सबैका कुरा सुन्ने सुवास

झमक घिमिरे

कोहीकोही मान्छे निकै संवेदनहीन हुन्छन् । लासमाथि रिस पोख्छन्, मरिसकेका मान्छेप्रति आक्रोश पोख्छन् । गत महिना एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भयो, जसका कारण नेपाली राजनीतिक क्षेत्रमा एक खालको निस्तब्धता छायो; त्यस बेला पनि मान्छेहरूले उनका कमीकमजोरी खोतल्न भ्याए । मान्छे मरिसकेपछि उसका कमीकमजोरी खोतलेर के गर्नु ?

सबैका कुरा सुन्ने सुवास

नेम्वाङ शालीन र सरल व्यवहारका थिए, विरोधी पक्षको कुरासमेत एकदमै संयम भएर सुन्थे र त्यसलाई कसरी सम्बोधन गर्ने भन्नेमा चिन्तनशील रहन्थे । नेपालमा नेताहरू धेरै आए र गए, तर उनी जस्तो धैर्यवान् भएर काम गर्नेहरू कमै भए, छन् । कोही त भिन्न विचारलाई सुन्न त के, त्यस्तो मान्छे अगाडि आयो भने परै धकेल्न अग्रसर हुन्छन्, तर नेम्वाङले कहिल्यै त्यसो गरेनन् । उनले धेरैका आवाजहरू सुने, विचारहरू सुने, तिनलाई कसरी सम्बोधन गर्ने भनी चिन्तन गरे । देशलाई उनीजस्ता नेताको जहिल्यै आवश्यकता परिरहनेछ जसले कसैको आवाजलाई तलमाथि नपारी सम्बोधन गर्न सकोस् ।

सद्भाव र सहिष्णुताले भरिपूर्ण नेपाली समाज नेम्वाङको सपना थियो । एकअर्काका विचारको सम्मान उनको अर्को ध्येय थियो । तर उनको सपनाविपरीत खेलहरू भइरहेका छन् । नेपाली राजनीतिमा उनको अभावको पूर्ति कहिले होला र ? हामी आआफ्ना अलोकतान्त्रिक कामकुरा त्यागेर नेपाललाई सुन्दर–शान्त बनाउन लागे मात्र उनको सपना पूरा हुन सक्ला । जनताको शासन, गणतन्त्र भनेको यही हो । माथि बस्नेहरू हो, एक पटक सोच । जनताको त्याग र बलिदानलाई आफ्नो शिरमा राखेर काम गर । विदेशीले हस्तक्षेप गरे पनि आफ्नो अडानमा विचलित नभई काम गर ।

गणतान्त्रिक व्यवस्थालाई बलियो बनाउनु सबै नेपालीको दायित्व र धर्म हो । इतिहासले सुम्पेको यो जिम्मेवारीलाई इमानदार भएर पूरा गर्नतिर हामी प्रयत्नशील होऔं । पाएको स्वतन्त्रतालाई विकृत नपारौं ।

शासन गर्नेहरूले आफू जनताको सेवक बनेर सत्तामा पुगेको हुँ भन्ने कहिल्यै नभुलून् । जनताप्रति क्रूर हुने शासकहरूको पतन भएको विश्वइतिहास छ । जनताप्रति क्रूर हुनेहरूको पतन निश्चित छ । लोकतान्त्रिक गणतन्त्रले हामीलाई स्वतन्त्रता दिएको छ । जनताले पाएको स्वतन्त्रताप्रति आँखा लाउनेहरूले निरंकुश शासन व्यवस्था चाहिरहेका छन् । योदेखि जनता साँच्चै निराश छन् ।

अहिलेको नेतृत्वले जनतामा तत्काल आशा जगाउनुपर्छ । शान्त र समृद्ध नेपालको निर्माणमा लाग्नुपर्छ । सहिष्णुताका खम्बाहरू बलियो बनाउनतिर लाग्नुपर्छ । समयले यो जिम्मेवारी सबै नेपालीको काँधमा छोडेको छ । यसलाई इमानदारीसाथ पूरा गर्ने जिम्मा तपाईं–हामी सबैको हो । नेपाली भूमि त्यस्तो अनुपम फूलबारी हो जहाँ सबै सम्प्रदाय–समुदायका मान्छे, सबै विचारका मान्छे अटाएका छन् । सबै जातजातिका धर्म, संस्कृति, रीतिरिवाज अटाएका छन् । अनि हामी यस्तो पवित्र भूमिमा जन्मेर पनि सहिष्णु बन्न सकेनौं भने धिक्कार छ हामीलाई । हाम्रा विचार, व्यवहार सहिष्णु बनेनन् भने हाम्रो अस्तित्वमाथि खतरा आउँछ भन्ने सबैले बुझौं । यही नै नेम्वाङप्रति सच्चा श्रद्धाञ्जली ठहरिनेछ ।

प्रकाशित : आश्विन १५, २०८० ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?