कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

विश्वेश्वरप्रसाद कोइरालाको साहित्य सिर्जना र जीवन दर्शन

'तर म यति भन्न चाहन्छु, कुनै व्यक्तिगत प्रश्न उठाएर होइन कि त्रिगुण मर्यादाले मण्डित मेरो प्रधानमन्त्रीत्वको निर्मम समाप्तिको कुनै पनि औचित्य थिएन, न प्रजातन्त्रका दृष्टिले, न संविधानको दृष्टिले, न त राष्ट्रियताको दृष्टिले ।' 
अभि सुवेदी

काठमाडौँ — नेपाली राजनीति र साहित्यमा सबैभन्दा धेरै एकैसाथ नाम लिइने व्यक्ति विश्वेश्वरप्रसाद कोइराला उर्फ बीपी कोइराला (१९७१-२०३९) को साहित्य सिर्जना र उनको जीवन दर्शन जस्ता विषयलाई सँगै राखेर एउटा छोटो संकथनमा प्रस्तुत गर्न खोज्नु एउटा चुनौतीपूर्ण कर्म हो ।

विश्वेश्वरप्रसाद कोइरालाको साहित्य सिर्जना र जीवन दर्शन

त्यसैले मैले केही आधारहरू राखेर यो विषयको व्याख्या गर्ने प्रयास गरेको छु । यो प्रस्तुति नितान्त साहित्यिक समालोचना जनिन वस्तुगत र निर्वैयक्तिक नभएर एक अनुभव र स्मृतिले पनि प्रभावित छ । यो एउटा जानी जानी गरिएको प्रयोग हो किनभने बीपी आफैंले पनि निर्वैयक्तिक देखिने साहित्यिक लेखनमा निजत्व, भावना र अनुभवजनित अभिव्यञ्जनाका प्रयोग गरेका छन् । उनको सम्पूर्ण साहित्यिक लेखनमा अत्यन्त मानवीय तरङ्ग र विचारको जुन संयोग छ । त्यो उनकै भावना र विचारले बनिएको पद्धति हो । त्यही पद्धतिलाई यो लेखमा प्रस्तुत छलफलको अधार बनाइएको छ ।

बीपीले अदालतको बयानमा भनेका छन्, “मेरो प्रधानमन्त्रीत्वको आधार तीनवटा थिए... यसरी म जनता, संविधान र राजाको आधारमा प्रधानमन्त्री भएको थिएँ । नेपालको इतिहासमा आजसम्म म केवल म त्यस्तो एकमात्र प्रधानमन्त्री भएको हुँ । (४–५)।" अथवा सारमा बीपीले वैधानिक, प्रजातान्त्रिक र मानवीय गुणहरूले मण्डित उनको प्रधानमन्त्रित्वको राजाद्वारा निर्मम समाप्ति गरिनु एक अनुचित कर्म भएको कुरालाई प्रष्टसँग राखेका छन् । बीपीको साहित्य साधनामा र उनको जीवन दर्शनमा यही अनेकौं गुणले मण्डित शक्तिको अनुशीलन गरिएको छ । उनको साहित्यको मीमांसाको आधार नै यही बहुल चेतनाको संगम हो भन्ने कुरा आरम्भमै राख्न चाहन्छु ।

बीपीको जीवन दर्शन अर्को बृहत् विषय हो । एक ठूला साहित्यकार, राजनीतिज्ञ, नेता र नित्य कर्मशील द्रष्टाको जीवन दर्शन बहुआयामिक हुन्छ । त्यसका आधार साहित्यिक दार्शनिक, राजनैतिक, आध्यात्मिक र भौतिक हुन्छन् । बीपी कोइरालाको जीवन दर्शन बहुआयामिक छ र त्यसको एक महत्त्वपूर्ण स्वरुप उनले सिर्जना गरेको साहित्यमा देखिन्छ भन्ने मेरो धारणा छ । त्यो कसरी व्यक्त भएको छ र त्यसका स्वरूपहरू कसरी रचना भएका छन् भनेर हेर्नुपर्छ । साहित्यमा व्यक्त हुने लेखकको जीवन दर्शन हेर्न साहित्यिक विधाहरूकै आधार लिनु पर्छ । हामी बीपी कोइरालाको जीवन दर्शन उनले विभिन्न विधामा लेखेका साहित्यिक रचनाहरूको आधारमा हेर्छौं ।

बीपी कोइरालाको जीवन दृष्टि हेर्न उनका राजनैतिक चिन्तन भएका लेखहरू अनि उनले आफ्नो दललाई दिएका दृष्टिको प्रयोग भइआएका छन् र यी बीपीको राजनैतिक दर्शनको मीमांसा गर्ने बलिया आधारहरू हुन् ।

उनी जस्ता एक राजनेताको अध्ययनको निम्ति त्यो एक स्वाभाविक प्रक्रिया हो । तर बीपीले धेरै राजनैतिक सिद्धान्तका ठेली नलेखेर साहित्यिक कृतिका सिर्जना गरे जसमा उनले आफ्नो जीवन दर्शनलाई पात्रहरूका अवस्थाको अनि तिनको जीवनका संघर्षका अनेकौं पक्षका चित्रण गरेका छन् । यस्ता चित्रणमा मानिसले यसै गर्नुपर्छ भन्ने आधार राखेनन्, बीपीले । उनले मानिसका नैसर्गिक वृत्ति अनि तिनका अवलम्बनका चित्रण गरे ।

उनले खासै अमूक लेखक वा दार्शनिकको प्रभाव र तिनका दर्शनका आधार राखेको देखिँदैन । मानिसको अस्मिता बुझ्ने क्रममा बीपीले केही साहित्यिकारका प्रसंग ल्याएका लेखहरू भेटिन्छन् । तिनमध्ये उनले लेखेको प्रान्सेली लेखक अल्बर्ट कामु विषयका विचारहरूको चर्चालाई लिन सकिन्छ ।

कामुका जीवन र मृत्युको सम्बन्ध विषयका निकै पहिला लेखिएको यो लेखमा बीपीले कामुको अन्यायलाई चुनौतीको रूपमा हेर्नुपर्छ भन्ने सिद्धान्तलाई उजागर गरेका छन् ।

कामुको दर्शनलाई उनले निराशावादी, शून्यतावादी र निष्क्रियतावादी भनेका छन् । तर मृत्यु छ भनेर विद्रोहको अपरिहार्यतालाई बिर्सनु नहुने कामुको धारणालाई बीपीले प्रमुखता दिएका छन् ।

