कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

धार्मिक सहिष्णुता र झूटको खेती

धार्मिक दंगा फैलाउने झूटको खेती अहिले पनि चलिरहेको छ । त्यस्ता गतिविधिबारे राज्यका निकायले माथिल्लो तहसम्म रिपोर्टिङ पनि गरिरहेका छन् । राजनीतिक दलहरू यस्ता गतिविधिबारे जानकार छन् । तर कोही यस्तो गतिविधिविरुद्ध अग्रसरता लिन तयार छैनन् ।
मोहना अन्सारी

मन निकै अशान्त छ । धेरै पटक सोचें, धार्मिक विषयमा केही नलेखूँ, केही नबोलूँ । किनभने यो विषय व्यक्तिगत आस्थासँग गाँसिएको हुन्छ । प्रत्येक समुदायले आफ्नो धर्मलाई उच्च स्थानमा राखेको हुन्छ र हेर्न चाहन्छ । त्यसैले धर्मप्रतिको आलोचना पचाउन सक्दैन । धार्मिक आलोचनालाई सोझै आस्थामाथिको प्रहारका रूपमा लिन्छ । कसैले कुनै मानिसको धार्मिक भावनामाथि ठेस पुर्‍याएमा यसले आगोको रूप लिन सक्छ र बेलाबखत लिएका पनि छन् । तसर्थ हरेक धर्मलाई यथोचित सम्मानका साथ आ–आफ्नो स्थानमा रहन दिनु नै समय सान्दर्भिक हुन्छ ।

धार्मिक सहिष्णुता र झूटको खेती

बाल्यकालमा मैले धेरै धार्मिक दंगा देखेको र भोगेको छु । त्यो सम्झिँदा आज पनि मन भक्कानिएर आउँछ । म जन्मे हुर्केको नेपालगन्ज सांस्कृतिक विविधताले भरिएको सहर हो । यहाँ धेरै घरका आँगन जोडिएका छन् । मन्दिर, मस्जिद तथा गुरुद्वाराको संगम देख्न पाइन्छ । मुस्लिमले मनाउने चाडपर्वमा गैरमुस्लिम रमाउँछन् । त्यसरी नै हिन्दु समुदायले मनाउने चाडपर्वमा यो सहरमा बेग्लै रौनक हुन्छ । रामलीलाका नाट्य मञ्चन हुन्छन्, दुर्गा पूजाका ठूल्ठूला पण्डाल बनाइन्छन् र दुर्गापूजाको अन्तिम दिन राति निकालिने विभिन्न मूर्तिका झाँकीहरू, जसलाई ‘लाख’ पनि भन्ने गरिन्छ, हेर्न दूरदराजका गाउँबाट मानिसको घुइँचो नै लाग्ने गर्छ । दुर्गाको मूर्ति विसर्जनपछि सडक फूल र अबिरैअबिरले रंगिन्छ । त्यो दिन ठाउँठाउँमा सर्बतपानी वितरणको व्यवस्थापनले सृजना गरेको अलौकिक वातावरणले मोहित गर्छ ।

२५–३० वर्षको अन्तरालपछि आज परिवेश फेरियो । मानिसको सोच्ने शक्ति र जीवनशैली फेरियो तर व्यवहार फेरिएन । हाम्रो व्यवहार आज पनि उही २५–३० वर्षअघिको जस्तो छ, जसले मलाई विगतका डरलाग्दा घटनाहरू सम्झिन बाध्य बनाइरहेको छ । नेपालगन्जमा २०४७ सालमा प्रजातन्त्र पुनःस्थापनापछि धार्मिक दंगा भएको थियो । तर, त्यो दंगाको घाउ बिसेक हुन नपाउँदै राजा ज्ञानेन्द्रले शासनसत्ता लिएपछि अर्को दंगा भयो । त्यसपछि पनि यस्ता घटना भइरहे । ती क्रूरतम धार्मिक दंगाले मेरो बाल्यकाल र युवावस्थालाई नराम्ररी बिथोलेको थियो ।

