कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

जवानी बेचेर रसदपानी ?

नेपालको खेतीपाती असम्भवप्रायः कृषि गर्न अरूको नक्कलको सिकार भएको छ । यसले अरूकै उक्साहट र देखासिकीमा तथाकथित आधुनिक प्रविधिको जगमा उभिएर समग्र प्रकृति र पर्यावरण दोहनको ‘क्रान्ति’ को बाटो समाउने सपना देख्यो ।
कृष्णप्रसाद पौडेल

केही दशकअघिसम्म खेतीपाती स्वाभिमानी किसानको सामाजिक उद्यम र यसबाट आउने उपज खानयोग्य, विविधतापूर्ण र पोषणयुक्त प्राकृतिक उत्पादन थियो तर अब यस्तो रहेन । यो कृत्रिम रसायन, विषादी र प्रविधिको सहायताले औद्योगिक कारखानामा बनाइने व्यापारको वस्तुमा परिणत भएको छ । मुख्यतः कृत्रिम रसायन र विषादीले हावा, पानी र माटो विषाक्त भएको छ । समग्र खाद्य प्रणाली अहिले संकटको संघारमा छ । यसबाट आउने खानेकुराबाट मानव स्वास्थ्य तहसनहस बन्दै गएको छ ।

जवानी बेचेर रसदपानी ?

यस्तो परिणतिको आफ्नै इतिहास छ । पछिल्लो समय भएको कृत्रिम जैविक रसायन (युरियाको प्रयोगशालामा आविष्कार) एउटा बलियो उदाहरण हो । यो नै आजको संकटको मुख्य कारक र परिणाम पनि हो । यसमाथि विसंगत कृत्रिम मानवको प्रविधि विकासले मानवीय विवेकलाई थप उत्ताउलो बनाउँदै प्रकृतिलाई भौतिक उपभोग्य वस्तु र साधनको अत्यन्त साँघुरो घेरामा सीमित गरिदिएको छ ।

यस पृथ्वीमा हाम्रो जीवन आदिकालीन जीव साइनोब्याक्टेरिया र हरितकोष पाइने वनस्पतिले मात्र सम्भव बनाएका हुन् । किनकि यिनले मात्र सौर्य ऊर्जा उपयोग गरी आफ्नो खानाको बन्दोबस्त आफैं गर्छन् र अन्य सबै जीवलाई ऊर्जाको बन्दोबस्त गर्न चाहिने खुराक उपलब्ध गराउँछन् । यस अर्थमा, समग्र जीवन प्रक्रियामा हरितकोषको खास महत्त्व छ ।

यो नै यस पृथ्वीको ऊर्जा चक्रको प्रारम्भबिन्दु हो । जीवन प्रक्रियाको यो बन्दोबस्तमा मानिस मात्र अपवाद हुन सक्ने कुरै छैन । भविष्यमा मानिसको जैविक गुणमै हरितकोष भएका जीवले जस्तै खाना बनाउने बन्दोबस्त भएछ भने त्यति बेलै कुरा गरौंला । अन्यथा, मानिसले समेत प्रकृतिको यही शाश्वत नियमभित्र बसेर आफ्नो खानाको बन्दोबस्त गर्नुपर्ने हुन्छ ।

प्रकृतिको यही नियम बुझेरै हाम्रा पुर्खाले १० हजार वर्षदेखि प्रकृतिसम्मत हरित कृषि प्रणालीलाई उन्नत बनाउँदै चलायमान बनाएका हुन् । तर समय र गतिसँगै उत्ताउलो बन्दै गएको आधुनिक मानिसले यसको मर्म बिर्संदै गएको छ । मानिस आफैंले प्रकृतिको लयबाट सिकेर गरेको आविष्कार र यसैका आधारमा विकसित प्रविधि दुरुपयोग हुँदै जाँदा यो नै अहिले मानवीय संकटको कारक बनेको छ । विकसित हुन भन्दै गरिएको प्रकृतिदोहन र नियन्त्रणको होडले प्रकृतिको शाश्वत नियम भत्काएको छ ।

यसैको परिणामस्वरूप अहिले हामी गन्तव्यहीन यात्रामा छौं । प्रकृतिको नियमविपरीत गरिएका उत्ताउला व्यवहारकै कारण यस्तो भएको हो । यो कुरा सजिलै बुझ्न मानिस मात्रका कारणले भएको जलवायु परिवर्तन र यसको बढ्दो असर र प्रभावलाई हेरे पुग्छ । एकातिर, प्रकृतिदोहनको यात्रासँगै सुरु भएको भौतिक विकासको अन्त्यहीन यात्राले जैविक विविधता मासिँदै गएको छ भने अर्कातर्फ विकास भित्र्याउन गरिएको खनिज ऊर्जाको अत्यधिक प्रयोगले वातावरणमा हरित ग्यास बढ्ने क्रमसँगै तापक्रम वृद्धि, वर्षा, मौसममा अनिश्चित फेरबदल, विषाक्त वातावरण र जैविक असन्तुलन बढेको छ । यसले हामीलाई अनिश्चयसँगै गन्तव्यहीन यात्रातर्फ धकेल्दै लगेको छ । यो अचेल समाजका सबै क्षेत्रमा अनुभव गर्न सकिन्छ । यो फेरबदलले निम्त्याएको असुरक्षा भाव, निराशा, कुण्ठा र सामाजिक–मानसिक तनावको हिसाब बेग्लै छ । यो सबैको परिणामस्वरूप समाज अस्थिर र भयभीत बन्दै गएको छ भने व्यक्ति थप विचलित भएको छ । आजको युवा–पलायन यसको उदाहरण मात्र हो ।