बीपीले पारिजातको 'शिरीषको फूल' जेलमै पढेर राखेका यी भनाइ महत्त्वपूर्ण छन् । शंकर लामिछानेले भूमिका गरेको शून्यवादको व्याख्यालाई बीपीले विद्वतापूर्ण भनेका छन् । तर उनले यो पनि भनेका छन् 'कथाको हेतु ठीक शून्यवादको विपरीत छ ।' बीपी भन्छन् - यो उपन्यासमा जीवनप्रति अगाध ममता छ र त्यसको यहाँ मार्मिक उल्लेख भएको छ ।

बीपी सुयोगवीरलाई जीवनप्रति उदासीन व्यक्तिको रुपमा लिँदैनन् । तर त्यसका स्मृतिले ऊ सधैं समातिएको छ । बीपी कामुको भनाइलाई यहाँ सायद प्रयोग गरेर भन्छन्, पारिजातको उपन्यासमा शून्यवाद छ भन्न मिल्दैन । बीपी सकम्बरीलाई लिएर भन्छन्– सकम्बरी नराम्री छ र सायद त्यसैले उसमा हीनताभाव -इन्फेरियोरिटी छ । ऊसँग नारीसुलभ प्रेमको प्यास छ । ऊ भावुक छ । यही भावुकता र हीनताभावले गर्दा उसको ट्रयाजेडी भएको हो ।

प्रान्सेली साहित्यमा आएका विश्वभर प्रभाव फारेका विचारहरूको छलफल गर्दा नेपालमा सायद तिनको विषयमा छलफल सुरु भएका थिएनन् । केही समयपछि मात्रै शंकर लामिछानेले कामुका विचार खासगरी, साहित्य रचना गर्ने परिस्थितिको विषयमा लेखेका छन् ।

बीपीले कामुलाई उनका समकालीन र मित्र जाँ पोल सार्त्रभन्दा अलिक भिन्न लेखकको रूपमा प्रस्तुत गरेका छन् । बीपीले लेखेको 'आधुनिकता...' अर्को एउटा महत्त्वपूर्ण लेखको यहाँ प्रसंग ल्याउन चाहन्छु ।

त्यसो त उनको अध्ययनको वृत्त फराकिलो थियो । उनले धेरै लेखकहरूका कृति पढेका थिए । जेलमा छँदा पनि उनले त्यो क्रम जारी राखे । बाहिरका र नेपाली लेखकका कृति पढे, बीपीले । उनका प्रतिक्रियाहरू कस्ता थिए ती रचनामाथि भन्ने कुरा जान्ने हामीसँग धेरै आधार छैनन् ।

डा. हरिप्रसाद शर्मा पराजुलीलाई २०३७ सालको असार महिनामा बीपीको निवास चाबहिलमा दिएको अन्तर्वार्ता अहिलेसम्मको सबभन्दा महत्त्वपूर्ण आलेख हो । यसमा बीपीले आफूलाई फ्रायड, एडलर र यङको प्रभाव परेको कुरा स्वीकार गरेका छन् । तर त्यसो भन्दा बीपीको प्रायडवादी व्याख्या गर्ने पद्धतिमा समस्या देखिन्छन् ।

एडलरका व्यक्तित्व र अहम चेतनाका सूक्ष्म अध्ययन र युङ्को पुरावृत्तीय वा आर्केटाइपल फ्याटर्न अनि मनका गहिरा आयामहरू जसमा लामा स्मृतिहरू वा पुस्तान्तरका स्मृतिहरूको पनि व्याख्या छ । त्यसलाई एकैसाथ राखेर अध्ययन गर्नुपर्ने हुन्छ ।

तर बीपीले यी तिनै जनाको अध्ययन गरेको कुरा महत्त्वपूर्ण छ । अनि साहित्य र राजनीतिलाई उनले आफ्नो हृदयमा दौंतरी जस्तै भएर बसेका विषयको रूपमा मानेका छन् । तर यिनको कुनै सम्बन्ध हुँदैन पनि भनेका छन् बीपीले । त्यसैले ऊनका यी कुराहरू बुझ्न कि त उनैसँग छलफल गर्ने एउटा सम्भावना थियो कि त अहिले सूक्ष्म अध्ययन गर्ने काम हो । पराजुलीको यो अन्तर्वार्ता प्रशंसनीय छ । त्यो अन्तर्वातामा बीपीले भनेको यो कुरा अत्यन्त महत्त्वपूर्ण र वाचाल छ भन्ने सजिलै बुझिन्छ ।

बीपीले भनेका छन्, 'तर साहित्यसँग मेरो घनिष्ट सम्बन्ध भएकोले मेरा राजनीतिक लेखहरूकै भाषा पनि साहित्यिक भाषासँग धेरै नजिकिएको छ ।' उनको निजी कथा आफ्नो जीवनी (२०३५) देखि लिएर उनका डायरीहरूमा प्रयुक्त भाषा र जीवनका सूक्ष्म पक्षहरूको प्रस्तुतिमा साहित्यिक शैली र अभिव्यञ्जना पाउन सकिन्छ ।

म यसको प्रसङ्ग फेरि जोड्नेछु । यस अन्तार्वार्तामा बीपीले प्रेमिका, भार्या र माताका तीन घुम्ती पार गरेकी विद्रोही नारी इन्द्रमायाको चित्रण गरेका छन् । उनले रचनागर्भबारे पनि खुलाएका छन् । भनेका छन्, 'नरेन्द्र दाइ उपन्यासको पात्र विश्ववन्धुकी आमाका दाइ हुन् ।'

उनका उपन्यासमा जीवन्त पात्रहरूबाट जन्मेका मनोगत र घटनामुखी चरित्र छन् । सुम्निमाको रचनागर्भबारे उनले अन्तर्वार्तामा भनेका छन्, 'मैले सुन्दरीजल जेलमा बस्ता ब्राम्हण र राई सभ्यताका कट्टर समर्थक रामनारायण मिश्र र देवानसिं राईको चर्काचर्की साँस्कृतिक बहस सुनें ।सुम्निमा र बिजुवा आदिको कथा राईले बताए भने सोमदत्तको कथा मिश्रले बताए । उनीहरूले भनेकै कथालाई सुम्निमा उपन्यासमा कलात्मकता दिइएको छ । मिश्र र राईबीच भएको अध्यात्मवाद र भौतिकवादमा आधारित बहस सुनेर लेखिएको यो उपन्यास ती दुई सभ्यताबीचको संगमजस्तो देखिन्छ।' (५४६) ।

