कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

बाबु पुस्ताको प्रतिगामी नियत

प्रकाशचन्द्र लोहनी

नेपालको राजनीतिमा अचेल सबै ठूला दलका नेताहरू एकअर्कालाई भ्रष्टाचारी साबित गर्न व्यस्त छन् । तर यो भ्रष्टाचार नियन्त्रण गर्नका लागि होइन । यो सब नाटक एकअर्कालाई तर्साउने, धम्काउने र सत्ता टिकाउने कसरी र सत्ता ढाल्ने कसरी भन्ने खेल र षड्यन्त्रको अंग भएको छ ।

बाबु पुस्ताको प्रतिगामी नियत

ठूला नेताहरू तानिने सम्भावना बढेर गयो भने तिनै ठूला नेताहरूको सम्मेलन भएर यी काण्डहरूलाई कुन लक्ष्मणरेखाभित्र राख्ने भन्ने विषयमा सहमति हुनेछ । जनता अलमल्याउने नौलो प्रयोग सुरु भएको छ ।

कसरी अलमलाउने ?

जनतालाई सरकार र प्रतिपक्ष सबै भ्रष्टाचारविरुद्ध एक भएका छन् भन्ने सन्देश दिन छानबिन सुरु हुन्छ । तर यसको निश्चित सीमा तोकिन्छ । अचेल गिरीबन्धु टी इस्टेटको नाम खूब सुनिन लागेको छ । हुन पनि राजमार्गमा जोडिएको ५०० बिघा जमिन बेचेर अर्को कुनै खोलाको बगरमा सट्टाभर्ना ५०० बिघा दिन पाइन्छ भने त्यसबाट हुने अर्बौंको नाफामा हिस्सेदारी गर्न क्रान्तिकारीहरू अघि नसर्ने कुरै भएन । तर गिरीबन्धु टी इस्टेटको कुरा उठाउँदा प्रतिपक्षले क्यान्टोनमेन्टकै भ्रष्टाचारबारे फेरि संसद् बन्द गर्न लाग्यो भने आश्चर्य नमाने हुन्छ । अन्तमा ‘तिमीले गरेको चोरीबारे म दबाब दिन्नँ, मैले गरेको चोरीमा तिमीले पनि फाइल खोल्न हुन्न’ भन्ने सर्तमा सम्झौता भएर सबै फासफुस हुने यथार्थमा परिणत हुनेछ । यस क्रममा साँच्चिकै कस्सिएर अनुसन्धान गर्छु भन्ने अफिसरहरूको सरुवा हुनु अनिवार्य हुन आउँछ, जस्तो अहिले भइरहेको छ । यस सिलसिलामा गृहमन्त्रीले धेरै अडान राखे भने र दसैं मनाउन उनले सिंहदरबारबाट आफ्नो गोरखाको घरतर्फ सोझिनुपर्‍यो भने आश्चर्य नमाने हुन्छ ।

राजनीतिमा अपराधीकरण र भ्रष्टाचारले जरो गाड्दै गएको हाम्रो देशमा सबै ठूला पार्टीका ठूला नेताहरू भ्रष्टाचारमा फसेका छन् । त्यसकारण यस्तो परिवेशमा भ्रष्टाचारीहरूले राम्रै संरक्षण पाउँछन् । सकेसम्म मुद्दै दर्ता हुँदैन । यदि दर्ता भयो भने अब कसरी जोगिने भन्ने कुरो आउँछ । यसका लागि दुई उपाय अपनाइन्छन् । पहिलो, प्रहरीले फाइल तयार गर्दा ठूला ‘महान्’ नेताहरूलाई जोगाएर प्रतिवेदन तयार गरिन्छ । यो विषयमा सत्ता र प्रतिपक्षबीच अघोषित समझदारी र गठबन्धन कायम हुन्छ । यसअनुरूप मुद्दा कमजोर पारी पठाएपछि महान्यायाधिवक्ताको कार्यालयबाट त्यसलाई ‘सरसफाइ’ गरिन्छ र त्यो अदालत पुग्छ । अर्थात्, सकेसम्म मुद्दै नहाल्ने, हालिहाले पनि मुद्दा कमजोर बनाएर अदालत पठाउने र निर्दोष साबित गर्ने कागजी वातावरण बनाउन मुद्दा हाल्ने संस्थाले नै प्रयास गर्नेछ ।