मेरो घरछेउको नेपाल बैंक लिमिटेडका एक जना कर्मचारी घरको झ्यालमुनि दंगामा हिँडेका व्यक्तिहरूको फेला परे । अनुहारमा रहेको दाह्री नै उनी कुटिनुको मुख्य कारण थियो । किनभने दाह्रीकै कारण उनी मुस्लिम हुन् भन्ने भीडको ठम्याइ रह्यो । भीडले उनलाई मरणासन्न हुने गरी लात्तैलात्ताले कुट्न थाल्यो । कुट्ने व्यक्तिहरू अरू कोही थिएनन्, सबै मेरा चिरपरिचित थिए । भेरी अस्पतालअगाडिका औषधिपसले, रामबांगका स्थानीय, चिनेका दाइहरू थिए । प्रहरीलाई फोन गरें, परिचित एसएसपी हुँदाहुँदै पनि समयमा प्रहरी आएन । उनलाई भीडले कुटिरहेको देख्दा मलाई असह्य भइसकेको थियो । अब आफैं बचाउन जानुपर्छ भन्ने ठानेर एउटा बाँसको लट्ठी लिएर भीडमाथि जाइलागें । बडो मुस्किलले ती कर्मचारीको ज्यान जोगियो । त्यो भीड अगाडि बढ्दै गयो । बाटामा हिँड्ने जोकोहीलाई देख्यो कुट्ने, साइकलमा दूध बेच्न आउनेको साइकल खोस्ने, दूध सडकमा मिल्काउने, तरकारी पसलको तरकारी सडकभरि फाल्ने र आगो लगाउँदै हिँड्ने घृणित कार्य त्यो उद्दण्ड समूहले गरेको थियो ।

त्यो धार्मिक दंगाले कसैको फाइदा भने भएन तर सहर जल्यो, घरहरू जलाइए, कैयौं दिनसम्म मानिसहरू एकअर्काको आँखामा हेर्न सकिरहेका थिएनन् । हिजोसम्म चहलपहल हुने चियाका पसलहरू सुनसान थिए । स्थानीयको सर्वस्व नै गुमेको अनुभूति भइरहेको थियो । ती जलेका पसलहरू ठड्याउने र सपार्ने प्रयासमार्फत सहरलाई आफ्नो लयमा फर्कन लामो समय लाग्यो ।

पहिलो घटना व्यक्तिगत सम्पत्तिमा रहेको शिवालयको जीर्णोद्धार गर्ने बहसबाट सुरु भएको थियो, जुन विवादले दंगाको रूप लिएको थियो । नेपालगन्ज एक्लैनी बजारका समाजसेवी फत्ते मोहम्मद हलवाई र साबरा खातुन हलवाई (साबरा हिन्दु महिला हुनुहुन्थ्यो, विवाहपछि उनको नाम साबरा भएको थियो) बीच प्रेम विवाह भएको थियो । उनले आफ्नी पत्नीले जुन धर्म मान्दै आएकी छन्, विवाहपछि पनि धर्मकर्म गर्न बाधा नहोस् भन्ने हेतुले घरको आँगनमा शिवालय निर्माण गरिदिए । यसरी साबरा हरेक बिहान धार्मिक परम्परा अनुसार पूजाआजा गर्नुहुन्थ्यो । समाजसेवामा समय व्यतीत गर्ने फत्ते मोहम्मदले आफ्नो जीवनकालमा नेपालगन्जका लागि मुसाफिर खाना (धर्मशाला) बनाएका थिए, जुन धर्मशाला आज पनि उहाँकै परिवारका सदस्य एवं स्थानीयको निगरानीमा एउटा ट्रस्टको रूपमा सञ्चालित छ । उनको मृत्युको लामो समयपछि एकाएक केही स्थानीय संगठनले व्यक्तिगत घरपरिसरभित्रको शिवालयलाई जीर्णोद्धार गर्न खोजे । तर, फत्ते मोहम्मदको परिवारका सदस्य र स्थानीयले विरोध जनाए । रोक्न खोज्दा दंगा भयो, जबकि दंगा हुनुपर्ने वा विवाद गर्नुपर्ने कुनै खास कारण नै थिएन । तर अनाहकमा कैयौं दिनसम्म जनजीवन अस्तव्यस्त र समाज नै भाँड्ने किसिमले दंगा भयो । पछिल्ला घटनाहरूको वास्तविकता हेर्ने हो भने यस्ता दंगा हल्लाबाट सृजित देखिन्छन् । यसरी हल्ला फैलाउनेहरू प्रायः सबै जानकार थिए तर विडम्बना भन्नुपर्छ उनीहरूप्रति सुरक्षा निकायको लापरबाही र मौनतले विगतमा घटनाहरू भए ।