त्यही अन्तर्वार्तामा बीपीले मोदीआइन् र हिटलर र यहुदी लाई गीता दर्शनमा आधारित उपन्यास भनेका छन् । उनलाई गीता निष्कर्ष नदिइसकिएको अनुभव भयो । यसमा उनले निजी अनुभवका कुरा पनि राखेको कुरा महत्त्वपूर्ण छ । महाभारतकी यो 'प्रेतात्मापल्टनी' मैले पनि सान्दाजुको महाभारत (२०७२) नाटकमा प्रयोग गरेको छु ।

हिटलर र यहुदी उपन्यास गीतालाई आधार गरेर लेखिएको भनेर बीपीले व्याख्या गरेका छन् । उपन्यासको अविवाहित हिटलर 'कृष्णले महाभारतमा गराएको युद्ध वा नरसंहारलाई स्वकर्तव्य सम्झिन्छ,' उनले झनेका छन्, 'हिटलरलाई मैले गीताको कृष्णको रुप दिएको छु । दुवै अद्भुत छन्, दुवैका लागि मानव विनाशको कुनै अर्थ छैन । दुवै पात्रमा मानव संवेदनशीलता पटक्कै पाइँदैन।'

मोदिआइनमा त्यो निरपेक्ष र भयानक पक्ष छ । मैले आफ्नो नाटकमा पनि त्यो नाटकीकरण गर्न खोजेको छु, महिला पात्रका रचना गरेर । प्रेतात्मा हिटलर स्वर्गमा पुगेर आफनो पृथ्वीको हालीमुहाली सुनाउँछ‚ ईश्वरको आगाडि र भन्छ म तिमीजस्तो नभए पनि सानोतिनो ईश्वर नै हुँ । बीपीले गीताको माध्यमबाट मानिसको चरित्र र शक्तिको प्रयोग गर्ने मानसिकताको चित्रण गरेर साहित्यमा त्यसको प्रवेश गराउनुले उनको साहित्यिक अधिचिन्तनको बलियो उदाहरण प्रस्तुत गर्छ ।

समले नेपाली साहित्यमा कुनै एकाध मोडेल नभेटे पनि उनलाई प्रभाव फार्ने कथाकारमा बालकृष्ण सम थिए । अरु कथाकार गुरप्रसाद मैनाली, भवानी भिक्षु पनि उनलाई मन पर्ने कथाकार थिए । तर बीपी कोइरालाले मानिसका सूक्ष्म सरल मनोभावनादेखि तिनका मिथकीय र भयानक स्वरूपका पनि चित्रण गरेका छन् ।

बीपीको अध्ययन पद्धतिबारे मैले 'प्रदीप गिरी र बीपीका अध्ययन प्रसंग' शीर्षकमा लेखेको कान्तिपुर (असाेज २९, २०७९) मा प्रकाशित लेखबाट एउटा अनुच्छेद यहाँ राख्न चाहन्छु ।

बीपी कोइरालाको अध्ययनको पद्दति कुनै नेपाली राजनीतिज्ञलाई, अझ उनका कांग्रेस नेताहरूलाई सजिलै मोडल हुनसक्ने सम्भावना कम थियो भन्ने बुझिन्छ । त्यसो त बीपीले कांग्रेस नेताहरूलाई जेलमा अध्ययन गर्न लगाएको कुरा सर्वविदित छ ।

'बलबहादुर राईले पनि बीपीले अध्ययन गर्न लगाएको कुरा स्वीकार गरेका छन् । बीपीको अध्ययनको मोडल एक सिद्धान्त पढ्ने नेताको जस्तो नभएर एक साहित्यिकको जस्तो थियो । मैले बीपीको साहित्यिक समीक्षाको सिलसिलामा र उनको पहिलो अंग्रेजी डायरीको सम्पादन र लामो भूमिका लेख्ने क्रममा बीपी कोइरालाज् डायरीः स्टोरी अफ् करेज एण्ड प्रिडम (२०२०) उनको किताब पढ्ने संस्कार र रुचिको विषयमा लेखेको छु ।

बीपीको किताब छान्ने पद्दति एक साहित्यकार र स्वतन्त्र विचारकको थियो । उनको यो अत्यन्त महत्वपूर्ण कालमा लेखिएको डायरीमा बीपीले लुइ फिसरले लेखेको गान्धी भन्ने किताबको विषयमा वर्णन गरेका छन् । उनी आङल भाषाका किताबको विषयमा लेख्छन् ।

फ्रान्सेली लेखक आन्द्रे जिदको उपन्यास इजाबेला उनले पढेका थिए । उनले पढेको वैचारिक किताब भूदान आन्दोलनका प्रणेता विनोवा भावेको गीताको व्याख्या हो । तर यहाँ एक मार्क्सवादी अध्येता भएकोले उनले भावेको जीवन र यसका समस्याप्रतिको सन्तुलित दृष्टिमात्र मन पराएका छन् ।

बीपीले रुसी उपन्यासका सटिक चर्चा गरेका छन् । बीपीलाई यस अर्थमा हामी एक साहित्यिक समीक्षात्मक चेतना भएका अध्येताको रूपमा देख्छौं । उनले हिटलर र यहुदी उपन्यासमा मार्क्सको प्रसंग ल्याएका छन् तर त्यो राजनैतिक नभएर साहित्यिक छ ।

उनले भनेका छन् - मेरा स्कुले दिनमा म गीता नित्य पढ्थें तर जब मलाई मार्क्सवादको प्रभाव पर्‍यो मलाई मेरो गीतासम्बन्धी धारणा भ्रम जस्तो लाग्यो । अहिले आएर म फेरि भावेले व्याख्या गरेका गीताभित्रका उदात्त विचार मन पराउँछु ।'

नेपाली लेखक खासगरी पारिजातको उपन्यास शिरीषको फूल पढेर उनले लेखेका प्रतिक्रियाबारे अहिले चर्चा गरियो । समीक्षक र अध्येताहरू अनि प्राज्ञिक क्षेत्रका व्यक्तिहरूले यी विषयहरूमाथि निकै मीमांसा गरेका छन्‚ जुन ग्रन्थहरू अनि बीपी साहित्य लिएर प्रकाशित संकलन र पत्रिकाहरूमा पाउन सकिन्छ । यो क्रम अहिले पनि जारी छ ।

यी लेखहरूको प्रसंग ल्याउनुको अर्थ बीपीको साहित्य सिर्जनामा अधिचेतनाको महत्त्व छ भन्ने विषयको छोटो छलफल गर्नु हो । बीपीको साहित्य रचनामा अधिचेतनाको महत्त्व किन छ भन्ने कुरा म एक छिनमा राख्न चाहन्छु ।