अदालतमा एक पटक मुद्दा दर्ता भयो भने केही समयपछि यो जनताको मनबाट टाढा हुँदै जान्छ । जनताको मन अरू नै विषयमा अलमलिएका बेला अदालतलाई प्रभावमा पारेर आफ्नो दुनो सोझ्याउने काममा पनि सरकारी पक्ष र प्रतिपक्ष मिलेर काम गर्ने सम्भावना प्रबल हुन्छ । यसको सबैभन्दा जबरजस्त उदाहरण त वाइडबडी काण्ड नै छ । यो काण्डमा संसदीय समितिले झन्डै ५ अर्ब रुपैयाँको भ्रष्टाचार भयो भनी नाम किटेरै कारबाहीको सफारिस गर्‍यो । ठूलो होहल्ला भयो । जनस्तरमा उठेको आक्रोश मत्थर गराउन त्यसबखतको सरकारले गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा ४५ दिनपछि प्रतिवेदन पेस गर्न निर्देशन दियो । तर ४५ दिनसम्म पराजुलीले नियुक्तिपत्रै पाएनन् । आयोग बन्दै बनेन र अहिलेको सरकारले पनि वास्ता गरेको छैन । किनभने, यो अर्बौंको भ्रष्टाचार र लुटतन्त्रमा सायद तीनै ठूला पार्टीले राम्रो आम्दानी गरेका छन् । जनताको सम्पत्तिमा जहानियाँ शासनलाई बिर्साउने गरी लुटेको अनुमान छ । मुद्दा परे पनि न्यायालयबाट उन्मुक्ति दिलाउने या सजाय दिनैपर्ने अवस्था देखियो भने पनि सानालाई सजाय दिलाउने र ठूलालाई छुटाउने अभियानमा अहिले देखिएका तीनै राजनीतिक दल सक्रिय हुनेछन् । किनकि अहिले देश हाँक्ने र प्रतिपक्षमा बस्ने ठूला नेताहरू सबै १५ वर्षदेखि गणतन्त्रका नाममा गरिएको लुटमा हिस्सेदार छन् ।

नयाँ पिँढीको संलग्नता

हालसम्म देखिएका ठूला भ्रष्टाचार काण्डहरूमा ठूला दलका ठूला नेताहरू मात्र नभएर उनीहरूका सुपुत्र (कुपुत्र ?) हरूको पनि गहिरो संलग्नता देखिएको छ । बाबु पुस्ताले बन्दुक बोके, राजनीतिक आस्था बोकेर ज्यानको बाजी लगाएर अहिले विभिन्न पदमा पनि पुगे । यस्तो संघर्ष गरेका व्यक्तिहरू आफू सत्तामा हुँदा किन भ्रष्ट भए ? अनि यस क्रममा आफू मात्र नभएर आफ्ना युवा सन्तानहरूलाई पनि भ्रष्ट बनाए र आफ्ना सन्तानको भाग्यमाथि ठूलो खेलबाड गरे । बाबु पुस्ताले कलिला युवा छोराहरूका निधारमा ‘भ्रष्ट’ डाम्ने काम किन गर्‍यो ?

माथिका प्रश्नहरूबारे विचार गर्नु जरुरी हुन्छ । भविष्यले ठीक–बेठीक जे भन्ला, बाबु पुस्ताले संघर्ष गरेकै हो । आफ्ना केही आस्था अगाडि सारेर त्यसका लागि ज्यानको बाजी लगाएकै हो । तर विद्रोहपछि सफलतामा पुगेयता किन यस्तो विकृति ? त्यो संघर्षको बेलाको आस्था कहाँ पुग्यो ? बीपी कोइरालाले एक पटक भन्नुभएको थियो— क्रान्तिपछि निस्कने सुकिलो लुगा लगाउनेहरूसँग फेरि संघर्ष गर्नुपर्नेछ । हुन पनि एमाले होस् या कांग्रेस वा माओवादी, सबैले आन्दोलनपछि किन आन्दोलन लडेको भन्ने प्रश्नलाई एकातिर राखेर ‘अब सुकिला लुगा लगाउने, काठमाडौंमा महल बनाउने, बेलुका रिल्याक्स गर्ने, विदेशी रक्सी पिउने र करोडौंको टोयटा गाडीमा कुद्ने’ नयाँ जीवनशैलीका पक्षपातीका रूपमा आफूलाई सफलताका साथ रूपान्तरण गरे । अलिअलि दुःख पाएका कार्यकर्तालाई मूल टेबलबाट खसेका टुक्राटुक्री खाओ भनी निर्देशन दिए । कसैको लाजै नमानीकनै हिजोका आन्दोलनकारी अब आकाश छुने भ्रष्टाचारमा संलग्न भए । यो यति स्वाभाविक रूपमा भयो कि सायद उनीहरूलाई हेक्कै भएन ।