यी सबैको पृष्ठभूमिमा, आधुनिक मानवको यो गन्तव्यहीन यात्रामा पैसा फलाउने अर्थव्यवस्था जिम्मेवार छ । यो एक हिसाबले मनोरोगका रूपमा विकसित भएको छ । एकआपसमा साटफेरका लागि मात्र बजारको साधनका रूपमा विकसित भएको पैसा अहिले नाफा मात्र कमाउने बजारवादको मुख्य दलाल बनेको छ । परिणामतः अहिले सबैलाई पैसा भए सबैथोक हुन्छ भन्ने भ्रम बढेको छ । एक छिनलाई सोचौं त, कसैले खेतीपाती गरिदिएन भने हामी पैसा खाएर बाँच्न सकौंला ? के हामी पैसा खाएर बाँच्न सक्छौं ?

यसरी हेर्दा, प्रकृति नियन्त्रणको प्रविधि र पैसा मात्र फलाउने बजारवादको प्रवृत्ति नै आधुनिक मानव समाजका मुख्य चुनौती हुन् । यसका पछि मात्र दगुर्ने सोचले मानिसले बिराउँदै गएको प्रकृतिसम्मत बाटो समयमै फेर्ने र सच्चिने विवेकलाई जोड दिनुभन्दा अहिले आफू हिँडेको संकटग्रस्त बाटोलाई नै गन्तव्य बनाउन सबैलाई उक्साएको छ । यसलाइ प्रश्रय दिन सरकार र यसका सञ्चालक राजनीतिक अगुवाहरू सबैभन्दा अघि छन् । आज हामी सबैले भोग्दै गरेको संकट र यसले भविष्यमा निम्त्याउने थप संकट यिनै अगुवाको निकम्मापनका परिणाम हुन् ।

त्यसो त यो गन्तव्यहीन यात्राका परिदृश्य र यसका दुष्परिणाम जीवनका सबै आयाममा छरपस्ट छन् । यो सबैले हाम्रो समाज आक्रान्त छ । तर कुरा फेरि पनि जीवनको आधारभूत पक्ष खाना र खेतीपातीको बन्दोबस्तमै केन्द्रित गरौं ।

अरू सबै क्षेत्रभन्दा बढी नेपालको खेतीपाती असम्भवप्रायः कृषि गर्न अरुको नक्कलको शिकार भएको छ । यसले अरूकै उक्साहट र देखासिकीमा तथाकथित आधुनिक प्रविधिको जगमा उभिएर समग्र प्रकृति र पर्यावरण दोहनको ‘क्रान्ति’ को बाटो समाउने सपना देख्यो । यसले सम्म मैदानी कृषि विकासको फुर्को समाएर पाँच दशकदेखि हामीलाई आधुनिक कृषि बनाउने दौडमा सामेल हुन बाध्य बनाएको छ ।

अहिले हामीले जवानी बेचेर खाना र पानी किन्ने सपना साँचेका छौं । यो सपनाको आयात गर्न यसको नाइके सरकार र यसले नै पालनपोषण गरेका कृषि कर्मचारी, दलाल व्यापारी र दलाल कृषिविज्ञ सामेल छन् । सरकार यही दौड जित्न भन्दै आवधिक योजना, वार्षिक नीति तथा कार्यक्रम र दाताका परियोजनाको गोलचक्कर लगाइरहेको छ । धेरैले यसैको गीत गाइरहेका छन् ।

यो नै नेपालको कृषि पलायनको यात्राको जग हो । हरित कृषि क्रान्तिकै जगमा उभिएको दलाल कृषि प्रणालीकै कारण नेपाली कृषि मूलबाटो छोडेर संकटको डिलमा पुगेको छ । यसको प्रमाण खोज्न धेरै दिमाग खियाउनै पर्दैन । आधुनिक हुने नाममा भित्र्याइएका प्रविधि, बीउ, मल र यान्त्रिकीकरणको भार खेप्न नसकेर मूलबाटो छोडेको खेतीपाती सम्हाल्न नसकेका ५० लाख किसान आफ्नै खेतबारीको डिलबाट हाम फालेर खाडीको मरुभूमिमा पुगेका छन् । के नेपालको कृषि बुझ्न योभन्दा ठूलो प्रमाण चाहिन्छ ?

