कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

तर कोही किन शिक्षक बनोस् ?

यतिको जनप्रदर्शन गर्न सक्ने शिक्षक वर्ग निजी विद्यालय मुनाफारहित मोडमा लैजानुपर्छ भन्दा चुइँक्क नबोल्नुले उहाँहरूको सार्वजनिक शिक्षाप्रति वास्ता रहेनछ भन्ने प्रमाणित गरायो ।
टीका भट्टराई

दुई दिनको शिक्षक हडतालको पटाक्षेपपछि सबैतिर यसको फाइदा के भयो भन्ने छलफल भइरहेको होला । न्युयोर्क पुगेर राष्ट्र संघमा प्रधानमन्त्री पुष्पकमल दाहालले अति कम विकसित देशका तर्फबाट बोल्दा महासभाबाहिर बरु खास केही सुनिएन ।

तर कोही किन शिक्षक बनोस् ?

एलजीबीटीक्यूको प्राइड परेडपछि सायद नेपाल फेरि विश्व समाचारमा आएको छ । दुईचार दिन विद्यालय बन्द हुँदा सिकाइ कति कम भयो, त्यसको आकलन गाह्रो छ तर शिक्षकहरूको सरगर्मीले अर्थतन्त्र खास गरी काठमाडौंको अर्थतन्त्र भने निकै चलायमान भयो । पाठ्यपुस्तक कम पढाइए पनि सिकाइ भएन भन्न सकिन्न पनि । पछिका दिन उपलब्धिपूर्ण रहे भने विद्यार्थीको सिकाइको क्षतिपूर्ति भइहाल्छ । फुटकर पूर्णविराम वा अल्पविराम सच्याउने खालका बाहेक खास हात लागेको देखिएन कि ? यो हडतालले झन्डै शिक्षक वर्गलाई संघीयता र गणतन्त्रविरोधी प्रतिगामीको मतियारका तहसम्ममा पुर्‍यायो । दलहरूभित्र उहाँहरूले आफ्नो मोलतोल निकै गुमाउने स्थिति देखिन्छ र सम्भवतः उहाँहरू दलहरूका भोटका बिचौलिया रहेर आफ्नो शक्ति कायम रहिरहने स्थिति कम रहला । उहाँहरू जति विद्यानाथ कोइरालाका शब्दमा ‘दलकर्मी’ बाट ‘शिक्षाकर्मी’ हुनुभयो, त्यति नै शक्ति र साख बढ्नेछ भन्ने सिकाइको प्रस्थानविन्दु हुन सक्छ, यो हडताल !

उहाँहरूको सम्मान, श्रेणी, बढुवा आदिमा जति लगाव देखिन्छ, यो हडतालले त्यस्तो सम्मान बढाएको पनि अनुभूति रहेन । स्पष्ट के देखिन्छ भने, उहाँहरूले सरकारी कर्मचारीले गर्ने व्यवहारको सानो वृत्तभित्रै आफ्नो प्रतिष्ठा गुम्स्याउनुभएको छ । सम्मान दिन सारा समाज, विद्यार्थी, अभिभावक लालायित छन् । कलाकर्मीका कुरा गरौं, उनीहरू मर्यादाक्रममा कहाँ छन् ? समाजमा उनीहरूको नाम, दाम प्रशस्तै छ, हैन र ? अनि भनौं, जजमानी गर्ने लुरे या भुँडे पण्डितजीको ? मर्यादा सर्वव्यापक त छैन नै । समस्या आफूलाई सधैं श्रेणीमै राख्न खोजेर हो । अहिले त राजा छैनन् तर भएका भए उनले पनि बढुवा मागेर हुन्थ्यो र ? सम्मान र श्रेणी एउटै कुरा होइनन् । बेलाबेला कति शिक्षकले केके पुरस्कार पाउनुभयो होला; त्यसले त्यो पाउनेको जीवनमा के थप मान ल्याएको छ, जति भक्तपुरका हाडा सरले ल्याउनुभयो ?