अधिचेतना भन्नाले रचना गरिएको विधामाथि नै आत्मचिन्तन गर्नु हो । अमूक साहित्यिक कृतिको लेखनमाथि एउटा सचेत चेतनाले काम गर्ने पद्धति हो अधिसाहित्य अथवा 'मेटा-लिटरेचर ।' बीपीका साहित्यिक रचनालाई उनको साहित्यिक अधिचेतनाको आधारमा हेर्नुपर्छ भन्ने मेरो मान्यता छ । यसको यहाँ संक्षिप्त व्याख्या गर्न चाहन्छु ।

बीपी कोइरालाका प्रायश सबै जसो साहित्यिक रचनाको पछिल्तिर अमूक चेतना वा जीवन दर्शन हुन्छ । ती अनेकौं विधा र विधिमा लेखिएका रचना हुन् । उनका उपन्यास वा कथा वा कविता जे विधामा लेखिएका रचना भए पनि तिनमा अधिचेतना हुन्छ, कुन रचना किन लेखियो र त्यसले कस्तो दृष्टिको प्रतिनिधित्व गर्छ भन्ने कुरा त्यहाँ विद्यमान हुन्छ ।

बीपीले मानव संवन्धका अनेकौं सूक्ष्म पक्षहरूलाई अत्यन्तै ध्यान दिएर पात्र र कथानकका रचना गरेका छन् । अधिचेतनाको उद्घोष पनि बीपीले पटक पटक गरे । खासगरी उनले साहित्य र राजनीतिको विषयमा दिएका उदात्तहरू यस किसिमको साहित्यिक अधिचेतनाका उदाहरूण हुन् ।

बीपीको साहित्यिक अधिचेतना उनको राजनैतिक चेतनासँग अत्यन्त नजिकले जोडिएको थियो । बीपीका तलका उद्गार यसका नमूना हुन् ।

उनले भने, 'म राजनीतिमा एउटा व्यक्ति छु भने साहित्यमा एकदम अर्को । यसरी मभित्रका दुई प्राणीले दुई पृथक पृथक कार्य गरिहेछन् भन्ने मलाई लाग्छ । ती दुइटा प्राणीहरूको कहिल्यै पनि आपसमा भेटघाट भएको छैन । त्यसो हुनाले मेरो लेखनीमा राजनीतिको कुनै पनि गन्ध छैन ।'

फेरि पनि उनले यसो भने

...राजनीतिमा म एउटा अन्तरप्रेरणाले उकासिएको छु भने साहित्यमा ठीक विपरीत । म राजनीतिमा समाजवादी हुँ भने साहित्यमा अराजकतावादी । कला सुरक्षा चाहँदैन, स्वतन्त्रता चाहन्छ; उसलाई हिंडिसकेको बाटोमा खुट्टा हाल्न मन लाग्दैन । आफूले हिंड्ने बाटो आफैं बनाउन चाहन्छ ।'

यस प्रकारको भनाइ उनले पहिलो पटक राखेका होइनन् । 'आधुनिकतावादः शैली परिवर्तनको आन्दोलन' शीर्षक लेखमा उनले धेरै पहिले नै यो विषयको छलफल गरेका थिए ।

त्यस लेखमा उनले भनेका छन्, 'राजनीति र कलाको आपसी द्वन्द्वका सन्दर्भमा प्रलम्बन गरेर यो भन्न सकिन्छ कि राजनीति र कला दुई भिन्न परस्पर विरोधी उद्देश्यलाई लिएर स्थापित जीवनका क्षेत्र हुन् । राजनीतिको उद्देश्य संगठन हो । यसको वृत्ति सामाजिक हो । यो नियममूलक हो ।

सुरक्षा भावनाद्वारा प्रेरित, यो रुढिग्रस्त छ तथा नयाँ विचारहरू र प्रयोगहरूप्रति शंकाशील छ ।' (३००) । यो विषयमाथि अध्येता समीक्षकहरूले अरु व्याख्या गर्ने छन् । बीपीले राजनीतिको रुढीग्रस्त र नयाँ विचारहरू र प्रयोगहरूप्रति शंकाशील चरित्रलाई इंगित गरेर साहित्यको महत्त्वलाई टड्कारो गरेको अर्थमा लिनुपर्छ भन्ने मेरो धारणा छ ।

उनले यस अर्थमा साहित्यलाई मानिसको जीवनमा सिर्जनशील पक्षलाई उद्घाटित गर्ने आधार मानेका छन् । बीपीका यी भनाइलाई समीक्षक र राजनीति विश्लेषकले साधारण अर्थमा धेरै प्रस्तुत गरेको भेटिन्छ ।

वास्तवमा यो बीपीको सचेष्ट साहित्य सिर्जना अथवा अधिचेतनाको अभिव्यक्ति हो । उनका कुनै पनि साहित्यिक कृतिलाई यही सचेष्ट साहित्य सिर्जनाका आधारमा हेर्नुपर्छ भन्ने मेरो धारणा छ । उनका केही साहित्यिक कृतिहरूका उदाहरूण दिएर म यहाँ बीपीको साहित्य लेखन पद्धतिको सक्षिप्त छलफल राख्न चाहन्छु । 'त्रिगुणले मण्डित दर्शनः व्याख्याका समस्या' (२०७०) मा प्रस्तुत मेरा केही छलफलहरू पनि यहाँ आउँछन् ।

बीपी कोइरालाले आफैंले आफ्नो पद्धतिबारे अदालतको बयानमा प्रयोग गरेको अभिव्यक्तिलाई आधार राखेर केही कुरा राख्न चाहन्छु । बीपी कोइरालाले आफ्नो प्रधानमन्त्रीत्वलाई त्रिगुणले मण्डित भनेका छन्, अदालतको बयानमा ।

बीपी कोइरालाको साहित्यलाई एक बहुल पक्षले बनिएको सिर्जनात्मक कलेवरको रुपमा लिँदा यही त्रिगुणले मण्डित साधना र उपलब्धिको रुपमा लिएर हेर्दा उनका साहित्यको सार अर्थ भेट्न सकिन्छ ।

कोइरालाको क्रान्तिको सिद्धान्त, विश्वेश्वरप्रसाद कोइरालाको साहित्य र त्यसमा भेटिने अधिसिद्धान्त अथवा मेटाथ्योरी अनि उनको राजनीति र साहित्यका वैशिष्ट्य जनाउने आधारहरूलाई राखेर उनको सम्पूर्ण साहित्य रचना हेर्नुपर्छ भन्ने मेरो मान्यता छ ।

