कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

जलस्रोत व्यवस्थापनमा स्थानीय संलग्नता

बंगलादेशले एक दशकमा बाढीको प्रभाव न्यूनीकरणका लागि प्रतिकार्य क्षमतामा उल्लेखनीय सुधार गरेको छ । मुख्यतया स्थानीयस्तरमा भएको क्षमता अभिवृद्धिले गर्दा कुनै समय दसौं हजारको ज्यान लिने बाढीका कारण हुने मृत्यु अहिले सयौंमा झरेको छ ।
विकास अधिकारी

अधिकांश देशले जलस्रोतमा अभूतपूर्व दबाब महसुस गर्न थालेका छन् । विश्वव्यापी जनसंख्या द्रुत गतिमा बढिरहेको छ र सन् २०३० सम्ममा विश्वले माग र पानीको उपलब्ध आपूर्तिबीच ४० प्रतिशत कमीको सामना गर्ने अनुमान गरिएको छ । खडेरीलाई विश्वव्यापी समृद्धि र स्थिरताका लागि सबैभन्दा ठूलो खतराका रूपमा लिइएको छ ।

जलस्रोत व्यवस्थापनमा स्थानीय संलग्नता

२०५० सम्म १० अर्ब मानिसलाई खुवाउन कृषि उत्पादनमा ५० प्रतिशत वृद्धि आवश्यक छ भने पानी निकासीमा १५ प्रतिशत वृद्धि । यो बढ्दो मागका अलावा, संसारका धेरै भागमा पहिले नै पानीको स्रोतको अभाव छ । विश्वको जनसंख्याको ४० प्रतिशतभन्दा बढी मानिस पानी अभाव भएका क्षेत्रमा बसोबास गर्छन् र विश्वको जीडीपीको लगभग एकचौथाइले यस चुनौतीको सामना गरिरहेका छन् । विश्व बैंकको प्रतिवेदनअनुसार, सन् २०४० सम्ममा चारमध्ये एक बच्चा चरम पानी अभाव भएको क्षेत्रमा बस्ने अनुमान गरिएको छ । पानी व्यवस्थापन आज धेरै देशका लागि एक प्रमुख र अक्सर बढ्दो चुनौतीका रूपमा रहिआएको छ ।

पानी पृथ्वीमा सबै प्रकारका जीवनका लागि आवश्यक स्रोत हो । यसले कृषि, उद्योग र घरायसी प्रयोगमा महत्त्वपूर्ण भूमिका खेल्छ । तसर्थ यो बहुमूल्य स्रोतको प्रभावकारी व्यवस्थापन आवश्यक छ । जल व्यवस्थापन विश्वव्यापी वा राष्ट्रियस्तरमा गर्नुपर्ने काम जस्तो लाग्न सक्छ तर प्रभावकारी जल व्यवस्थापनको जग स्थानीयस्तरबाट सुरु हुन्छ । जलस्रोतको संरक्षण, संवर्द्धन र प्रभावकारी उपयोगमा स्थानीय समुदायले महत्त्वपूर्ण भूमिका खेल्छन् । यहाँ स्थानीयस्तरबाट पानी व्यवस्थापन किन सुरु हुन्छ र यसले के फाइदा गर्छ भनेर चर्चा गर्न खोजिएको छ ।

स्थानीयले सतहको पानी, भूमिगत पानी, खानेपानी र सिमसारको संरक्षण तथा व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्छन् । ‘स्थानीय’ ले यहाँ ग्रामीण इलाकालाई जनाउँछ जहाँ ग्रामीण मानिस बसोबास गर्छन् तर अहिले ५० प्रतिशतभन्दा बढी जनसंख्या सहरमा बस्ने भएकाले र प्रतिदिन थप २ लाख मानिस सहरमा बसाइँ सर्ने गरेकाले सहरी स्थानीयसमेत छन् । केही साना र मध्यम आकारका देशमा ‘स्थानीय’ ले राष्ट्रियस्तरलाई पनि समावेश गर्छ । अधिकांश देशमा पानी व्यवस्थापनको जिम्मेवारी क्षेत्रीय वा स्थानीयस्तरमा प्रत्यायोजन गरिएको छ र केहीमा राष्ट्रिय रूपमा समेत सञ्चालन गरिन्छ । अधिकांश देशमा पानी व्यवस्थापनका नियम र लगानीहरू क्षेत्रीय, प्रान्तीय वा नगरपालिकास्तरका छन् ।