यस पटक कुरा चपाउँदाचपाउँदै पालिकाहरू अन्तर्गत रहन अस्वीकार गरेको स्पष्ट पारियो । त्यो सायद एउटा महत्त्वपूर्ण उपलब्धि थियो । यसले कुरा एक तहमा छिनोफानोतर्फ बढाएको छ । काठमाडौं नगरप्रमुखजति दृढ र स्पष्ट नभए पनि एकल वा सामूहिक रूपमा पालिका पदाधिकारीहरू अघि बढे यसले एउटा निकास पाउँछ । ठेक्कापट्टा र दलका नेताको ताबेदारीमा आफ्नो काम–कर्तव्य र त्यसको महत्ता ख्याल राख्न नभ्याएका पालिकाका पदाधिकारीहरूलाई यसले बिउँझाउँछ कि ? संविधानको अनुसूची ८ अन्तर्गतको विद्यालय शिक्षामा पालिकाको अधिकारको सवाल शिक्षक वर्गसँग एक तहमा तह लागे पनि कर्मचारीसँग तह लागेको छैन । शिक्षा कार्यालयको भूतले बेलाबेला शरीर लिएर तर्साउन छाडेको छैन । पालिका पदाधिकारीले पनि दलहरूका एकाइका रूपमा भन्दा स्वतन्त्र अस्तित्व रहेका स्थानीय सरकारका रूपमा आफूलाई कति महसुस गर्छन्, आउने दिनले देखाउनेछ । अहिले त ‘सब का मालिक एक’ अर्थात् राजनीतिक दलहरू नै देखिन्छन् । मानसम्मान खोज्ने हो भने शिक्षक या पालिकावालाहरूले आफ्नो स्वतन्त्र पहिचान राख्नु त्यसको पूर्वसर्त हो ।

अरू नोक्सानी

यसबाट मात्र थाहा लागेको त होइन तर यतिको जनप्रदर्शन गर्न सक्ने शिक्षक वर्ग निजी विद्यालय मुनाफारहित मोडमा लैजानुपर्छ भन्दा चुइँक्क नबोल्नुले उहाँहरूको सार्वजनिक शिक्षाप्रति वास्ता रहेनछ भन्ने प्रमाणित गरायो । यद्यपि आउने दिनमा उहाँहरूको रवैया कस्तो रहन्छ, त्यसले थप कुरा भन्ला । बिरुवा ध्वस्त भएका विषयमा उहाँहरूले बाध्यता प्रकट गरेर खेद व्यक्त गर्नुभन्दा प्रतिरक्षा गर्ने वा नजरअन्दाज गर्न खोज्ने प्रक्रियाले उहाँहरूको सुझबुझ र सम्मानप्रति ठूलो आँच आएको छ । हुन त राजनीतिमा संलग्नता र नेतासँगको उठबसले उहाँहरूको छाला बाक्लो भएको होला तर जनसाधारणलाई भने देशको शिक्षाका अगाडि बिरुवा केही महत्त्वका होइनन् भन्नेजस्ता बयानहरू ग्राह्य भएको छैन । यथार्थमा यो शिक्षकको सुझबुझ र नैतिकता अनि विनम्रताको ठूलो परीक्षा थियो ।

तर कोही किन शिक्षक होस् !

माथिका यी सब कुरा गरे पनि एउटा कटुसत्यबाट समाज पन्छिन सक्दैन । शिक्षण वास्तवमा निकै गाह्रो काम हो । उहाँहरूले यो कुरा भन्न र देखाउन सक्नुभएको छ्रैन । यो निजी विद्यालयमा पनि लागू नहुने कुरो भएन । शिक्षणको अरू पेसा र व्यवसायसँग प्रतिस्पर्धा छ तर यो पेसा अरूभन्दा कसरी फरक छ भने, यसले शारीरिक र मानसिक तन्दुरुस्ती दुवैको माग गर्दछ । अहिलेसम्म प्रतिस्पर्धा कम रहेको र प्रतिस्पर्धा नाघेर हुनुभएका शिक्षकहरूको बाहुल्य छ तर आगामी दिनमा प्रतिस्पर्धी उम्मेदवार शिक्षक बन्न आउन गाह्रो छ । प्राध्यापकको कुरा पनि उही हो । डाक्टर, इन्जिनियर, हाकिम, वैज्ञानिक जेजे होऊन्, तीभन्दा यो पेसालाई प्रतिस्पर्धी बनाउने हो भने नाम र दाम दुवै भएको प्याकेज चाहिन्छ । यो पेसा मन परेर आएको व्यक्ति मात्र यसमा टिक्न सक्छ र छनोट प्रणाली यस्ता व्यक्ति छान्न सक्ने हुनुपर्छ ।