अहिले यी सबै कुराको व्याख्या गर्ने समय नभएको हुनाले म संक्षिप्तमा विश्वेश्वरप्रसाद कोइरालाको साहित्यमा पाइने अधिचेतनालाई लिएर केही छलफल प्रस्तुत गर्न चाहन्छु । यी सबैमा व्याख्याका समस्याका विषय पनि आउँछन् ।

बीपी कोइरालाका रचनामा पाइने अधिचेतनाको आधार उनको सिर्जनशील र सामाजिक अथवा राजनीतिक चेतनाको कलेवर हो । यो अधिचेनाको आधार पहिले पनि भने सिर्जना र सामाजिक वा दार्शनिक चेतले मण्डित जीवन दर्शन हो । त्यो चेतनाको आधार उनको सिर्जनात्मक र समीक्षात्मक वा वैचारिक द्वन्द्व नै हो । यो द्वन्द्वबारे बीपी कोइराला अत्यन्त सचेष्ट थिए ।

उनको अधिचेतना यसमा प्रखर रपमा काम गरिरहेका उदाहरूण भेटिन्छन् । त्यही कारणले गर्दा उनले विभिन्न समयमा अराजकता भनिने साहित्यिक मोड र राजनीतिका फरक आलम्बन देखाउाने अझिव्यक्तिहरू दिए । तर यो सबै उनको साहित्यिक अधिचेतनाबाट नै जन्मिएको कुरा हो ।

बीपी कोइरालाको राजनीतिक आलम्बन सिर्जनशील चेतनाकै अंग हो । त्यसैले उनले राजनीतिक अभ्यास गरिरहेको बेला पनि साहित्यिक रचना गर्न छोडेनन् । उनले भनेको मानिसको मुक्ति, अधिकार, शान्तिको चेतना त्यही चेतनाको परिणाम हो ।

अदालतको बयानमा राजा महेन्द्रले कु गरेर जनताको अधिकार हनन गरेको विषयलाई बीपीले प्रस्तुत गर्दा त्यही मानवताले ओतप्रोत भावना, करणा र क्रान्तिको संयुक्त चेतनाका अभिव्यक्ति दिएको कारण त्यही थियो । अदालतको बयानमा बीपी कोइरालाले भनेका छन्–

'बडो व्यथित हृदयले उल्लेख गर्नुपर्छ कि त्यस दिन हजारौं निर्दोष नेपाली नागरिकहरू केबल बन्दी बनाइए, तिनीहरूलाई आतङ्कको वातावरणमा कागज गराइयो । त्यसरी तिनीहरूलाई आत्महीन तुल्याइयो । नेपालको इतिहासमा जनताको सम्मानलाई समाप्त पार्ने या नागरिकहरूको तेजोबध गर्ने त्यत्रो ठूलो पैमानामा यस्तो कार्य पहिले कहिल्यै भएको थिएन ।'

लाखौं जनता निरीह बनाइए अनि तिनको अधिकार खोसियो भन्ने बीपीको अदालतको यो बयानमा उनको राजनीतिको मानवीय र प्राजातान्त्रिक संचेतना भेटिन्छ ।

मैले 'विश्वेश्वर प्रसाद कोइरालाको राजनीति, साहित्य र कानुनको 'त्रिगुणले मण्डित' शीर्षक लेखमा लेखेको कुरा दोहोर्‍याउन चाहन्छुः

'विश्वेश्वरप्रसाद कोइरालाको अदालतको बयान त्यस अर्थमा राणाहरूले एकल सुनुवाइ गर्ने, हुकुमी शासनका फर्मान् जारी गर्ने पद्ध तिको नाटकीय विनिर्माण थियो । एउटा विघटन थियो ।

त्यसैले कोइरालाले अदालतभित्र लगेका वयान र उनले मानिसको अधिकार हननसँग उनको जीवन र अनेकौं शहीद हुनेका जीवनसँग जोडेर दिएको बयानले एउटा स्थान, 'आर्किटेक्चर’को परिवेश र राणाहरूकै हुकुमी पद्धतिलाई स्थापित गरेको पञ्चायती शासनको प्रेतकल्पलाई उदाङ्ग पार्छ ।'

यो पक्षको उजागर गर्न मैले उपयुक्त विधा र विधिको खोजी गरें । त्यसमा नाटक र रङ्गमञ्च सबभन्दा उपयुक्त विधि र विधा भएकोले यसलाई लिएर सान्दाजुको महाभारत नाटक लेखें जस्को प्रस्तुति भिलेज थेटरमा विमल सुवेदीको निर्देशन र आयोजनामा २०७२ मा प्रस्तुत भयो ।

त्यो नाटकमा बीपी कोइरालाले लेखेको साहित्यमा पाइने अधिचेतनाको प्रयोग भएको छ । कुशल कलाकार र संगीत लेखकहरूको प्रस्तुतिमा भएको त्यो नाटकमा बीपीको साहित्यका मूल पात्रपात्राहरू नाटकमा पात्र भएर आउँछन् । त्यसमा 'मोदीआइन,' 'तीन घुम्ती,' अनि 'एक रातको कथा'का नाटकीय प्रस्तुति भएका छन् ।

बीपी कोइरालाको साहित्यिक लेखन र उनको अवस्थाले प्रेरित झएर मैले अनेकौं अध्ययनका जमर्काहरू गरें । नेपाल र बाहिर सेमिनार सत्रहरू लेखेर प्रस्तुत गरें । तिनको यहाँ प्रसंग ल्याउन लागेको होइन । तर अन्तमा एउटा लेखको उल्लेख गर्न चाहन्छु ।

बीपीले अध्ययन सामग्रीको अभावमा जेल जीवनमा लेखेको विषयमाथि चिन्तन गर्दा कुनै पढने सामग्री नपाई नाजी जर्मनीबाट टर्कीएको इस्तानबुलमा निर्वाचित जीवन बिताएर एउटा माइमेसिस भन्ने प्रख्यात ग्रन्थ लेखेका अर्बाखको कुरा आयो । अनि बीपी र अर्बाखको तुलना गरेर एउटा लेख लेखें । सार्क लेखक सम्मेलनमा पनि प्रस्तुत गरें । यसमा बीपी कोइरालाका जेलमा नष्ट भएका आठ वर्ष र बिनासुविधा पनि लेखन कर्म गरेको विषयलाई छलफल गरेको छु ।

बीपीको साहित्य साधना र यो जेलजीवनको प्रभाववारे यसमा अर्बाखसँग तुलना गरेर केही लेखेको भए पनि यसमाथि अझै लेख्न बाँकी छ भन्ने मलाइ लाग्छ ।