सबै तहमा पानीको आपूर्ति प्रमुख मुद्दा हो । स्थानीय पानी आपूर्ति प्रायः नदी, खोला वा भूमिगत स्रोतबाट हुने गर्छ । संसारका ७० वटा ठूला नदी पहिले नै लोप भइसकेका छन् । विशेष गरी आर्थिक गतिविधि सञ्चालन गर्नका लागि मानिसले नदीलाई समुद्रसम्म पुग्न दिँदैनन् । यद्यपि पानीको विशेषता अद्भुत छ, पानीको उपयोगका लागि पूर्वाधार आवश्यक हुन्छ जसमा प्रारम्भिक लगानी र मर्मत–सम्भार दुवैमा खर्च चाहिन्छ । रोगको बोझ, खाद्यान्नको अभाव र घट्दै गएको आर्थिक गतिविधिले पानी व्यवस्थापन र पूर्वाधारमा भएको कमजोरीलाई प्रस्ट पार्छ । त्यसकारण पानीको सहज आपूर्तिका लागि विशेष गरी स्थानीय तहमा बजेट व्यवस्थापन र प्राविधिक क्षमतासम्बन्धी चुनौती छ । आर्थिक सहयोग विकास संगठन (आईसीडी) ले पानी आपूर्तिका लागि नयाँ पूर्वाधार निर्माण र स्तरोन्नति गर्न विश्वमा सेवाप्रदायकले बजेट अभावको सामना गरिरहेको तथ्य सार्वजनिक गरेको छ ।

स्थानीय संस्कृति, इतिहास, धर्म, भूगोल, अर्थतन्त्र, जलविज्ञान तथा माटोको वास्तविकतामा आधारित रहेर पानीको व्यवस्थापन स्थानीय रूपमा गरिन्छ । पानीको व्यवस्थापनमा स्थानीय संस्कृति र अर्थ व्यवस्थाको विविधताले तात्त्विक फरक पार्छ । पानीको समस्याका कारण सिर्जित हुने अवस्थाहरू संसारभरि एकै हुँदैनन् । जस्तै– अस्ट्रेलियामा सातवर्षे खडेरीमा पनि कोही भोकै परेनन् र कुल गार्हस्थ्य उत्पादनमा गिरावट पनि आएन । तर सोमालियामा सोही कारणले उत्पादनमा ह्रास आई धेरैको मृत्यु भयो । यस्तै, स्थानीय तयारी र प्रतिकार्यका आधारमा एउटै प्रकारको बाढीमा पनि फरकफरक प्रभावहरू पर्ने गरेका छन् । उदाहरणका लागि, बंगलादेशले एक दशकमा बाढीको प्रभाव न्यूनीकरणका लागि प्रतिकार्य क्षमतामा उल्लेखनीय सुधार गरेको छ । मुख्यतया स्थानीयस्तरमा भएको क्षमता अभिवृद्धिले गर्दा कुनै समय दसौं हजारको ज्यान लिने बाढीका कारण हुने मृत्यु अहिले सयौंमा झरेको छ ।

पानीका स्रोतहरूको संरक्षक : स्थानीय समुदाय प्रायः नदी, ताल तथा मूलजस्ता पानीका स्रोतनजिक बस्छन् । तिनीहरू प्रदूषण र अतिक्रमणविरुद्धका पहिलो सिपाही हुन् । नेपालमा सन् २०२१ मा गरिएको एउटा अध्ययनअनुसार, पश्चिम पहाडी क्षेत्रका ७० प्रतिशतभन्दा बढी जलस्रोतमा पानीको स्तर घटेको छ, त्यस्तो गिरावट पछिल्लो दशक सबैभन्दा बढी देखिएको छ । स्थानीय समुदाय यी स्रोतहरूको थप पतन रोक्नमा महत्त्वपूर्ण हुन्छन् ।