यस्ता घटनाबारे आजसम्म लेख्ने र भन्ने आँट जुटाउन सकेको थिइनँ, जुन आज यो लेखमार्फत भन्दै छु । म यस्ता कैयौं घटनाको प्रत्यक्ष साक्षी हुँ । त्यसबखत एउटा पत्रकारको रूपमा जिल्लामा कार्यरत थिएँ । कहाँ के भइरहेको छ, खबर सहजै प्राप्त हुने गर्थ्यो । प्रायः घटना विभिन्न समुदायको चाडपर्व नजिकिँदा भएको देखिन्छ । दुई समुदायको पर्वको माहोल थियो, हिन्दुहरूले मनाउने विजयादशमी, दशहरा, दुर्गापूजा, दीपावलीको रमझम थियो । अर्कोतर्फ मुस्लिमहरूले मोहर्रमको समय थियो । मोहर्रम पर्वको बेला घर–घरमा बेग्लै रमझम हुन्छ । टोलटोलमा सामूहिक रूपमा मीठोमीठो पक्वान पाक्ने गर्छ । त्यसमध्ये एउटा परिकार हो खिचडा ‘हलिम’ । यो मासु र गेडागुडीबाट बनाइएको हुन्छ । साथीभाइ र गाउँगाउँबाट मोहर्रम हेर्न आउनेलाई खाना खुवाउने र राति मातम (हत्केलाले छाती पिटेर पश्चात्ताप) गर्ने, झाँकी, झन्डा, ढोल बाजासहित सहरको परिक्रमा गर्ने गरिन्छ ।

हामी पत्रकारहरू बेलुकाको समयमा एक ठाउँमा जम्मा भएर मोहर्रमको यो हर्षोल्लासको समाचार कसरी लेख्ने भन्ने छलफलमा थियौं । आजको जस्तो मोबाइलको जमाना थिएन । यहीबीच एउटा खबर आयो, ‘काली मन्दिरमा कसैले खिचडा फालेको छ ।’ यो खबर हामीलाई पत्याउन निकै गाह्रो भएको थियो । तैपनि सबैले हेर्न जानैपर्छ भनेर हिँड्यौं । काली मन्दिर त्रिभुवन चोकदेखि अलिक भित्र छ । हामी त्यहाँ पुग्दा मन्दिर पूरै सफा देख्यौं । बेलुकाको आरतीको तयारी चलिरहेको थियो । वास्तविक कुरा बुझ्नका लागि केहीबेर त्यहीँ बस्यौं । केही क्षणपछि नै अप्रिय समाचारहरू आउन थाले । २–३ घण्टाको अन्तरालमा प्रशासनले कर्फ्यु जारी गर्ने सूचना आउन थाल्यो । कर्फ्यु जारी भएन भने पूरै शहर मुर्दाघरमा परिणत हुन्छ भन्ने प्रतिक्रिया पनि आउन थाले । मध्यरातमा कर्फ्यु जारी भयो, तैपनि घटना रोकिएन । झडप, कुटपिट र घरपसलमा आगो लगाउने घटना जारी नै रह््यो ।

करिब मध्यरात भइसकेको थियो । घर कसरी जाने भन्ने चुनौती एकातिर थियो भने यो वातावरण कसरी साम्य हुन्छ भन्ने भय गहिरो थियो । समाजमा फैलाइएको गलत सूचनाले कैयौं दिनसम्म जनजीविका अशान्त भयो । विद्यालयहरू बन्द भए । स्थानीय त्रसित थिए । सहर जलिरहेको थियो । यसबीचमा सद्भावका कैयौं वार्ता भए तर सबै निष्कर्षविहीन भए । अन्त्यमा व्यापार संघ बाँकेका व्यापारी र पत्रकार मिलेर सद्भाव र्‍याली निकाल्ने र त्यस्ता कलुषितलाई समातेर प्रशासनलाई बुझाउने योजना बन्यो । त्यो सद्भाव र्‍यालीको अग्रपंक्तिमा म थिएँ । धेरैलाई लाग्थ्यो मेरो नाममा सद्भाव झल्किन्छ । ब्यानर मैले र लियाकत अली सिद्दिकीले समात्यौं र हामीले ९ बजे बिहान सहरको परिक्रमा गर्‍यौं । प्रशासनको निरन्तर बैठक चली नै रह्यो । बेलुका ५ बजेदेखि सहरका सबै पसल खुल्ने तय भयो । स्थानीयको निगरानीमा जनजीवन सामान्य बनाउन सबै सक्रिए भए ।

