कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

बाराकोट उज्यालो छैन पणका छायाले

देशमै सबैभन्दा पछाडि परेका कर्णाली र सुदूरपश्चिम प्रदेशमा अन्य भूभागमा भन्दा धेरै प्राकृतिक विपत्ति परेर पटकपटक नागरिकहरूको मृत्यु हुनुलाई सामान्य मान्न सकिन्न । मर्ने त गएगए, बाँच्नेका चहराइरहेका घाउहरूमा सरकारले तत्कालै मल्हमपट्टी लगाओस् ।
नन्दकृष्ण जोशी

रामीडाँडा सिर्पाचौर हरियो वन पनि
मेराई जति मान्दो रैछ साई तिम्रो मन पनि
जाजरकोटको बाराकोट केन्द्रबिन्दु बनाएर कात्तिक १७ मा गएको भूकम्पका कारण १५४ ले ज्यान गुमाए, जसमा रुकुम पश्चिमका पनि परे । राति मस्त सुतेका मानिसले अकालमा ज्यान गुमाए । दुवै जिल्लाका गरी ६० भन्दा बढी बालबालिकाको दुःखद निधन भयो । टेलिभिजनका पर्दामा देखिएको दाहसंस्कारको चापले २०७२ को भूकम्पको विनाश सम्झायो । 

बाराकोट उज्यालो छैन पणका छायाले

गत असोज १६ र १७ मा बझाङको तलकोट (यो पंक्तिकारको जन्मभूमि) केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पको कहर कम हुन नपाउँदै जाजरकोट र रुकुम पश्चिममा भूकम्प जानु संयोग र नियति मात्र मान्न सकिँदैन । दिनमा गएकाले बझाङ जिल्लामा सुक्खा पहिरोमा परी एक महिलाको मात्र ज्यान गयो, थप मानवीय क्षति हुन पाएन । तर, जिल्लाका झन्डै १२ हजार घर बस्नलायक रहेनन् । विशेष गरी दलित बस्तीहरू यसको मारमा परे । थलारामा दलित बस्तीका मानिस अहिले पनि पालमुनि रात बिताइरहेका छन् ।

देउडा गीतको सिर्जनशील भूमि जाजरकोटमा अझ ठूलो भूकम्प जाँदा पंक्तिकार आफैं देउडा गायक रहेकाले दुःख लाग्नु स्वाभाविकै हो । २०४५ सालताका जाजरकोट जिल्लाका गायक शेरबहादुर अधिकारी र यो पंक्तिकारले माथि उल्लिखित देउडा गीत रेडियो नेपालमा गाएका थियौं । हामी दुवैले ‘कठैदैन’ नामक गीति क्यासेट पनि बजारमा ल्यायौं । अहिले शेरबहादुरजी यो लोकमा हुनुहुन्न, तीन वर्षपहिला कोरोनाका कारण उहाँको निधन भयो । तर, गीतले बाराकोट, रामीडाँडा र उहाँको याद दिलाइरहेको छ ।

बाराकोट उज्यालो छैन पणका छायाले

मौरी घुम्छ रसका थोपा म घुम्छु मायाले

शेरबहादुरजी र यो पंक्तिकारले गाएको उपर्युक्त देउडा गीतले इतिहासलाई ब्युँझायो । भीर र चट्टानले सूर्यका किरण छेकेकाले बाराकोटमा छाइलो पर्‍यो । तर, अहिले भूकम्पका कारण त्यो ठाउँका मृतकहरूका घरमा छाइलो पर्‍यो । कस्तो दुःखद संयोग ! भेरी नदीले छुट्याएका यी बझाङ र जाजरकोटका मौलिक भाकाहरू धेरै गायकगायिकाले रेडियो नेपालमा स्वराङ्कन गरेका छन् । चन्द्रकला शाह, मधुबाबु थापा, प्रेमदीप गिरी, मधुकर शाह, अरुणकुमार शाह, शेरबहादुर अधिकारीसहित पंक्तिकारले पनि त्यस ठाउँका कर्णप्रिय भाकाहरू देउडा, पैसेरु, टप्पा गाउँदाका दिनहरू अब सम्झनामा सीमित छन् । क्यासेटको जमाना हरायो । ती कर्णप्रिय लोकभाकाहरू रेडियो नेपालको पुस्तकालयमा सुरक्षित होलान् भन्ने आशा मात्र राख्न सकिन्छ ।