बाबु पुस्ताको अनाचार र भ्रष्टाचारलाई छोरा पुस्ताले नियाल्ने भयो । अब छोरा पुस्ताका लागि सत्ताको दुरुपयोग गरेर अथाह पैसा कमाउनु क्रान्तिकारी मान्यताको अघोषित सिद्धान्त हो भन्ने चिन्तन स्वीकार्य हुने नै भयो । त्यसैले सत्तामा आएका ‘छोटे राजा’ हरूका नयाँ ‘युवराज’ हरूका मनमा नेपाल भनेको बाबुको छत्रछायामा जति सकिन्छ, नेपाली जनताको भविष्यसँग सिकार खेलेरै भए पनि पैसा कमाउनु नैतिक हो, जायज हो भन्ने मूल्यमान्यता जमेर बस्यो ।

आफ्ना सन्तानलाई अनैतिकतातिर धकेल्ने काम नेपालका ठालु नेताहरूले गरे । आफ्नो अनैतिकताको बोझ आफ्ना कलिला सन्तानहरूलाई बोकाए । अनैतिक काम गर्नु राजनीतिको अभिन्न अंग हो भन्ने मान्यतालाई आफ्ना सन्तानको मान्यता बनाइदिए । यस अर्थमा आफ्नो छोरा पुस्ताको भाग्यमा लात हान्ने काम बाबु पुस्ताले गर्‍यो । यस अर्थमा यो बाबु पुस्ताले छोरा पुस्तामाथि ठूलो अन्याय गरेको छ । बाबु पुस्ताको यस्तो नैतिक पतनले छोरा पुस्ता

मात्रै नभएर समस्त नेपाली युवाहरूमा अपराध गरेर धन कमाउनु राजनीति हो र ठीक काम हो भन्ने मान्यतालाई वैधता दिएको छ । नेताहरूका छोराछोरीको राष्ट्रदोहन गर्नु ठीक हो भन्ने मान्यताले हजारौं माओवादी युवामा कस्तो सन्देश प्रवाह गरेको छ ? ‘नेताहरूका सन्तानले चोरेर खानु नैतिकता हो भने हामीले मौका पाएका बेला लुट्नु कसरी अनैतिक’ भन्ने प्रश्न आउँदैन र ? बाबु पुस्ताको अनैतिकता र लोभका कारण एउटा सम्पूर्ण युवा पिँढी देशमारा प्रवृत्तिमा लागेको छ । यो अपराधलाई कानुनले चिन्ला या नचिन्ला, तर इतिहासले धिक्कार्नेछ ।

