कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

आर्थिक मन्दी र विज्ञापन

सन्तोष श्रेष्ठ

‘आर्थिक मन्दी’ शब्दावली नसुन्ने व्यक्ति हिजोआज हाम्रो समाजमा कोही नहोलान् । चियापसलदेखि सपिङमलसम्म, वडा कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म चासो दिएर सबैले भट्याउने शब्दावली बन्न पुगेको छ, आर्थिक मन्दी ।

आर्थिक मन्दी र विज्ञापन

झट्ट हेर्दा २०७२ सालको विनाशकारी भूकम्पले थिलथिलो बनाएको हाम्रो अर्थतन्त्रलाई राम्ररी तंग्रिन नपाई कोरोना महामारीले नराम्ररी गाँज्यो । शासनसत्ताले यसलाई धान्न सक्ने भएन, मन्दीले छुने नै भयो । यसमा प्राकृतिक प्रकोपबाहेक मानवसृजित स्थानीयदेखि अन्तर्राष्ट्रिय अन्य धेरै कारण उत्तिकै जिम्मेवार छन् ।

आर्थिक मन्दीले आम उपभोक्ताको क्रयशक्तिमा सिधै असर गर्‍यो, जसबाट व्यापार–व्यवसाय प्रभावित भयो । लामो समयदेखि सरकारी तथा निजी क्षेत्रको मनोबल खस्कनु र केही अप्रिय घटनासमेत हुनुले हाम्रो मानसिक स्वास्थ्यमा समेत असर पर्‍यो । तर मन्दीको रटानले मात्र हामी यसबाट उम्किन पक्कै सक्दैनौं । हरेक समस्याको समाधान हुन्छ, यसको नहुने भन्ने पनि भएन ।

व्यवसायीले व्यापार गर्नु भनेको आफ्नो वस्तु तथा सेवा उपभोक्तामाझ बिक्री गर्नु हो । बिक्री गरेर नाफा कमाउनुबाहेक अन्य धेरै उद्देश्य हुन सक्लान् तर बिक्रीबिना अन्य कुनै पनि उद्देश्य पूरा गर्न सकिँदैन । त्यसैले बिक्रीलाई सबैले महत्त्वपूर्ण र केहीले मुख्य उद्देश्य बनाएका हुन्छन् । कुनै पनि वस्तु आम उपभोक्ताको रोजाइमा परी धेरै बिक्री हुन विज्ञापनको सबैभन्दा ठूलो भूमिका हुन्छ । त्यसैले विज्ञापनलाई आजकाल खर्चभन्दा पनि लगानीका रूपमा लिने गरिन्छ । बजारशास्त्रको सिद्धान्तले भन्छ, बिक्री कम छ भने राम्रो विज्ञापन गर्नुस् । हामीमध्ये कत्तिलाई लाग्न सक्छ, मन्दीको बेला विज्ञापन गरेर कहाँ बिक्री बढ्छ ? प्रसिद्ध वैज्ञानिक स्टिफन हकिङले भनेका थिए, ‘जस्तै कठिन परिस्थितिमा पनि केही राम्रो गर्न सकिन्छ र सफल हुन सकिन्छ ।’ तर केही व्यवसायी कठिन परिस्थितिलाई मात्र दोष दिएर बस्छन् अनि असफल हुन्छन् । जस्तोसुकै परिस्थितिमा पनि विज्ञापन गर्नु नै लाभदायक मानिन्छ । एक लोकप्रिय भनाइ छ, ‘जब समय राम्रो छ तपाईंले विज्ञापन गर्नुपर्छ, जब समय खराब हुन्छ तपाईंले विज्ञापन गर्नुपर्छ ।’