मैले पहिला लेखेको छु, 'विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासका पात्रका संघर्ष, तिनका अनिर्णित अवस्था र तिनका खोजीको विषयलाई लिएर समीक्षकहरूले लेखेका समीक्षाहरू निदानवादी हुन् । कि त तिनका अवस्थाको दार्शनिक व्याख्या भएको छ कि त तिनका कर्मको निदान खोजिएको छ ।' –पुनर्पाठ मा पृष्ठ २४)।

विश्वेश्वरप्रसाद कोइरालाको समग्र लेखनलाई एक वृहत्तर अधिचेतनाको रूपमा हेर्नुपर्छ भन्ने मेरो धारणा छ । त्यसलाई सजिलोको निम्ति हामी उनलाई कथाकार, उपन्यासकार र डायरी लेखक जस्ता अध्ययनका परिचित र स्थापितक शीर्षकमा नै राखेर हेर्न सक्छौं । यो वर्गीकरणको आधार उनको साधना हो ।

यी सबैमा व्याप्त साझा शीर्षक उनको राजनैतिक चेतना र कर्म हो । त्यो चेतनाले सबैलाई जोड्छ । विश्वेश्वरप्रसाद कोइरालाको साहित्यका पात्रहरूलाई अनि तिनका जीवन र तिनले भोगेका नियति हेर्न बीपी कोइरालाको अधिचेतनाको प्रयोग महत्वपूर्ण हुन्छ ।

त्यसको अर्थ उनका कथा र उपन्यासका पात्रहरूका कर्म, तिनका आलम्बन सबै सचेष्ट खोजी र प्राप्तिका कथा हुन । उनले नेपालीमा लेखेका २३ र हिन्दीमा लेखेका ४ कथाले बीपीलाई एक लेखकको रुपमा स्थापित गरिसकेका थिए ।

उनका २७ कथाका सूक्ष्म पात्र चित्रणमा बीपीले मानिसका सरलताभित्र उसको वृहत् चेतना बुझ्ने, उसको अस्मिताका विभिन्न पक्षका आयामहरूलाई उजागर गर्ने सिर्जनात्मक सामर्थ्य देखाएको कुरा अध्ययनको एउटा स्थापित विषय भएको छ ।

तर पछिल्लो समय अथवा उनको सत्र सालदेखि पच्चीस सालसम्मको जेलजीवनले उनको साहित्य लेखनप्रतिको साधनाको प्रकृतिमा परिवर्तन आएको कुरा महत्त्वपूर्ण छ । सबै उनका उपन्यास जेलमा लेखिएनन् तर त्यहाँको जीवन, अध्ययन चिन्तन र चेतनाले ल्याएका परिवर्तन नै बीपीको औपन्यासिक साधानाका कारक भए भनेर सजिलै देख्न सकिन्छ ।

त्यसैले मानिसको मुक्तिसँग गाँसिएको बीपीको राजनैतिक दर्शनले उजागर गरेको विषयले उनका पात्रहरूले भोगेका जीवन पक्षका दृष्टिहरूलाई समावेश गरेको छ । बीपीले यो परिवर्तनको गतिशीलता, दर्शन र साधनालाई उनका पछिल्ला कृतिहरूको आधार बनाएका छन् ।

पछिल्लो अवस्थामा विश्वेश्वरप्रसाद कोइरालाले उपन्यास लेखे । ती हुन्, उपन्यास तीन घुम्ती (२०२५), नरेन्द्र दाइ (२०२६), सुम्निमा (२०२७), मोदिआइन (२०३६) हिटलर र यहुदी (२०४०), र बाबु, आमा र छोरा (२०४५) । यहाँ यी उपन्यासको छलफल गर्ने समय छैन । तर यी उपन्यासहरूका साझा चरित्र छन् ।

पहिलो विश्वेश्वरप्रसाद कोइरालाले खुलेरै आफ्नो साहित्य त्यसमा पनि कथानक वा फिक्सन लेख्ने वृत्तलाई फराकिलो बनाए । श्वेत भैरवी कथा र उपन्यासको एउटा सेतु कथा भयो । उपन्यासका आकार साना ठूला जे भए पनि तिनले वृत्त अथवा 'स्फेयर' फराकिलो बनाएका छन् ।

विश्वेश्वरप्रसाद कोइरालाले यी उपन्यास लेखेको बेला फश्चिममा र अरुतिर पनि यो विधाको विषयमा अनेकौं बहस चले । उपन्यास विधाको अव प्रभावकारिता सकियो सम्म भन्ने चर्चा चले । चलेका छन् । तर विश्वेश्वरप्रसाद कोइरालालाई उपन्यास विधा एक लचक भएको, बृहत् परिवेशलाई राख्न सकिने कथानक र घटनाको प्रस्तुति गर्ने माध्यम भयो ।

यिनले पच्चीसदेखि पैंतालीस सालसम्म यो विधाको जोडदार प्रयोग गरे । विश्वेश्वरप्रसाद कोइरालाले उनको साहित्य र राजनीति अलग हुन् भने पनि यिनमा उनको उपन्यासकार व्यक्तित्वले उनको राजनीतिको नयाँ आयाम प्रस्तुत गरेको अवस्था देख्न सकिन्छ ।

बीपीको त्यो बेलाको राजनैतिक आयाममाथि महत्त्वपूर्ण अध्ययन भएका छन् । कृष्ण खनालको भर्खरै प्रकाशित विश्वेश्वरप्रसाद कोइरालाः चेतना, चिन्ता र राजनीतिलाई एउटा उदाहरणको रूपमा उल्लेख गर्न चाहन्छु । अरु विस्तृत छलफलले उजागर गर्ने विषय हो ।

बीपीको राजनीतिमा कालिक परिवर्तन, भौगोलिक र स्थान विशेषको प्रभाव अनि उनको आफ्नै महायात्राको परिवर्तित अवस्थाको प्रभाव देखियो । त्यो एक महत्त्वपूर्ण परिवर्तन थियो ।

समग्रमा उनको राजनीतिक महायात्राको यो अवस्थामा नयाँ यथार्थिक पात्रहरू आए र बीपीले तिनीहरूसँग समय र नीति अनि सिद्धान्तको नयाँ अभ्यास गरे । तर अर्कोथरि पात्रहरूको पनि जीवन्तता त्यहाँ थियो, त्यही कालमा ।

ती सबै उनका उपन्यासका पात्र थिए जसका मुक्तिका चाहना, साहस र कर्म अनि तिनका वाणीहरू थिए । ती यथार्थदेखि मिथक अनि काव्यिक र दार्शनिक फक्षहरूलाई उजागर गरेर जीवन हेर्न उद्दत देखिए ।