सैद्धान्तिक विचलन

अब प्रश्न आउँछ, क्रान्तिकारी नैतिकताको व्याख्या गरेर कहिल्यै नथाक्नेहरू किन बिग्रिए र पतित भए ? यहाँ मार्क्सवाद–लेनिनवादको परिवेशबारे चिन्तन गर्नुपर्नेछ । मार्क्सले मानव सभ्यताको इतिहास विभिन्न सामाजिक–आर्थिक र यससँग जोडिएको चेतनाबाट निर्देशित भएर संघर्षमा पुग्ने र त्यसपछि नयाँ संसार रच्ने सपना पेस गरेका थिए । पुँजीवादी व्यवस्था फालेपछिको यो नयाँ संसारबारे मार्क्सको नवीन र रोमाञ्चकारी कल्पना थियो तर प्रक्रिया, संरचना र कार्यक्रम थिएन । धार्मिक गुरुहरूले मोक्षको कल्पना गरेजस्तै समाजवादी मोक्षको सपना विहंगम थियो । मार्क्सको अन्त्यपछि यसलाई व्यवहारमा उतार्ने काम लेनिन र युवा स्टालिनको काँधमा आयो । यस क्रममा कम्युनिस्ट पार्टीका लागि नैतिकताबारे लेनिन सुरुमै बुर्जुवा नैतिकता नमान्ने घोषणा गर्छन् र भन्छन्, ‘हामी वर्गविशेषको अवधारणासँग जोडिएको बुँदाबाहेक अरू नैतिकता मान्दैनौं । हाम्रो नैतिकताले सर्वहाराको वर्गसंघर्षभन्दा माथि हुँंदैन । हाम्रो मुख्य उद्देश्य पुँजीवाद समाप्त गर्ने र राज्यशक्तिको प्रयोग गरेर सर्वहाराको अधिनायकत्व कायम गर्ने हो’ (हेर्नुस्— लेनिन संकलित रचना, १६, पृ. ४४८) । लेनिनको यो मन्त्रले माओवादीलाई संघर्षको संगठनात्मक आधार दिएको थियो होला तर पुँजीवादी व्यवस्था र संसद्वाद नाश गर्ने नारा दिएर संसद्वादमा जमेको माओवादी र अन्य वाम मित्रलाई लेनिनको सल्लाह बमोजिम जसरी पनि सत्तामा अडिनु र सत्ता क्याप्चर गर्नु प्रमुख काम भएको छ । यो कामका लागि भ्रष्टाचारबाट सम्पत्ति कमाउनु र त्यसैको आडमा राजनीति गर्नु नयाँ क्रान्तिकारी नैतिकता भएको छ । यथार्थता के छ भने, आजको नेपालका वामपन्थीहरूसँग न वामपन्थी सिद्धान्त छ न पुँजीवादी अवधारणामा निहित चेतना । नेपालका वामपन्थीहरू ब्याट्री सकिएको टर्चलाइट बोकेर घरभित्र पसेको मान्छेले जस्तो अँध्यारोमा जे पाइन्छ, त्यो खल्तीमा हाल्दै हिँडेका छन् । संघर्षको समयमा अपनाएको चेतना धेरै पहिले ध्वस्त भइसकेको छ । त्यस बेला जम्मा गरेका गोला–बारुद ‘खोला’ ले बगाइसकेका छन् । अब सत्तामा टिक्न देशदोहनबाहेक अर्को विकल्प छैन । त्यसकारण नेपालका वामपन्थी र क्रान्तिकारीको नैतिकता जनताको सम्पत्ति लुटेर सत्तामा अडिने दलदलमा फसेको छ । यही नयाँ नैतिकता क्रान्तिकारी नेताहरूले आफ्ना सन्तानलाई सिकाएका छन् । र, दोष युवा छोराहरूको भन्दा यो देशमारा नियतलाई आफ्ना सन्तानमा हस्तान्तरण गर्ने बाबु पुस्तामा पुगेको छ ।

आउँदा दिनहरू देशका लागि सहज छैनन् । सबै ठूला नेता भ्रष्टाचारमा परिन्छ कि भनेर एकअर्कासँग डराएका छन् । यो संकटबाट पार पाउन आज देखिएको खोटो नियत र जनतामारा गतिविधिलाई फासफुस पार्ने राष्ट्रिय समझदारी हुनेछ । सबै ठालु नेताहरूले सहकार्यका लागि आआफ्नो लक्ष्मणरेखा कोरिसकेका छन् । तर देश भित्रभित्रै अशान्त छ, आन्दोलित छ, पार्टीहित र राष्ट्रिय हितबीचको खाडल अझ बढेर जाने प्रायः निश्चित छ । यो सब खेलको अन्तमा आजको विश्वमा देखिएको शक्तिसंघर्षको एउटा केन्द्रविन्दु नेपाल हुने हो कि भन्ने आम चिन्ता चुलिँदै गएको छ ।

प्रकाशित : भाद्र २८, २०८० ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?