कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

राउटेलाई पैसा होइन, खाद्यान्न

बिन्दु अधिकारी ढकाल

बृहत् नेपाली शब्दकोशले राउटेलाई कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा फिरन्ते जीवन बिताउने व्यवसाय भएको सिकारजीवी एक जाति, काठका भाँडा बनाई जीवनवृत्ति चलाउने र जङ्गलमा बस्ने मानव भनेको छ । राउटे अल्पसंख्यक जाति हो ।

राउटेलाई पैसा होइन, खाद्यान्न

उनीहरू खेतीपाती गर्दैनन्, स्थायी घर बनाएर सधैँ एकै स्थानमा बस्दैनन् । बाँदरको मासु खान्छन् । हामीमध्ये कतिलाई लाग्दो हो, उनीहरूको जात हुँदैन, गोत्र हुँदैन । धर्म न संस्कार । तर उनीहरूको जात छ, गोत्र छ, धर्म छ, परिवार छ, समुदाय छ, संस्कार, रीतिरिवाज छ ।

राउटेहरू जङ्गलमा बस्छन्, छाप्रो बनाउँछन् । राउटे समुदायका महिला सुत्केरी बेथा लाग्दा अस्पताल लाने चलन छैनन् । नयाँ सदस्यको आगमनमा अर्थात् बच्चा जन्मिँदा दस दिनसम्म कसैले हेर्ने, छुने र बोलाउने गर्दैनन् । शिशु र आमा छाप्रोभित्रै कुनामा बस्ने चलन हुन्छ । उनीहरूको शास्त्र हुँदैन तर गोत्रचाहिँ हुन्छ— रासकोटी गोत्र, कल्याल गोत्र र सोवंशी गोत्र । सगोत्रीबीच बिहे हुँदैन । राउटे समुदायमा गोत्र छुट्याएर मात्र बिहे गर्ने चलन छ । समुदायभित्रै धामी हुन्छ । मस्ट देेेउतालाई आफ्नो कुलको देवता ठानेर हरेक वर्ष पूजा गर्छन् । राउटेहरू दसैं, तिहार, कुल पूजा, माघी, साउने संक्रान्ति र चैतेदसैंजस्ता महत्त्वपूर्ण पर्व मनाउने गर्छन् तर पर्व र पूजामा बाहिरी मान्छेलाई उपस्थित हुन दिँदैनन् । राउटे जातिको मुख्य भाषा खाम्ची हो । नेपाली भाषा फाट्टफुट्ट मात्र बोल्छन् ।

अत्यधिक मदिरापान, पोषणयुक्त खानाको कमी र नवजात शिशुको उचित हेरचाहमा कमीजस्ता कारण राउटेको अस्तित्व खतरामा परेको छ । हुन त मदिरापान राउटे समुदायको मौलिक विशेषता हो । परापूर्वकालदेखि नै छाप्रोमा बचेखुचेको खानाबाट मदिरा बनाएर खाँदै आएका उनीहरूको लत पछिल्लो समय बजारिया मदिरामा परेको छ ।

राउटेहरू १५ वर्षअघिसम्म पैसा छोए पाप लाग्छ भन्थे । जंगलमा सिकार नपाइने र आफूले उत्पादन गरेका काठका सामग्री अन्नसँग सटही नहुने अवस्था आएपछि जीवन गुजाराका लागि उनीहरू अरू समुदायसँग नजिक हुँदै गए । त्यही बेलादेखि पैसाको महत्त्व पनि बुझ्न थाले । पैसाका कारण उनीहरूको परम्परा परिवर्तन हुँदै गयो । नेपाल सरकारले चौमासिक रूपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँछ । जनही चार हजारका दरले हिसाब गर्दा एउटा परिवारले एक पटकमा १ लाख २५ हजार रुपैयाँसम्म बुझ्छ ।

राउटे समुदायमा केही वर्षयता परम्परागत कार्यमा लगाव देखिँदैन । मधुस, राउटे बाकस, कुर्सी, खाट, बेन्च, पिर्का, ठेकी, मदानीलगायत काठका भाँडाकुँडा बनाउने काम लोप भएजत्तिकै छ । कसैले राउटे सदस्यसँग उभिएर एक पोज फोटो खिचौं न भन्दा पैसा नदिएसम्म टसमस गर्दैनन् । पहिला एक जना मुखिया आज्ञामुताबिक समुदाय चल्ने गरेकामा अहिले तीन गोत्रका तीनै जना मुखिया छन् । केटाकेटी मात्रै होइन, ठूलै मान्छे पनि एक्लाएक्लै टाढा हिँड्दैनन् । कतै जान या त बास बदल्न मुखिया नै अघि सर्छन् । उनकै बोली आधिकारिक निर्णय हुन्छ ।