यस्तो हरित क्रान्तिको गोलचक्कर लगाउन बाध्य बनाएर अधोगतिको यात्रामा हिँडाउने राजनीतिक तथा प्रशासनिक अगुवाले निम्त्याएको यो परिणाम हामी सबैका सामु छर्लङ्ग छ । खाद्य आयात थामिनसक्नु छ । खाना मन्दविषले भरिएको छ । खाना र खेतीपाती प्रणाली नै गडबढ छ । वातावरणीय ह्रास र जलवायु परिवर्तनको असर र प्रभावले निम्त्याएको चुनौती सामना गर्न किसानको परम्परागत ज्ञान, सीप, कौशलले नसक्ने भएको छ । जलवायु परिवर्तनले निम्त्याएको संकट सम्बोधन गर्न हरित कृषि प्रणालीको विकल्प छैन ।

यो सबैले के देखाउँछ भने, हावा, पानी, माटो र वातावरण यसरी बिग्रँदै गएको छ कि यसलाई तत्कालै सम्हाल्ने सोच नपुगे यही पुस्ताले भोकमरी र खाद्यसंकटको अभाव झेल्न अब ५० वर्ष पनि लाग्दैन । त्यसमा पनि हाम्रो जस्तो कुशासनमा जकडिएको नेतामुखि समाजको चित्र झनै कहालीलाग्दो छ । किनकि यी आम मानिसले भोगिरहेका समस्याबाट भाग्न सुतुरमुर्गले जस्तो टाउको लुकाउन अभ्यस्त नेतागण र तिनकै आदर्शमा रमाउने रैतीगण हाम्रा अभिशाप हुन् भन्न अब धेरै घोत्लिनुपर्दैन ।

विडम्बना, यसलाई सच्याउन नेतृत्व गर्नुपर्ने सरकार, यसको दिशाबोध गर्न सघाउनुपर्ने संसद् र यी दुवैलाई घचघच्याउन खुट्टा टेकेर उभिनुपर्ने नागरिक समाज कुहिराको कागजस्तै गन्तव्यहीन यात्रावरिपरि नै बरालिएका छन् । यी कसैसँग पनि किसानले खेती नगरे हामी सबैले के खाने होला भन्ने कुराको उत्तर छ जस्तो लाग्दैन । खासगरी, यसरी बरालिने सरकार र संसद्ले आम मानिसले रगतपसिना बगाएर तिरेको करबाट आयातित मानो पचाउँदै गर्दा यसको हेक्का राख्छन् कि राख्दैनन् होला ?

यो बाटो फेर्न तथाकथित हरित कृषि क्रान्तिले बाँडेका सपना र यसैले डामेका बौद्धिकहरूको दिवालियापनबाट मुक्त हुनुपर्छ । यस अर्थमा, यि सबै दुश्चक्रबाट निस्कने सरल उपायको खोजी नै अहिलेको सबैभन्दा पेचिलो सवाल हो । यसलाई सम्बोधन गर्न खास गरी, किसानी जीवन पद्धतिको ऐंजेरु हरित क्रान्तिले निम्त्याएका समस्याहरूको समाधान अनिवार्य छ । यो कुरा सम्भव बनाउन हरित कृषि क्रान्तिको नशा छोडेर हरित कृषिमा फर्किनुको विकल्प छैन । प्रकृतिको लय सम्हाल्ने हरित कृषि प्रणाली अपनाएर मात्र हाम्रो भविष्य सपार्न सकिन्छ ।

जति कुरा गरे पनि पैसा फलाउने कृषिलाई छिटोभन्दा छिटो सच्याउने संक्रमणकालीन योजनाभन्दाबाहेक अर्को कुनै मध्यमार्गी बाटो नै छैन । तर दलाल अर्थतन्त्रको रछ्यानको जुठोपुरोमा रमाउन चाहने केही बुझक्कड नेता र तिनका अनुयायीले अझै पनि यसलाई टालटुल पारेर आफ्नो निहित स्वार्थवरिपरि हामी सबैलाई घुमाउन खोज्दै छन् । यो सबै गरेर उनीहरू पैसा कमाउने धुनमा हामी सबैको भविष्य अन्धकारतर्फ धकेल्न उद्यत छन् । यो नै आजको मुख्य वैचारिक तथा राजनीतिक अन्तरविरोध हो ।

अमेरिकी अर्थशास्त्री रोबर्ट हेलब्रोनरले भनेझैं, हामी मानिसले यो सबै बुझेर समयमै नसच्याए प्रकृतिले आफैं सच्याउँछ तर हामी मानिसले जस्तो हिसाब गरेर हैन, यो बिगार्ने मानिस जातिलाई सबै अर्थमा बर्बाद गरेर ।

बाँकी आफैं हेक्का राखौं ।

प्रकाशित : कार्तिक २४, २०८० ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?