कुनै एक समुदायको बाहुल्य भएका टोलका अल्पसंख्यक परिवारले अझै ढुक्कको सुरक्षा महसुस गरेका थिएनन् । हरेक टोलमा मानिसहरू आफ्नो टोलको सुरक्षार्थ खटेका थिए । राज्यको उपस्थिति थिएन । सुरक्षा निकायका व्यक्तिहरूसँग फोन सम्पर्क गाह्रो भइसकेको थियो, भन्नुपर्दा फोन नै उठ्न छोडिसकेको थियो । दंगा फसादमा यस्तै हुँदै आएको छ । जब सबै सखाप भैसक्छ, त्यसपछि प्रहरीको वा कुनै सुरक्षा निकायको उपस्थितिले केही गर्न पनि सक्दैन । न जलेको घरको खरानीले घर ठडिन्छ न त मृत व्यक्तिको जीवन फिर्ता हुन्छ ।

नेपालगन्जका घटनाहरू ससानो विवाद, झूट र हल्लाबाट सुरु भएका थिए । घटनापछि सबैको प्रतिक्रिया हुन्थ्यो, दंगाको कारण झूटो नै थियो । तर, यस्ता घटनाका पछाडि को हुन्छन् ? किन झूट फैलाइन्छन् ? यी प्रश्न अद्यापि छन् । घटनापूर्व राज्यसंयन्त्र कहाँ चुक्यो ? सुरक्षाजस्तो संवेदनशील विषयमा किन लापरबाही भयो ? यसको चित्तबुझ्दो जवाफ कहिले पनि न राज्यसंयन्त्रबाट जनताले सुन्न पाउँछन् न त राज्यका कुनै निकाय वा सरकारहरूले नै जनतासँग आँखामा आँखा जुधाएर भन्न सकेका छन् ।

त्यस्ता धार्मिक दंगा फैलाउने झूटको खेती अहिले पनि चलिरहेको छ । केही दिनयता पुराना ती घटना सम्झाउने खालका गतिविधि हुन थालेको आभास हुन थालेको छ । त्यस्ता गतिविधिबारे राज्यका निकायले माथिल्लो तहसम्म रिपोर्टिङ पनि गरिरहेका छन् । तर, सुरक्षा निकायको प्रतिवेदन जनताले हेर्ने वा सुन्न पाउने गरी सार्वजनिक हुँदैनन् । प्रायःजसो सुरक्षा प्रतिवेदन अहिले एउटै विषयमा केन्द्रित छ, धर्मको नाममा उच्छृंखलता बढ्दै छ । राजनीतिक दलहरू यस्ता गतिविधिबारे जानकार छन् । तर कोही यस्तो गतिविधिविरुद्ध अग्रसरता लिन तयार छैनन् ।

धार्मिक स्वतन्त्रताले सम्मिश्रित समाज निर्माणको बाटो खोलेको छ । अतः यहाँ हरेक धर्म र समुदायको सम्मान, समान हैसियत राज्यले कायम गर्नुपर्छ । यो राज्यको संवैधानिक दायरा हो यो दायराबाट बाहिर जाने छुट कसैलाई छैन । हामी कस्तो किसिमको सामाजिकीकरणको अभ्यासतर्फ उन्मुख छौं ? यो तपाईं–हाम्रो व्यवहारले निर्दिष्ट गर्छ । हामी किन बिर्सिरहेका छौं आफ्नो इतिहास, मौलिकता र सार्वभौमिकता ? एक पटक आफ्नो इतिहासको कालखण्ड पुनः सम्झिने बेला आएको छ । नेपालका देवीदेवताको आफ्नै मौलिक इतिहास छ । यहाँका मन्दिर, गुम्बाहरू, मस्जिद, गुरुद्वारा, गिर्जाघरको आफ्नै मौलिक इतिहास छ । हामीपछि आउने पुस्तालाई वैरभाव सिकाउने, उचनीच, जात–धर्म सिकाउने हो वा आपसी मेलमिलाप सिकाउने यो हाम्रो हातमा छ । सम्मिश्रित समाज दिने हो वा एकल समाज दिने हो ? यो हाम्रै हातमा छ । समाज निर्माण र सामाजिकीकरणको अभ्यास र यसको विस्तारका लागि हरेक पुस्ताले इँटा थप्नुपर्छ, नभए त्यो समाजको निर्माण र सामाजिकीकरण अधुरो हुन्छ ।

अन्सारी मानव अधिकार आयोगकी पूर्वसदस्य हुन् ।

प्रकाशित : आश्विन ९, २०८० ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?