राउटेको जनसंख्या डेढ सय हाराहारी छ । राउटे समुदायमा जन्म संस्कार मनाउँदा निकै रमाइलो गर्छन् । खुसियाली छाएका बखत एकै ठाउँमा जम्मा भएर बाजा बजाउँछन् । मासु खान्छन् । मदिरा छुट्ने कुरै भएन । बच्चाको नाम जुराउन पुरोहित चाहिँदैन । ठाउँविशेषका आधारमा आफैंले नामकरण गर्छन् ।

‘सोसेक नेपाल’ राउटे परियोजनाको तथ्याङ्क अनुसार, यस समुदायमा बालमृत्युदर ६० प्रतिशतभन्दा बढी छ । अत्यधिक मदिरापान, नवजात शिशुको उचित हेरचाह अभाव, पोषणयुक्त खानपिनको कमीले मृत्युदर बढाएको देखिन्छ । पहिला राउटेहरू गिट्ठा–भ्याँकुर, तरुल लगायतका काँचा–कचिला जङ्गली कन्दमूलका भरमा जीवन गुजार्थे । मुखिया सूर्यनारायण भन्छन्, ‘हाम्रा बाउबाजेले यसरी जीवन बिताए, हामीचाहिँ किन फरक हुने ? हामी सहरमा किन बस्ने ? किन घर बनाउने ? पढाइ–लेखाइ किन गर्ने ? धेरै गुनासो छ, सामुदायिक वनले रूख काट्न दिएन तर सरकारले भत्ता दिएको छ, त्यही पैसाबाट गुजारा चलाउँछौं ।’

प्रत्यक्ष भेटेपछि मैले थाहा पाएँ— राउटे समुदायमा कसैको भागी बिहा हुँदैन रहेछ, सबैको मागी बिहे । १५–१६ वर्षकी केटी २२–२३ वर्षको केटासँग लगन जुराउँदा रहेछन् । विधवाले पुनः बिहे गर्न नपाउने चलन छ । विधवा बस्तीछेउकै छाप्रोमा बस्छन् । उनलाई सबै कार्यमा सहभागी गराउँछन् । महिलाको काम खाना पकाउने, पानी जोहो गर्ने, बालबच्चा स्याहार गर्ने र दाउरा खोज्ने देखिन्छ । उनीहरू बाहिरका मानिससँग कुरा गर्न नरुचाउनाको कारण भाषागत समस्या हो कि जस्तो लाग्यो ।

राउटे दैलेख, सुर्खेत, जाजरकोट, सल्यान आसपासका जङ्गलछेउ, पहाडको खोंच, नदीकिनार तथा टाकुरामा बसाइँ सरिरहन्छन् । कुनै स्थानमा तीन महिनाभन्दा बढी बस्दैनन् । कसैको मृत्यु भए छाप्रोमा आगो लगाई हिँड्दा रहेछन् तर त्योभन्दा अघि मृतकको लासलाई बाँदर मार्न प्रयोग गर्ने जालीले बेरेर खाल्डो खनी पुर्दा रहेछन् ।

राउटेहरूलाई लोप हुनबाट बचाउन जरुरी छ । डडेलधुराका राउटे कसरी समुदायमा मिले ? त्यही किसिमले योजना बनाएर उनीहरूलाई सामाजिकीकरणतर्फ प्रेरित गरौं । सामाजिकीकरण गर्न सकिँदैन भने प्रदेश सरकारले यस्तो नीति अवलम्बन गर्नुपर्‍यो, ताकि उनीहरू सुरक्षित रहून् । महत्त्वपूर्ण कुरा, राज्यले पैसा होइन, राउटेलाई खाद्यान्न उपलब्ध गराउनुपर्छ । पैसा भएपछि बजारका अस्वास्थ्यकर खाना खाँदा उनीहरूको स्वास्थ्यमा नकारात्मक प्रभाव परेको हो । घरमा बनाएको मदिरालाई त्यागेर बाहिर पसलमा किन्न बानी परेका उनीहरूको त्यो कुलत पनि छुटाउन जरुरी छ । मुख्य कुरा सामाजिक सुरक्षा भत्ताका रूपमा नगद होइन, खाद्यान्न दिनुपर्छ ।

प्रकाशित : भाद्र २९, २०८० ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?