएका छन् । मुलुकभित्र प्रोत्साहन र दुरुत्साहनको परिस्थितिको स्थलगत अध्ययन–विश्लेषण गरेर तस्करले लगानीको जोखिम उठाउने गर्दछ । जहाँ तस्करी राज्यको प्रोत्साहन र प्राथमिकतामा पर्ने गर्दछ, त्यहाँ तस्करका लागि लगानी गर्ने ढुक्कको वातावरण बन्ने गर्दछ ।

अफ्रिकी मुलुकमा सुन तस्करीको सञ्जाल फैलाउन सफल भारतीय मूलका रमेश पटानीलाई एक संवाददाताले ‘तपाईं यसरी निस्फिक्री र ढुक्कका साथ कसरी सुन तस्करी गराउन सफल हुनुभएको छ ?’ भनी सोध्दा जवाफ आएको थियो, ‘म एउटा गोजीमा पैसा र अर्को गोजीमा सरकार प्रमुखलाई राखेर मात्रै सुन तस्करीमा लगानी गर्ने गर्दछु ।’ पटानीको जवाफ खोज्न अन्त कहीँ जानुपर्दैन, यसका लागि हाम्रो विमानस्थल नै साक्षी छ ।

विगतमा सरकार परिवर्तन गराउनेदेखि विमान अपहरण गराउनेसम्मको अन्तर्राष्ट्रिय छवि बनाउन र कालोसूचीमा पर्न सफल मुलुकको एक मात्र पुरानो विमानस्थल हाम्रो राजनीतिक उपलब्धि र सामाजिक चेतनाको प्रतिबिम्बका रूपमा लज्जित भएर ठिङ्ग उभिएको छ, जहाँ कि पहेंलो धातु सुन कि त पहेंलो वस्त्रमा श्रमजीवी स्वाभिमानी नागरिकका लासहरूको ओसारपसार हुने गर्दछ । राजनीतिको लछारपछार र तस्करीको ओसार–पसारलाई अक्षुण्ण राखिराख्न समिति गठनको नाटक मञ्चन गरिन्छ । त्यस्ता समितिहरू तस्कर समात्नका लागि गठन गरिएका हुँदै होइनन् भन्नेमा दुईमत नहोला ।

अनुसन्धानको वैधानिक बाटो र स्वाभाविक प्रक्रियालाई अवरुद्ध पार्न समिति गठन गर्ने र केही थान सुझाव दिने रणनीतिक उद्देश्य र प्रपञ्चका लागि गठन गरिएका यी भुत्ते समिति भत्तामुखी र सत्तामुखी मात्र हुन सक्छन् भनेर गठन गर्ने सत्तापक्ष र प्रतिपक्षलाई थाहा छ तर यसमा दुवैको आम र अन्धसहमति हुने गर्छ ।

सुन तस्करीको सञ्जालको सतहमा भरिया र पृष्ठभूमिमा जरिया अर्थात् ठूला लगानीकर्ता र संरक्षणकर्ता हुन्छन् । यी भरिया पनि कारबाहीको भूमिकाबमोजिम विभिन्न कित्तामा वर्गीकरण गरिएका हुन्छन् । हामीकहाँ अहिलेसम्म पक्राउ परेका सबै भरिया निर्णायक र ठूलो लगानी गर्नेहरू होइनन् । यी त तलबी र मतलबी भरिया मात्रै हुन् । वास्तविक लगानीकर्ता भरिया त प्रत्येक दलका प्रमुख नेता र राज्यदोहनको अवसरबाट पटकपटक लाभान्वित भएका नेतागण स्वयं पर्ने गर्छन्, जसले मुलुकदोहनका माध्यमबाट आर्जेको कालो धनलाई विभिन्न खाले तस्करी सञ्जालको विस्तारमा प्रयोग गरेका छन् ।

वैधानिक अधिकारप्राप्त अनुसन्धानले यिनै भरियाको जरियाबाट आफूलाई समेत समात्न सक्ने सम्भावना देखेर सोको रोकथाम तथा नियन्त्रणका लागि समिति गठन गर्ने गरिन्छ, जुन अपराधबाट बच्ने–बचाउने रणनीतिक उपायबाहेक केही होइन । प्रहरी ऐनको प्रस्तावनामा अपराध रोक्ने र अपराधी पत्ता लगाउने कार्यका लागि प्रहरी फोर्सको गठन गरिनेछ भनी स्पष्ट रूपमा उल्लेख छ ।

अर्थात्, कुनै पनि मुलुकमा या त प्रहरी स्वयंले वा प्रहरीको साथ–सहयोगमा अपराधी पत्ता लगाउनुपर्ने हुन्छ, यसबाहेक राज्यविरुद्धको अपराधमा अपराधी पत्ता लगाउने अर्को वैधानिक मार्ग नै हुँदैन । तर, यहाँ त अपराधी पत्ता लगाउनेभन्दा सत्ता टिकाउने सवाल प्रमुख हुन गएको छ र सत्ता टिकाउन हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलको भूमिका चिरस्मरणीय रहँदै आएको सर्वविदितै छ ।

सुन तस्करी वा मुलुकमा व्याप्त सबै खाले तस्करीभित्रको गुह्य कुरा यही हो, बाँकी सबै अनुसन्धानले नठहर्‍याएका आफूअनुकूलका अनुमानयोग्य विषय मात्र हुन् । अनुमानको सुविधालाई कायम राख्न र आफ्नो वास्तविक भूमिकालाई सुरक्षा कवच दिन गठन गरिने सबै खाले समितिको तत्काल खारेजी नगरी भरियाका माध्यमबाट अनुसन्धानको जरियामा पुगिँदैन भन्ने कुरा विगतदेखि नै पुष्टि–प्रमाणित हुँदै आएको छ ।

लोकतान्त्रिक प्रणालीका माध्यमले मुलुकको मुहार फेर्न सकिन्छ भन्ने विश्वास गुमाइसकेका पुरातन सोच भएका, अपराधजन्य कर्मबाट आर्जेको शक्ति र लठैत कार्यकर्ताको पोषणबाटै सत्ता टिकाउन सकिन्छ भन्ने मनोग्रन्थीबाट ग्रस्त नेतामा अब भने रूपान्तरणको सम्भावनाको कल्पनासम्म गर्न सकिन्न ।

यिनी वा उनीबाट चल्ने भनेकै तस्करी मात्रै हो, चाहे वस्तुको होस् वा व्यक्तिको, यी दुवै कार्यका लागि हाम्रो मुलुक ज्यादै ऊर्वर छ । यो विडम्बनालाई नयाँ खाले सम्भावनामा परिणत गर्न विद्यमान प्रणाली, प्रवृत्ति र पात्रमा ठूलै कम्पनको समीप हामी पुगेका छौं । यो सामीप्यको गर्भमा लुकेको परिणाम के होला भन्न सकिन्न, तर परिवर्तनको नियमले गर्ने खारेजी र स्थापनाले परिस्थितिको परिवेशलाई सम्बोधन गर्ने नै छ भनी विश्वास त गर्नैपर्‍यो ।

प्रकाशित : मंसिर २८, २०८० १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?