बीपीको साहित्यिक अधिचेतनालाई लिएर भन्दा यो समयका उनका उपन्यासका पात्रपात्राहरूले जीवनका अनेकौं चुनौतीलाई आफ्नो जीवन शैली र परिवर्तनको पर्यायको रुपमा लिएका छन् ।

यो बीपीको जेल जीवन, बाहिर अनि भित्र अनि सशस्त्र क्रान्ति र गान्धीवादी विचारका द्वन्द्वमा परेको काल थियो । मेरो विचारमा यी सबै उपन्यासहरूले त्यही परिवर्तित कालको प्रतिनिधित्व गर्छन् । विस्तृत मीमांसाको विषय हो ।

वास्तवमा उनका उपन्यासले प्रतिनिधित्व गरेको आमवृत्त फराकिलो छ । तिनका पात्रहरूका चित्रण नगरेर म यहाँ तिनका साझा विशेषताहरूको छोटो चर्चा गर्न चाहन्छु ।

विश्वेश्वरप्रसाद कोइरालाका उन्यासले पात्रहरूलाई निजत्व दिएका छन् । हिटलर र यहुदीकी रेवाको जीवनवोध र नारायणनको नियतिवोध, हिटलरसँग जोडिएका मानिसको संहारको अवस्था, तीन घुम्तीकी इन्द्रमायाको आत्मवोध अनि छोरीलाई लिएर गरेको महाभिनिष्क्रमण, यस क्रममा उसले रमेशसँग जोड्न खोजेका र भत्केका सम्बन्धका अवस्थाहरू, बाबु, आमा र छोरामा नरेन्द्र, गौरी र मुनरियाको उल्झन, मोदिआइनमा महाभारत र यथार्थ अथवा संप्रति जीवनको सान्निध्य जस्ता पात्रपात्राका अवस्थाले बीपीका उपन्यासले खुला गरेको वृहत्तर वृत्तलाई बुझाउँछन् ।

मलाई लाग्छ यी उपन्यासले साहित्यमा आधुनिकताको नयाँ आयाम खोलेका छन् । त्यसैले यो आधुनिकतालाई उनको राजनीतिको दर्शन, मानव मुक्तिको उनको दर्शन अनि अदालतको बयानमा व्यक्त मानिसको अधिकारको हनन र मुक्तिको उद्घोषणसँग जोडेर हेर्नु पर्छ ।

बीपीका उपन्यासले साहित्यमा एउटा सम्पूर्णताको खोजीका सबै आधारहरू दिएको छ । ती उपन्यासले उनले राजनीतिमा नभेटेका विषयमाथिका विचारहरूका मीमांसा गर्ने आधारहरू खोलिदिएको छ ।

त्यसको उदाहरूण तिनले जन्माएका समीक्षात्मक र विवेचनात्मक आयामहरूलाई बुझाउँछ । उनको साहित्यको समालोचनामा केही निश्चित पाश्चात्य सिद्धान्त र पुनरर्व्यक्तिहरू वा क्लिशेको प्रयोग हुन्छ । त्यसमा सबभन्दा धेरै प्रयोग गरिएको विषयको नाम फ्रायडवाद हो । मैले यसको विषयमा आख्यानकार विश्वेश्वरप्रसाद कोइरालाको निम्ति लेखेको “त्रिगुणले मण्डित” लेखमा लेखिसकेको छु ।

साहित्यमा आधुनिकताले मानिसको मुक्ति उसको अस्मितावोध र भोग्नु परेका अवस्थाहरूको चित्रण गरेर प्रस्तुत गर्छ । बीपीले आधुनिकतावादलाई शैली परिवर्तनको आन्दोलन भनेका छन् ।

तर अहिले आएर हामीले आधुनिकताको युगमा हेर्दा उनको त्यो व्याख्या अहिले पहिलेको धारणा जस्तो भएको छ । साहित्यमा आधुनिकता हेर्ने आजका दृष्टिबाट बीपीको साहित्यलाई उनको व्याख्याभन्दा भिन्न किसिमले हेर्नुपर्छ । निर्वयैक्तिक दृष्टि अनि पाठकमुखी चेतनाले साहित्य हेरिन्छ आधुनिकतामा ।

यहाँ त्यसको उत्तरवर्ती आधुनिकताको छलफल आउँदैन । तर त्यही लेखमा बीपीले आत्मस्वीकृतिमूलक किसिमले भनेका छन्, “जीवनलाई यी दुवै पक्षबाट बुझ्ने कोसिस गरें र दुबै क्षेत्रमा, चाहे त्यो राजनीतिक होस् वा साहित्यिक आफ्नो आचरणलाई अनुभवका आधारमा ढाल्ने प्रयत्न गरेको छु।” (“आधुनिकतावाद”, ३०१)।

बीपीका डायरीहरूको विषयमा एउटा लामो छलफल चाहिन्छ । अहिले यहाँ यत्ति भन्न चाहन्छु, उनका डायरी, अझ उनको आत्मसस्मरणमा बीपीको एक महायात्राको रुपमा आलेखित छ ।

उनका डायरी एक लेखक र राजनीतिककर्मी र नेताको मिलन गर्ने, संवाद गर्ने, केही लेख्ने, केही केर्ने अनि फेरि लेख्ने, आफ्ना नितान्त निजी विचार समस्या, मनका उद्वेलन र एक अस्तित्ववादी समस्याका आलेख गर्ने थलो हुन् ।

तर उनका डायरी केवल एक साहित्यकारका डायरी होइनन् । ती लेखक फ्रान्ज काफ्काका डायरी होइनन् जसमा लेखकका नितान्त निजी चिन्ता र चिन्तन लेखिन्छन् । काफ्काका डायरीमा कला र जीवनको द्वन्द्वका जटिलता लेखिएका हुन्छन् ।

जीवनका कुनै पद्धतिलाई समातेर ती लेखिएका हुँदैनन् । बीपीका डायरीमा निजत्व र एक राजनैतिक चेतना र चिन्ताको संयोग हुन्छ । त्यसैले उनका डायरीमा एक साहित्यकारले लेख्ने प्रकृतिका गुण भएर पनि तिनले उनको राजनैतिक जीवनको नै चित्र दिन्छन् । तर पनि बीपीका सूक्ष्म चिन्तन अनि निजत्वको प्रयोगमा साहित्यका गुण भेटिन्छन् । तर म यसलाई यत्ति मै राख्न चाहन्छु ।

साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको साहित्य उनका श्वेतभैरवी बाहेकका कथाहरूलाई एक खण्डमा राखेर भन्दा लेखकको सचेष्ट वा उनको अधिचेतनात्मक सामर्थ्यले लेखिएको जीवनको पछिल्लो काल अथवा जेल र त्यसको उत्तरकालको अत्यन्त महत्वूर्ण उपलब्धि हो नेपाली साहित्यको ।

समग्रमा उनको साहित्य सिर्जना र चेतनाको एउटा रचनात्मक कलेर हो । यसमा उनको लेखनले समयसंवेदनशीलता, अधिदर्शन र उनको राजनैतिक महायात्रा जनिन मानव मुक्तिको संगम गराएको छ जुन नेपाली साहित्यमा एउटा संघर्षशील र जीवनलाई हरेक फल मानिसको स्वतन्त्रता र मुक्तिको निम्ति काम गर्ने व्यक्तिको कामको रपमा चिनिनु पर्छ र चिनिने क्रम जारी छ ।

'त्रिगुणले मण्डित दर्शनः व्याख्याका समस्या' भनेर जुन हामीले सुरुमै भन्न रोज्यौं त्यसले भन्छ, व्याख्याका समस्या पाठकले नै समाधान गर्छन् । फ्रान्सेली चिन्तक रोलाँ बार्थले भनेजस्तै विश्वेश्वरप्रसाद कोइरालाको साहित्य वृहत्तर रुपमा यस्ता पाठकको जिम्मामा आएको छ जसले तिनका व्याख्या गरिआएका छन् ।

बीपीको उत्तरकालको यो उपलब्धिलाई अनेकौं विचारले व्याख्या गरिनु अत्यन्त स्वाभाविक हो । मार्क्सेलीहरू, प्रजातन्त्रवादीहरू अनि उनको उपन्यास सुम्निमा र नारी विषयमा समीक्षा गर्नेहरूले अनेकौं महत्वपूर्ण समीक्षा गरिआएका छन् ।

ज्ञानु पाण्डेको विद्यावारिधि शोध, युवा बीपी साहित्यकी विद्यावारिधि मूलक अध्येता अजपा शर्मा, बीपीका नारीपात्रमा विद्यावारिधि गरेकी र अनुसन्धान जारी राख्ने साधना प्रतीक्षा र अरु यहाँ उल्लेख नगरिएका नारी पात्र अध्येताहरूका कामको उल्लेखसम्म गरेर अध्ययनका अनेकौं धारहरूको विषय उल्लेखसम्म गरिराख्न चाहन्छु ।

राजनैतिक मनोगत विषयको आयामको लोकराज बरालको अध्ययन, बीपीको पोस्टालिटी वा उत्तरवर्ती चेतनाको कृष्ण खनालको ग्रन्थमा छलफल, कृष्ण हाछेथु, हरि शर्मा, हरि रोका अनि मिडियाका केही विश्लेषकहरूका बलिया लेखहरूले समग्रमा उठाएको यो उत्तरवर्ती चेतनाको छलफलले अहिलेको बीपी अध्ययनका आधारलाई इंगित गर्छन् भन्ने मेरो विश्वास छ । अहिले यसको छलफल गर्ने समय भएन ।

मूलतः जेलमा रहँदा नै बीपीले त्यो परिवर्तन, त्यो उत्तरकाल देखेको कुरा महत्त्वपूर्ण छ । उनले त्यो काललाई मानवीय सम्वन्ध, व्यक्तिको मुक्तिका विभिन्न पक्ष, त्यसका जटिल आयाम, साथै व्यक्ति र वृहत्तर शक्तिको द्वन्द्वलाई बुझेर जीवन बाँच्ने मोडेलका रुपमा रचना गर्न चाहे ।

त्यस चाहनाले बीपीले साहित्यमा कसरी अकार बनाए भन्ने कुराको अध्ययन र खोजी विश्वेश्वरप्रसाद कोइराला साहित्य अध्ययनको आधार हो ।

उनको राजनीतिले त्यो आधुनिकता, त्यो स्वतन्त्रता र प्रजातान्त्रिक विषयलाई कसरी सम्बोधन गर्‍यो, राजनीतिले कस्ता पात्र रचना गर्‍यो भन्ने विषय अध्ययनको नयाँ आयाम हो । त्यो राजनैतिक विषय बीपीको जीवनको उत्तरवर्ती कालमा नयाँ चुनौती र सम्भावना लिएर आयो । त्यसको अध्ययन भएका छन् र हुँदैछन् ।

त्यसैले हामी साहित्यिक मीमांसामा भन्छौं, विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासहरूले प्रतिनिधित्व गरेको उत्तरकालको उनको राजनीतिको उत्तरकालसँग सोझो सम्बन्ध नभए पनि उनको परिवर्तन कालले बुझाएको सम्बन्ध छ ।

यसलाई फ्रान्सेली दार्शनिक जाक डेरिडा प्रजातन्त्र र साहित्यको सम्बन्धको अपरिहार्यता भन्छन् । हामी विश्वेश्वरप्रसाद कोइरालाको साहित्य अध्ययन गर्नेहरूले त्यो पक्षलाई महत्वपूर्ण मानेर काम गर्नु आवश्यक छ भन्ने मलाई लाग्छ ।

विश्वेश्वरप्रसाद कोइरालाको साहित्यमाथि अनेकौं धारा र विचारले छलफल गर्न जुन यो तीन दिने कार्यक्रम भइरहेको छ त्यो अत्यन्त सुखद र महत्त्वपूर्ण कर्म हो ।

यसमा समाहित विविध विषयले भन्छन्, यसले नेपालका साहित्यिक लेखनहरूलाई हेर्ने बहुल दृष्टिहरू खोलिदिनेछ । बहुल कलाका समवेत प्रयोगहरूले आजको अन्तर्कला अध्ययनको बलियो आरम्भ गरेको छ । यसले साहित्य, कला, विचार र रङ्गमञ्चको समागम गराएको छ ।

यो अनेकौं गुणले मण्डित सिर्जनात्मक चेतना राजनैतिक र युगवोधसँग सम्बन्धित छ । विश्वेश्वरप्रसाद कोइरालाको साहित्य सिर्जना र जीवन दर्शन विषयमा छलफल गर्ने यो एक ऐतिहासिक आरम्भ हो ।

(साहित्यकार सुवेदीले गत साता नेपाली कांग्रेसले आयोजना गरेको 'बीपी साहित्य महोत्सव'मा दिएको विद्वत प्रवचनको सम्पादित सामग्री )

प्रकाशित : भाद्र ३०, २०८० १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?