अहिले विद्यार्थी पहिलेको जस्तो लट्ठी लगाएर पढ्नेवाला छैन । शिक्षकले विषय जानेर पुग्दैन । विधिसहित विषय जान्नुपर्छ । उत्प्रेरणासहित जान्नुपर्छ । विषय र उसको व्यक्तित्व एक हुनुपर्छ । अनि मात्र शिक्षण हुन सक्छ । विषयवस्तु मात्र जान्नलाई त अब गुगल गुरुका अगाडि शिक्षक पनि चाहिन्नजस्तो भएको छ । प्रस्तुत शिक्षा विधेयकमा शिक्षकको योग्यता स्नातक बनाएको तर सो अनुसार सुविधा नभएको कुरा पनि छ । विधेयकमा भएका थोरै असल पक्षमध्ये यो एउटा हो । भइसकेका शिक्षकलाई लागू हुने कुरा भएन तर अब हुने शिक्षकका लागि न्यूनतम योग्यता यति हुनु बेमुनासिब होइन ।

अहिले शिक्षण पेसाको मुख्य आकर्षण भनेको सायद अलि लामो बिदा र कामको कम निगरानी नै हो । विज्ञान र गणितका शिक्षक त्यत्तिकै नपाइएका होइनन् । तिनमा पहिलेदेखि नै प्रतिस्पर्धा भइरहेको हो । उदाहरणका लागि, को कृषि प्रशासक नभएर कृषि शिक्षक हुन आउने ? आउने दिनमा अरू विषयमा पनि शिक्षक पाइनेछैनन् । कृषि स्नातक नै त कति बिदेसिएका छन् ! बरु अबको गणित शिक्षक संगीत पढाउन सक्ने होला, विद्यार्थी सबैतिर खचाखच नहोलान् । जति समाजबाट शिक्षकसँग अपेक्षा बढ्छ, त्यति नै शिक्षकको अभाव बढ्छ । शिक्षक देश बनाउने र देशको सम्पत्तियोग्य जनशक्ति हो भनेर मान्ने हो भने ऊ विश्व श्रम बजारसँग प्रतिस्पर्धा गर्ने हुनुपर्छ । नत्र देशभित्र शिक्षा लिनुभन्दा भारततर्फ लाग्नु बढी फाइदाजनक लाग्नेछ । शिक्षकलाई पनि शिक्षक बन्नुभन्दा खाडीतर्फ लाग्नु लाभदायक लाग्नेछ ।

शिक्षकलाई सेवासुविधा दिन अर्बौं लाग्छ भन्ने कुरा छ । पक्कै हो तर अलि सिर्जनशील भए त्यसको कम मौद्रिक समाधान दिन सकिन्छ । उदाहरणका लागि, शिक्षकलाई दिइने किसिमकिसिमका कर्जालाई बैंकहरूले लगानी गर्नुपर्ने प्राथमिकताका क्षेत्र मान्न सकिन्छ । उनीहरूका छोराछोरीलाई उच्च शिक्षा छात्रवृत्तिमा प्राथमिकता दिन सकिन्छ । स्वास्थ्य उपचारमा प्राथमिकता दिन सकिन्छ । हवाईजहाज र बसको भाडामा सहुलियत दिन सकिन्छ । यथार्थमा शिक्षकको उन्नतिका लागि बर्सेनि केही यात्राखर्च दिन सकिन्छ । होटलहरूमा सुविधा दिने व्यवस्था गर्न सकिन्छ । शिक्षकहरूले परिणाम पहिला दिन सुरु गर्ने कि सुविधा पहिला भन्ने कुरा मात्र हो । एक पटक मुगुको दुर्गम गाउँ डोल्फुका कनिष्ठ लामा गुरु छेक्याप कार्मारोङले भनेका थिए, ‘हाम्रा केटाकेटी राम्रोसँग पढाइदिनुभए त हामी उहाँहरूलाई ठूलो लामाजत्तिकै मानमनितो गर्ने थियौं ।’ राज्य, समाज र शिक्षकले पनि यो व्यग्रता बुझ्नुपर्‍यो । (विश्वभरि नै शिक्षकको खडेरी छ । बरु औद्योगिक देशमा गएर पैसा कमाउन चाहनेले वा त्यतै बसेकाहरूले शिक्षक हुने तयारी गरून् । यो विदेशमा सबैभन्दा प्रतिष्ठापूर्ण व्यवसाय हुन सक्छ, पढालिखा नेपालीका लागि ।)

प्रकाशित : आश्विन १९, २०८० ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?