विज्ञापनका माध्यमबाट उपभोक्तालाई आफ्ना वस्तु तथा सेवाको जानकारी गराउने सबैभन्दा उपयुक्त समय भनेको अहिले हो । धेरै व्यवसायीले विज्ञापन नगरेको बेला बजारमा सजिलै प्रभाव पार्न सकिन्छ । जसरी भीडभाडमा ट्राफिकजाम हुने समयमा गन्तव्यमा पुग्न समय बढी लाग्छ, मिहिनेत बढी लाग्छ, त्यसरी नै सबैले विज्ञापन गरेको बेला बजारलाई सजिलै प्रभाव पार्न सकिन्न । मन्दीले क्रयशक्ति कम भएको अहिलेका बेलामा उपभोक्ता आफूतिर आकर्षित गर्न सकिए मात्र बढी बिक्री हुने हुनाले विज्ञापनले त्यो अवसर दिन सक्छ । हामीमाझ प्रचलित ‘नौ दिनमा नौलो, बीस दिनमा बिर्स्यो’ भन्ने भनाइलाई आत्मसात् गर्ने हो भने पनि अहिलेको अवस्थामा विज्ञापन गर्न उचित देखिन्छ । सजिलो समय आएपछि मात्र विज्ञापन गरौंला भन्दा–भन्दै लक्षित ग्राहकवर्गले बिर्सन कति पनि समय लाग्दैन भन्ने कुरा हेक्का राख्न जरुरी छ । चर्चित लेखक शिव खेराले आफm्नो विताब ‘यु क्यान विन’ मा भनेका छन्– ‘विजेताले कुनै फरक काम गर्दैनन्, मात्र कामलाई फरक तरिकाले गर्छन् ।’ सहज समयमा त सबैले विज्ञापन गरिहाल्छन् । विज्ञापनमा कसरी, कहिले भन्ने कुराले धेरै ठूलो अर्थ राख्ने गर्छ । विज्ञापनले बजारमा प्रभाव पारिराख्न उचित समयले ठूलो भूमिका खेल्छ । कतिपय व्यवसायीले विज्ञापनको महत्त्व नबुझी वा नबुझेझैं गरी राम्रो विज्ञापन बनाउन कम लगानी गर्ने, प्रभावकारी मिडियामा नगर्ने, गर्नुपर्ने जति विज्ञापन नगर्ने, समग्र विज्ञापनका लागि कम रकम छुट्याउने, विज्ञापनको रकम झुक्तानी समयमै नगर्ने, मन्दीको समयमा सबैभन्दा पहिले विज्ञापन रोक्ने र विज्ञापनको रकमलाई बचत ठान्नेजस्ता गल्ती गरिराखेका छन् । २० दिनमा बजारले बिर्सिन्छ भन्ने कुरा हेक्का नराख्दा कम्पनीका धेरै उत्पादन बन्द भएका र हुन लागेका उदाहरण छन् ।

हिजो–आज विज्ञापन गर्ने नाममा सामाजिक सञ्जालको मात्र भर पर्दा पनि धेरै व्यवसायी अप्ठेरोमा परेका उदाहरण प्रशस्तै छन् । साना तथा भर्खरै सुरुआत गरेका, सानो लक्षित समूह भएका कतिपय व्यवसायीलाई सामाजिक सञ्जालबाट गरिने विज्ञापनले राम्रै गरे पनि सबै खाले वस्तु तथा सेवालाई प्रभावकारी नहुन सक्छ । मूलधारका टीभी, रेडियो तथा पत्रपत्रिकाका आफ्नै विशेष श्रोता/पाठक र विश्वसनीयता हुन्छन् । उपझोक्ताले डिजिटल माध्यमबाट गरिने विज्ञापनमा पर्याप्त समय नदिने यथार्थ छ । अतः परम्परागत मिडिया र नयाँ मिडियाका माध्यमलाई उचित तरिकाले प्रयोग गर्न जान्दा मात्र विज्ञापनको प्रभावकारिता बढ्छ । सस्तोमा भाइरल हुने लोभतिर लाग्दा व्यवसायको साखमै पनि असर पर्न सक्छ । तसर्थ व्यवसायीले विज्ञापनको महत्त्वलाई राम्ररी बुझी विज्ञापनकै सर्जक तथा विशेषज्ञबाट उचित परामर्श लिएर मात्र विज्ञापन बनाउनुका साथै प्रकाशन तथा प्रसारण गर्नु उपयुक्त हुन्छ ।

विश्वविख्यात उद्योगी तथा फोर्ड कम्पनीका संस्थापक हेनरी फोर्डले भनेका छन्, ‘पैसा बचाउन विज्ञापन नगर्नु भनेको समय रोक्न घडी बन्द गर्नुजस्तै हो ।’ निरन्तर परिवर्तन भइरहने ग्राहकको व्यवहार, खुला बजार अर्थतन्त्र, विश्वव्यापीकरण, बढ्दो प्रतिस्पर्धा, विविध खालका धेरै आम सञ्चारमाध्यमले गर्दा बजारलाई थप चुनौतीपूर्ण बनाइरहेको परिप्रेक्ष्यमा विज्ञापनको महत्त्व झनै बढेको छ । अल्पकालीन बिक्री मात्र नहेरी दीर्घकालीन रणनीति अन्तर्गत गरिने विज्ञापनले उत्पादनको साख राम्रो बनाउँछ, लामो समय बजारमा राज गर्न सकिन्छ । विज्ञापनमा त्यति प्रतिस्पर्धा नभएको आजको अवस्थामा दीर्घकालीन सोचका साथ आफ्ना उत्पादनको ब्रान्डिङमा पनि ध्यान दिने हो भने सधैं सफल हुन सकिन्छ ।

नेपाल विज्ञापन संघका पूर्वअध्यक्ष श्रेष्ठ मार्स एडभरटाइजिङ एन्ड रिसर्चका प्रबन्ध निर्देशक हुन् ।

प्रकाशित : आश्विन ८, २०८० ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?