परम्परागत ज्ञानको संरक्षण : समुदायसँग पानी व्यवस्थापनका बारेमा अमूल्य परम्परागत ज्ञान छ । उदाहरणका लागि, भारतमा आदिवासी समुदायले पुस्तौंदेखि वर्षाको पानी संकलन गर्ने प्रविधिहरू अपनाउँदै आएका छन् । यी विधिले पानीको संरक्षण मात्र गर्दैनन्, जलभण्डार रिचार्ज पनि गर्छन् । यस ज्ञानको सदुपयोग दिगो पानी व्यवस्थापनका लागि आवश्यक छ । सन् २०१२ मा नेपालको मध्य हिमालय क्षेत्रमा गरिएको एउटा अध्ययनले भूमिगत पानीको संरक्षण हिमनदी संरक्षणभन्दा ६ गुणा बढी प्रभावकारी भएको देखाएको छ ।

पहिलो अन्वेषणकर्ता र रिपोर्टर : स्थानीय समुदाय प्रायः पानीको गुणस्तर वा मात्रामा परिवर्तन पत्ता लगाउने पहिलो व्यक्ति हुन् । समसामयिक मुद्दाहरूलाई तुरुन्तै सम्बोधन गर्न तिनीहरूको सतर्कता महत्त्वपूर्ण छ । प्रारम्भिक पहिचानले पानीसम्बन्धी संकटको वृद्धिलाई रोक्न सक्छ । स्थानीय समुदायलाई पानीका स्रोतहरूमा भएका परिवर्तनहरूको अनुगमन गर्न र रिपोर्ट गर्न प्रोत्साहित गर्नु आवश्यक छ ।

द्वन्द्व समाधानका सारथि : सीमित पानीको सीमित स्रोत भएका क्षेत्रमा पानीको पहुँचले विवाद निम्त्याउन सक्छ । यस्ता द्वन्द्वहरू समाधान गर्न स्थानीय जनप्रतिनिधि र समुदायले प्रायः मध्यस्थताको भूमिका खेल्छन् । तिनीहरूमा भएको अवस्थाको ज्ञानले पानीसम्बन्धी तनावको सम्भावनालाई कम गर्दै सरोकारवालाबीच थप प्रभावकारी समाधान र सहयोग लागि टेवा पुग्छ ।

नीति परिवर्तनका लागि वकालत : स्थानीय समुदायले दिगो पानी व्यवस्थापनलाई प्राथमिकता दिने नीतिहरूको वकालत गर्न सक्छन् । जब स्थानीयलाई नीतिनिर्माताले नीतिनिर्माणमा संलग्न गराउँछन्, तब तथ्यमा आधारित बाध्यकारी कानुनहरू निर्माण हुन्छन् र उनीहरूले आगामी पुस्ताका लागि पानीका स्रोतहरूको संरक्षणमा योगदान पुर्‍याउँछन् । ‘पानी भनेको स्थानीय हो’ भन्ने कुरा नेपालमा मात्र सीमित छैन, यो विश्वव्यापी सत्यका रूपमा प्रतिध्वनित हुन्छ ।

पानीका समस्या विश्वव्यापी रूपमा पुनरावृत्त हुँदा समाधान स्पष्ट रूपमा हाम्रा स्थानीय समुदायमा निहित छ । विश्वभरका स्थानीय सरकार र समुदायलाई तिनीहरूको जलस्रोतको भण्डारण गर्न सशक्तीकरण गरेर हामीले वर्तमान र भावी पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुरक्षित गर्न, हाम्रो वातावरणको रक्षा गर्न र हाम्रो समाजलाई सुदृढ तुल्याउन सक्छौं । पानीका स्रोत व्यवस्थापनमा स्थानीय समुदायको पहिचान र सशक्तीकरण गर्नु विकल्प मात्र होइन, आवश्यकता पनि हो ।

अन्त्यमा, हामीले सामना गर्ने चुनौतीहरूको विश्वव्यापी दायराका बाबजुद समाधान हाम्रै स्थानीय समुदायमा छन् । तसर्थ ज्ञान, तथ्यांक, विचार र प्रविधि साझा गरीे यसको संरक्षण र समान वितरणका लागि साझा जिम्मेवारीमा हामी एकताबद्ध हुन सके दिगो पानी व्यवस्थापनतर्फको यात्रा घरबाटै सुरु हुने निश्चित छ ।

प्रकाशित : मंसिर १२, २०८० ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?