देउडा गीत संकलनका क्रममा र क्यासेट बिक्री गर्ने उद्देश्यले पनि २०४९ भदौमा म जहाजमा नेपालगन्जबाट चौरजहारी विमानस्थल पुगें । दुई घण्टाको पैदल यात्रापछि भेरी नदीको तीरमा रहेको सानो बजार मटेलामा बास बसें । वर्षामास, भेरी नदीको जवानीको जोसले तर्सायो । नदी माथिको त्यस बेलाको पुरानो पुल तरेर एक रात मटेला बजारमा बिताउँदा उडुस मेरा साथी बनेका थिए ।

भोलिपल्ट मटेलाबाट भरियाका साथ तीन घण्टा तेर्सैतेर्सो उकालो हिँडेपछि रमणीय सदरमुकाम खलंगा पुगें । त्यहाँ तीन दिनको बसाइपछि गायक शेरबहादुरजीको जन्मस्थल पजारुतिर प्रस्थान गरें । चार घण्टाको पैदल यात्रापछि उहाँ भेट गर्न आउने खबरले बीच बाटोमा एक जनाको घरमा रात बिताएँ । भोलिपल्ट उहाँ आउनुभयो । बेलुका सदरमुकाम पुगेपछि रातभर गीत गाएर रैवार साटासाट गर्‍यौं । थप दुई दिनको बसाइमा खलंगा बजार संगीतमय बन्यो । होटलवाली बहिनीले त तीन दिनको खानाको पैसा पनि लिइनन् ।

अहिले सञ्चारमाध्यममा भूकम्पका कारण मानिसहरूका घर भत्केको, पालमुनि रात बिताइरहेको, राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूले पीडितको गतिविधि बुझ्न बाक्लो उपस्थिति जनाइरहेको देख्दा पीडित पक्षलाई बाँच्ने आशा जागेको हुनुपर्छ ।

कर्णाली, सेती, महाकाली र भेरी नदी चार दिदीबहिनीजस्तै लाग्छन् । हुम्ला जिल्लाको उत्तरी सिमानाबाट बग्दै आएको कर्णालीले भेरी नदीलाई तराईमा भेट्छ । भेरी नदी सुसाएको बखत कर्णाली हामफालेर बग्ने गर्छ । कवि–कलाकारहरूले प्रकृतिको भाषा बुझ्ने गर्छन् । त्यही भएर महाकाली, सेती, कर्णाली र भेरी नदीका जिल्लाका लोकगीतहरू जीवन्त छन् । गाउने तरिका फरक भए पनि गीतको भावार्थ एउटै छ ।

कला र गीत–संगीतले सिँगारिएका सुदूरपश्चिम र कर्णाली प्रदेशमा मात्र एक महिनाको अन्तरालमा विनाशकारी भूकम्प जानुलाई नियति भन्ने कि प्राकृतिक दशा ? प्रश्न अनुत्तरित छ । देशमै सबैभन्दा पछाडि परेका कर्णाली र सुदूरपश्चिम प्रदेशमा अन्य भूभागमा भन्दा धेरै प्राकृतिक विपत्ति परेर पटकपटक नागरिकहरूको मृत्यु हुनुलाई सामान्य मान्न सकिन्न । मर्ने त गएगए, बाँच्नेका चहराइरहेका घाउहरूमा सरकारले तत्कालै मल्हमपट्टी लगाओस् ।

प्रकाशित : मंसिर ५, २०८० ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?